गृहपृष्ठ जाडोले रौतहटमा पाँचको मृत्यु
जाडोले रौतहटमा पाँचको मृत्यु
Men gather around woodfire to warm themselves from the cold wave that has affected daily life in Rautahat on Sunday, December 17, 2017. Photo: Prabhat Kumar Jha
रौतहट – शीतलहरका कारण रौतहटमा कठ्यांग्रिएर पाँचको मृत्यु भएको छ । आइतबार मात्रै परोहा नगरपालिका–२ का ४५ वर्षीय शेख समिम र वडा नं ९ का ६५ वर्षीय मरसियादेवी कुर्मीको मृत्यु भएको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसअघि शनिबार गडीमाई नगरपालिका–४ का ५५ वर्षीय महर्जन ठाकुर हजाम, राजदेवी नगरपालिका–७ मुडवलवाका ७५ वर्षीय अयोधी राय यादव र गढीमाई नगरपालिका–१ स्थित चिमनी भट्टामा काम गर्न आएका सर्लाहीका नेकमहम्मद अलीको मृत्यु भएको थियो। मृत्यु हुने सबै विपन्न र रोजगारीका लागि रौतहट आएका मजदूर हुन्। विगत एक हप्तादेखि बाक्लो कुहिरोसँगै शीतलहर बढेपछि जिल्लाको जनजीवन प्रभावित भएको छ।
चिसो हावासँगै शीतको वर्षा हुने गरेका कारणले चिसो अत्यधिक मात्रामा बढेको हो। जिल्लामा शीतलहर बढेपछि जिल्ला वन कार्यालयले अहिलेसम्म नौ स्थानमा दाउरा वितरण गरेको जनाएको छ। शीतलहरले जनजीवन प्रभावित भएपछि आपूर्ति समितिबाट सुलभ मूल्यमा दाउरा उपलब्ध गराइएको वन अधिकृत दीर्घनारायण कोइरालाले जानकारी दिए।
सामुदायिक विद्यालय थप चार दिन बन्द
शीतलहर बढेपछि जिल्ला शिक्षा कार्यालयले फेरि थप चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
शीतलहर कारण विद्यार्थीलाई विद्यालय आउन कठिन भएपछि आइतबारदेखि पुनः चार दिन बिदा थप गरेको जिल्ला शिक्षा अधिकारी रामविनय सिंहले जानकारी दिए।
यसअघि गत पुस १७ गते सोमबारदेखि २१ गते शुक्रबारसम्म सबै सामुदायिक विद्यालय बन्द निर्णय भएको थियो। रौतहटमा ४२ निजी विद्यालय र ३५१ सामुदायिक विद्यालय सञ्चालित छन्।
यसैबीच निजी विद्यालयमा परीक्षा सञ्चालन भइरहेकाले बिदा नदिएको र केही निजी विद्यालयले भने थप दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। विद्यार्थी विद्यालय आउने अवस्था नभएपछि थप दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको मुनलाइट एकेडेमी चन्द्रनिगाहपुरका प्राचार्य श्यामकिशोर चौधरीले बताए।
प्रकाशित समय १०:०२ बजे

















