गृहपृष्ठ आमाको सम्झनामा विजयबाबु
आमाको सम्झनामा विजयबाबु
सिद्धार्थ राजमार्गमा पर्ने बयरघारी बजारदेखि तीन किलोमिटर पश्चिम-उत्तर । आँधीखोला तरेर उकालो लागेपछि पुगिने गाउँको नाम हो, धोबादी । साविकको खिलुङ देउराली गाउँ विकास समिति वडा नं. ४ मा पर्ने यो गाउँ अहिले भीरकोट नगरपालिका-७ मा पर्छ । स्याङ्जाको यही गाउँमा २०३४ सालमा जन्मिएका थिए, स्व. विजयबाबु खत्री ।
धोबादीबाट अध्ययनका लागि काठमाडौँ छिरेका उनी पत्रकारितामा निकै परिचित बने- खासगरी आर्थिक पत्रकारितामा । तर, दैवको लेखान्त । आजभन्दा ठीक आठ वर्षअघि अर्थात् २०६८ साल मंसिर १२ गते समग्र पत्रकारिता जगतकै लागि एउटा दुःखद् दिन हुनगयो । पत्रकारिताको जिम्मेवारी बहनकै सिलसिलामा रुपन्देहीको सालझण्डीमा भएको सडक दुर्घटनामा सबैका प्रिय ‘विजयबाबु’को असामयिक निधन भयो ।
त्यो पीडादायी घटना भएयता बाँचिरहनेहरुका जीवनले अनेक परिवर्तन देखे, भोगे । कति दुःख र सुखका चक्रमा फन्को मारिसके । कति-कति घटना-परिघटनाहरु स्मृतिपटबाटै विलीन भए होलान् । तर स्व. विजयबाबु खत्रीका याद उनका साथीभाइ र आफन्तका हृदयभरि छाई नै रहेका छन् । यसकारण पनि कि उनी सबैका प्रिय थिए । उनीसँग संगत गरेका हरेकको मानसपटलमा अमिट छाप छाडेका विजयबाबु आफू भने अब कहिल्यै पनि फर्किने छैनन् । जब उनको ‘चोला बदलिएको’ त्यो त्रासद दिन आउँछ, सम्झनाहरु झन् गाढा बनिदिन्छन् ।
यसबीचमा कति-कति घटना-परिघटनाहरु स्मृतिपटबाटै विलीन भए होलान् । तर स्व. विजयबाबु खत्रीका याद उनका साथीभाइ र आफन्तका हृदयभरि छाई नै रहेका छन् ।
बुवा शेरबहादुर र आमा देवका खत्रीका साइँला छोरा विजयबाबुको जन्म २०३४ साल असार १६ गते भएको थियो । ६ दाजुभाइ र २ दिदीबहिनीमध्ये उनी सानैदेखि पढाइमा असाध्यै रुचि राख्थे । विजयबाबुले गाउँकै भाग्योदय मावि (हाल उच्च मावि)बाट प्राथमिक तहबाट एसएसलीसम्मको पढाइ पूरा गरेका थिए ।
अहिले पनि धोबादीमै रहेकी विजयबाबुकी आमा देवकाको आङमा २०६८ सालको मंसिर १२ गतेदेखि पुरा घाम लागेकै छैन । सबैभन्दा आसलाग्दो छोराको अभावमा उनका कयौँ दिन आँसुसरी बिते । विजयबाबुको आठौँ वार्षिकीको सन्दर्भमा न्युज कारोबारसँग छोराको कुरा गरिरहँदा देवका फेरि त्यो नमिठो सम्झनाले चिमोटिइन् ।
‘सानो छँदा पनि कहिल्यै दुःख दिएन । साह्रै ज्ञानी थियो । सानैदेखि घरको पनि काम सघाउँथ्यो,’ उनले विजयबाबुको बाल्यकालबारे सुनाइन् । उनका अनुसार विजयबाबु आफू पनि सधैँ हाँसीखुसी रहने र अरुलाई पनि खुसी बनाउने स्वभावका थिए । ‘छोटो आयु लिएर आएको रहेछ । मेरो छोरो कहिल्यै रिसाएको देखिनँ । जहिल्यै उज्यालो अनुहार लगाएर हिँड्थ्यो,’ उनले भनिन् ।
आमाका अनुसार विजयबाबुले सानैदेखि माछामासु खाएनन् । कसैले नभनीकन उनले आफैँ खान छाडेका हुन् । विजयबाबु फूलप्रेमी थिए । छरछिमेकबाट फूलका बिरुवा ल्याएर घरभरि रोपेका थिए । ‘मेरो छोराको मुहार जसरी उज्यालो थियो, ऊ भइन्जेल घर पनि फूलैफूलले उज्यालिएको थियो,’ भावुक हुँदै देवकाले सुनाइन् ।
आमालाई पनि काठमाडौंमा साथमै राख्ने भनेका थिए विजयबाबुले । ‘छुट्टै कोठा बनाइदिन्छु भन्थ्यो । आमा-छोरा एकै घरमा बस्नुपर्छ भन्थ्यो,’ देवका सम्झिन्छिन् । छोराछोरी हुर्काउने, पढाउने बेलामा श्रीमानको मृत्यु भएपछि सिंगो परिवारकै जिम्मेवारी उनको थाप्लोमा परेको थियो । त्यस्तो बेला पनि आमाका लागि विजयबाबु आडभरोसा बनेका थिए । विजयबाबु जति हुर्कंदै गए, आमाको मनमा आशाको सञ्चार उति बढ्दै गएको थियो ।
विजयबाबु सानैदेखि मेहनती थिए । ‘पढ्छु भनेर काठमाडौँ गयो । खर्च पठाइरहन नसकिएला भन्ने पिर थियो तर अलिक समयपछि पठाउनै परेन । आफू पढ्ने खर्च आफैँले जुटायो,’ देवकाले सुनाइन्, ‘बरु उसैले पो हामीलाई पैसा, लुगा पठाउन थाल्यो ।’ विजयबाबुले आमालाई काठमाडौँ घुम्न पटक-पटक ल्याएका थिए । ‘ठाउँको नाम त बिर्सिसकेँ । काठमाडौँ सबै घुमायो छोराले,’ देवका भन्छिन् ।
परिवार मात्र नभएर सिंगो नगरवासीले ‘विजय भइदिएको भए’ भनेर उनको अभाव महसुस गर्ने गर्छन् ।
७६ वर्षीया देवकाको आँखा अहिले कमजोर भइसकेको छ । शरीर दिनदिनै पाको हुँदैछ । जीवनमा भोगेका धेरै कुरा बिर्सिसकिन् पनि । तर, छोराको यादले भने कहिल्यै छाडेन, पीडाले लपेटिरहन्छ । ‘आफूभन्दा अगाडि बितेर जाने छोराछोरीको सम्झनाले बाँचुन्जेल पिरोल्छ भनेको सुन्थेँ, हो रैछ । न रोइरहन सकिन्छ न त हाँस्न सकिन्छ,’ देवकाले वेदना सुनाइन् ।
दिन, हप्ता, अनि महिना र वर्ष गर्दै समय बित्दै जान्छ । जीवनका अरु घुम्तीहरु आउँछन्, जान्छन् । यिनै आरोह-अवरोहले अल्मलिँदा पीडादायी घाउहरु ओभाउँदै जाने हो, खाटा बस्दै जाने हो । यसरी नै देवकाको जीवन अगाडि बढ्दै आयो, बढिरहेछ । ‘रोएर, पीर मानेर मात्रै पनि नहुने रैछ । ढिलोचाँडौ सबैको जाने बाटो उही हो । यस्तै भनेर मन बुझाउने कोसिस गरेँ,’ देवकाले छोरा गुमाएपछिका पीडादायी दिन कटाउँदाको अनुभव सुनाइन्, ‘संसार यस्तै रहेछ भन्यो । यस्तो दुखिया ममात्रै छुइनँ होला ठान्यो । यसैगरी बाँच्नुपरेको छ ।’
परिवारमा खास गरेर चाडपर्व आउँदा सबैभन्दा बढी विजयबाबुको सम्झना हुने उनका कान्छा भाइ प्रदिप बताउँछन् । ‘आमाले सपनामा देखेँ भन्नुहुन्छ । दिदीहरुले पनि त्यही सुनाउनुहुन्छ । चाडवाड सधैँ बिरसिलो हुन्छ,’ उनले भने । परिवार मात्र नभएर सिंगो नगरवासीले ‘विजय भइदिएको भए’ भनेर उनको अभाव महसुस गर्ने गर्छन् ।
प्रकाशित समय १३:४३ बजे

















