गृहपृष्ठ म्यागङको टुँडीमा ताल र पार्क निर्माण सुरु
म्यागङको टुँडीमा ताल र पार्क निर्माण सुरु
नुवाकोटको म्यागङ गाउँपालिका-३ र ६ को संगमस्थल टुँडी मैदानमा ताल एवं पार्क निर्माण थालिएको छ । हाल टुँडीस्थित पोखरी रहेको स्थानमा १ करोड ७१ लाख रुपैयाँको लगानीमा व्यवस्थित ताल र पार्कलगायतका संरचनाको निर्माण थालिएको हो ।
तालसहितको पार्क निर्माणले समग्र यहाँको लागि मात्र नभई मुलुकका लागि पर्यटकीय एवं धार्मिक गन्तव्य बनाउन सकिने अपेक्षा राखिएको अध्यक्ष आशा तामाङले बताइन् । उनका अनुसार प्रदेश सरकार र स्थानीय सरकारको संयुक्त लगानीमा निर्माण थालिएको पार्कसहितको ताल चरणबद्ध रूपमा निर्माण गरिने भएको छ । न्यु मनकामना निर्माण कम्पनीले जिम्मेवारी पाएको पहिलो चरणको संरचना आगामी असारभित्रै पूरा गर्नुपर्ने सम्झौतामा उल्लेख छ । पहिलो चरणमा टुँडीमा रहेको इनारको संरक्षण गर्दै आकर्षक ताल बनाइनेछ भने बजेटको सुनिश्चिततापश्चात् दोस्रो चरणमा म्यागङको पहिचान बोकेको मानिसले तीर हान्न लागेको सालिक बनाइने तामाङले जानकारी दिए ।
अहिले ताल बनाउन लागिएको स्थानमा सयौं वर्ष पुरानो पोखरीसहितको चौर छ । त्यसमध्ये चार रोपनी क्षेत्रफलमा फैलिएको ताल बनाउन लागिएको हो ।
राज्य पुनःसंरचनाको क्रममा साविकका पाँच गाविस बसुञ्चेत, बुङताङ, देउराली, किम्ताङ र सामरीलाई समावेश गरेर म्यागङ गाउँपालिकाको नामकरण गरिएको थियो । तामाङ भाषामा ‘म्या’ भनेको तीर र ‘गङ’ भनेको तीर खेल्ने चौर रहेको गाउँपालिकाकी उपाध्यक्ष शान्ति गुरुङले बताइन् ।
उनका अनुसार यस क्षेत्रमा परापूर्वकालमा तामाङ समुदायको पुर्खाले तीर हान्ने प्रतिस्पर्धा गर्ने र उक्त प्रतियोगितमा पश्चिम वाग्मतीमा पर्ने जिल्लाको सहभागिता रहने गरेको बुढापाका बताउँछन् । म्यागङ नामकरण गरिएको ऐतिहासिकस्थलको संरक्षण गरेर गाउँपालिकाको गौरवको योजनाका रूपमा आकर्षक पर्यटकीयस्थल बनाउन पहिलो प्रथामिकतामा राखिएको छ । (रासस)
प्रकाशित समय १४:१३ बजे
















