गृहपृष्ठ युवाको नजरमा बजेट

युवाको नजरमा बजेट

सञ्जय श्रेष्ठ

  • सरकारले पुँजीगत बजेट कार्यान्वयनमा ध्यान दिनुपर्छ

काठमाडौं– नेपालको इतिहासमा अहिलेसम्मकै शक्तिशाली सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेट सार्वजनिक गरेको छ । गणतन्त्र दिवसको खुसियालीसँगै आगामी आवका लागि केन्द्रीय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गरेका हुन् । सबै नेपाली जनताले धेरैभन्दा धेरै आशा र भरोसा गरेको वाम सरकारले प्रस्तुत गरेको बजेटलाई युवावर्गले कसरी लिएका छन् त ! बजेटका बारेमा युवाको प्रतिक्रिया मिश्रितखालको छ । यद्यपि, कार्यान्वयन पक्ष राम्रो भएमा बजेट आर्थिक विकासको लक्ष्य हासिल हुनेमा युवावर्ग विश्वस्त देखिन्छन् । शक्तिशाली वाम सरकारले जनताबाट पाँच वर्षको म्यान्डेट पाएकाले कर्मचारी प्रशासनले पनि लापर्बाही गर्न नपाउने र बजेट कार्यान्वयन प्रभावकारी हुने उनीहरुको बुझाइ छ । हामीले विभिन्न जिल्लाका युवाहरुको धारणा जस्ताको तस्तै राखेका छौं–

राजन लामा– रामेछाप
सरकारले विकास निर्माणलाई प्राथमिकतामा राख्दै राजस्व असुली र आन्तरिक तथा बाह्य ऋण परिचालनलाई विशेष ध्यान दिने भएको छ । विकास निर्माण अहिलेको मुख्य आवश्यकता नै हो । विकासतर्फ बजेट छुट्याउने तर खर्च नहुने समस्या पुरानै हो । शक्तिशाली वाम सरकारले यसलाई चिर्न सक्नुपर्छ । बजेटले युवामा केही आशा जगाउने काम गरेको छ । कृषिक्षेत्रलाई पनि विशेष प्राथमिकता दिइएकाले बजेटप्रति आशा बढेको छ ।

भानुभक्त श्रेष्ठ– सिन्धुली
बजेट अपेक्षाकृत नै आएको छ । सरकारले विकास निर्माण र पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नु सकारात्मक कुरा हो । शैक्षिक बेरोजगार कम गर्ने र युवालाई रोजगारी दिलाउने विषयमा बजेट बढी संवेदनशील देखिएको छ । बिनाधितो ऋण दिने र प्रमाणपत्र धितो राखेर ऋण दिने व्यवस्था स्वागतयोग्य छ । तर, यो बजेट कार्यान्वयनमा चुनौतीपूर्ण छ । विगतमा जस्तो पुँजीगत बजेट खर्च नहुने अवस्था दोहाोरिएन भने बजेट सफल हुन्छ ।

गंगा गोले– रामेछाप
अहिलेको बजेट समग्रमा राम्रो छ । कार्यान्वयनमा कसरी जान्छ र लान्छ भन्ने कुराले बजेटको महत्व र प्रभाव राख्छ । बेरोजगार व्यवस्थापनको कुरा, प्रमाणपत्र धितो राखेर ऋण दिने कुरा जो छ, त्यो राम्रो छ । पहिले पनि बेरोजगारका लागि सरकारले बजेट तथा योजना ल्याएको थियो । तर, कार्यान्वयन फितलो भएका कारण त्यो सफल हुन सकेन । कार्यान्वयनमा ध्यान दिन सके बजेट राम्रो छ ।

मोतीनारायण मानन्धर– स्याङ्जा
चरम मूल्यवृद्धि भइरहेको अवस्थामा यो बजेट पनि नेता–कार्यकर्ता र सत्तापक्षलाई पोस्नेखालको देखिन्छ । बजेटले घुमाउरो पारामा सांसद विकास कोष र निर्वाचन क्षेत्र विकास कोषका लागि रकम विनियोजन गरेको छ । यो राम्रो भएन । सरकारको बजेट संघीयताको मर्मअनुसार नआएझैं देखिएको छ । सरकारको वैदेशिक नीति पनि कमजोर देखिन्छ । बजेटले कर्मचारी वर्गलाई निरुत्साहित गरेको छ ।

भेषराज न्यौपाने– धनगढी
अर्थशास्त्रका ज्ञाता अर्थमन्त्रीले ल्याएको बजेट अलि बढी मितव्ययी खालको देखियो । वामपन्थी दलको चुनावी घोषणापत्र र नीति तथा कार्यक्रमभन्दा बजेट अलि बढी निराशाजनक छ । बजेटले केही सस्ता नारा लिएको छ । तर, बजेट कस्तो आयो भन्दा पनि बजेटले प्राथमिकता दिएका पूर्वाधार विकासका क्षेत्रमा सरकारले कति गम्भीरतासाथ बजेट कार्यान्वयन गर्छ, त्यसमा बजेट र अर्थमन्त्रीसमेतको सफलता÷असफलता निर्धारण गर्छ । युवालाई प्राथमिकता दिनु बजेटको सकारात्मक पक्ष हो ।

निरोज श्रेष्ठ– रामेछाप
समग्रमा वामपन्थी सरकारले ल्याएको बजेट सन्तोषजनक छ । विकास र पूर्वाधारमा ठूलो रकम विनियोजन गरिएको छ । यो राम्रो कुरा हो । शिक्षा र स्वास्थ्यमा पनि उल्लेख्य रकम छुट्याइएको छ । ऊर्जा उत्पादनलाई बजेटले विशेष प्राथमिकता दिएको छ । शक्तिशाली बाम सरकारले बजेट सही तरिकाले कार्यान्वयन गर्न सक्यो भने मुलुकले छिट्टै फट्को मार्न सक्ने देखिन्छ ।

गंगा न्याैपाने- झापा

सरकारले बजेट कस्तो ल्यायो भन्दा पनि कार्यान्वयन कसरी गर्छ, त्याे ठूलाे कुरा हाे । बजेट त विगतका पनि नराम्रा थिएनन् तर पुँजीगत बजेट खर्च हुन नसक्दा विकास निर्माणमा सधैं हामी पछाडि परिरहेका छाैं । सरकारले विगतमा जस्तै पूर्वाधारलार्इ प्राथमिकतामा राखेर बजेट ल्याएको छ । कार्यान्वयन राम्ररी होस्, बजेट त्यसै राम्रो हुन्छ ।

राज चाम्लिङ– खोटाङ
समग्रमा बजेट राम्रो आएको छ । सरकारले सबै क्षेत्रका लागि राम्रो बजेट छुट्याएको छ । शिक्षा र स्वास्थ्यलाई बढी प्राथमिकता दिएको छ, त्यो राम्रो हो । विकास, पूर्वाधारमा पनि ठूलो मात्रामा बजेट छुट्याइएको छ । तर, खानी तथा पेट्रोलियम पदार्थ उत्खनन्लाई प्राथमिकता दिएको पाइएन । हामी प्राकृतिक सम्पदाले धनी भएका कारण पनि सरकार यसतर्फ विशेष ध्यान दिन जरुरी थियो ।

प्रकाशित समय १४:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु