गृहपृष्ठ संसदमा प्रधानमन्त्रीको जवाफ– नेपाल सधैं पछि परिरहन सक्दैन

संसदमा प्रधानमन्त्रीको जवाफ– नेपाल सधैं पछि परिरहन सक्दैन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सधैं पछि परिरहन नसक्ने बताएका छन् । सरकारले आर्थिक वर्ष २०७५÷७६ का संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले मुलुकको समृद्धिका लागि अभियान नै चलाउन आवश्यक रहेको बताए ।
प्रतिनिधि सभाको आज बसेको बैठकमा तीन दिनसम्म चलेको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सांसदहरुबाट रचनात्मक र सकारात्मक सुझाव आएको बताए । एकताको भवानामा रहेर मुलुकलाई समृद्ध पार्न सरकारले कुनै कसर बाँकी नराख्ने र नीति तथा कार्यक्रम त्यसकै संकेत भएको प्रधानमन्त्री प्रस्टोक्ति छ ।
सरकारले भारत र चीन दुवै देशसँग सन्तुलित सम्बन्ध अघि बढाउने उनले बताए । ‘अब सीमामा बाटो बनाएर डुवान गर्न भारतले पाउँदैन र गर्दैन पनि,’ प्रधानमन्त्रीले भने, ‘हामी जस्तो व्यवहार गर्छौं, उस्तै चाहन्छौं पनि ।’
नेपालीहरुलाई खान नपाउने अवस्थाबाट माथि उठाउन हामीलाई विकास चाहिएको र नीति तथा कार्यक्रमले तिनै कुरा समेटेकाले चिन्ता नलिन प्रधानमन्त्री सबैलाई आग्रह गरे । ‘कुनै पनि मौलिक हकबाट वञ्चित नहोस् भन्ने हेतुले हामीले नीति तथा कार्यक्रममा तत्कालीन र दीर्घकालीन कार्यक्रम समेटेको छौं,’ उनले भने, यस्ता कार्यक्रम महत्वकांक्षी होइनन् ।’
असम्भव भएको कुराहरुलाई सम्भव बनाउने गरी आएको नीति तथा कार्यक्रम ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणामा केन्द्रित रहेको प्रधानमन्त्री ओलीले प्रस्ट पारे । छलफलमा ८२ सांसदले भाग लिएका थिए ।

नीति तथा कार्यक्रबारे प्रधानमन्त्रीले के भने ?
– आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाएर व्यापार घाटाको असन्तुलनलाई सन्तुलनमा ल्याउने ।
– रुघ्ण उद्योगको व्यवस्थापन र नयाँ उद्योग स्थापना गर्ने ।
– सुशासन कायम गर्ने र सामाजिक विभेद अन्त्य गर्ने ।
– भौतिक पूर्वाधार विकासका लागि सडक पूर्वाधार निर्माण गर्ने ।
– आफ्नै जहाजबाट कोशीको जलमार्गबाट नै नेपालमा सामान भित्र्याउने ।
– पूर्व–पश्चिम र उत्तर–दक्षिण रेल कुदाउने । अबको तीन वर्षमा काठमाडौंमा मेट्रो सञ्चालन गर्ने
– लोडसेडिङलाई इतिहासमा सीमित पार्ने ।
– संविधान राजनीतिक दस्तावेज भएकाले आवश्यकता र औचित्यका आधारमा संशोधन ।
– यातायातको सिन्डिकेट तोडिएको छ र अब हवाई क्षेत्रको सिन्डिकेट पनि तोड्छौं ।
– काठमाडौंलाई प्रदूषणमुक्त बनाउँछौं ।
– अव्यवस्थित तारहरुको व्यवस्थापन केही वर्षभित्रै पूरा हुनेछ ।
– धरहरा र रानीपोखरी चाँडै बन्छन् ।
– सुनकाण्डको कारबाहीमात्रै होइन, यो भ्रष्टाचारी र घुसखोरीविरुद्धको कारबाही पनि हो ।
– वैदेशिक रोजगारीको नाममा ठगी गर्नेहरुमाथि छानबिन जारी ।
– कर्मचारी संयन्त्रलाई ठीक ढंगले परिचालन गरिनेछ ।

प्रकाशित समय १२:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु