गृहपृष्ठ सस्तिँदै रेमिट्यान्स पठाउँदा लाग्ने खर्च

सस्तिँदै रेमिट्यान्स पठाउँदा लाग्ने खर्च

Remittance_NewsKarobar

विदेशमा बसेर काम गर्ने अनि आफ्नो परिवारको जीविकोपार्जनका लागि आफूले कमाएको पैसा पठाउने वर्गका लागि केही खुुसीको खबर छ । विश्वभरि नै रेमिट्यान्स पठाउने लागत अर्थात् शुल्क कम हुन थालेको छ ।

विश्व बैंकले हालै प्रकासित गरेको एक अध्ययनअनुसार विश्वभरिको रेमिट्यान्स लागत औसत ६ दशमलव ८४ प्रतिशतमा झरेको छ, अर्थात् तपाईंले १०० रुपैयाँ पठाउँदा त्यसबापत तिर्नुपर्ने लागत ६ रुपैयाँ ८४ पैसामा झरेको छ ।

विश्वभरि नै औपचारिक अर्थात् बैंकिङ प्रणालीबाट रेमिट्यान्स पठाउने क्रम बढेको र रेमिट्यान्स कम्पनीहरूबीचको प्रतिष्पर्धासमेत बढ्न थालेकाले पैसा पठाउँदा लाग्ने शुल्क, कमिसनसहितको खर्च घट्न थालेको हो ।

एक दशकअगाडि यसरी तिर्नुपर्ने लागत ८ प्रतिशत थियो । विश्व प्रमुख रेमिट्यान्स प्रवाह गर्ने स्रोत देशहरूमा आधारित रहेर विश्व बैंकले यो विवरण प्रकासित गरेको हो ।

विश्वका विकसित मुलुकहरूको समूह जी–२० का सदस्य देशहरूबाट रेमिट्यान्स पठाउँदा लाग्ने लागत भने ७ दशमलव ०८ प्रतिशत छ ।

नेपालमा भित्रने रेमिट्यान्सबापत भने औसतमा ४ प्रतिशतका लागत भएको पाइएको छ । नेपालले हाल ३९ देशबाट रेमिट्यान्स भित्र्याउने गरेको छ ।

नेपालका रेमिट्यान्स प्राप्त हुने प्रमुख स्रोत मुलुकहरूमध्ये कतारबाट नेपाल पैसा पठाउन औसत ४ दशमलव ३२ प्रतिशत लाग्ने गरेको विश्व बैंकले जनाएको छ । यसमध्ये बैंकबाट पठाउँदा सबैभन्दा सस्तो २ दशमलव ६८ प्रतिशतमात्रै पर्छ भने लारी नामक एजेन्टबाट पठाउँदा सबैभन्दा महँगो ७ प्रतिशतभन्दा बढी पर्छ ।

यसको अर्थ कतारबाट यदि तपाईंले ७३० कतारी रियाल (करिब २२ हजार ६ सय रुपैयाँ) नेपाल पठाउनु पर्ने भयो भने औसतमा ३२ रियाल शुल्कबापत बुझाउनु पर्छ । यो रकम बैंक र मनी ट्रान्सफर वा रेमिट्यान्स कम्पनीअनुसार केही थोरैले मात्र घटीबढी भएको विश्व बैंकले जनाएको छ ।

यसैगरी यूएईबाट नेपालमा पैसा पठाउँदा औसतमा ३ दशमलव ९७ प्रतिशत शुल्क बुझाउनु पर्छ । अर्थात्, दुबईसहितका यूएईका अन्य सहरहरूबाट नेपालमा ७३५ दिराम (एइडी) पठाउनु पर्दा औसतमा २९ दिराम शुल्क तिर्नुपर्छ ।

यूएईबाट पैसा पठाउन अल अन्सारी सबैभन्दा सस्तो छ, यसले २ दशमलव ९० प्रतिशत शुल्क अर्थात् ७३५ दिराम पठाउँदा २१ दिराम कमिसन लिन्छ भने सबैभन्दा महँगो माश्रेक बैंक छ, यसले १०० मा साढे १४ का दरले शुल्क लिन्छ ।

यस्तै, साउदी अरबबाट ७५० रियाल नेपाल पठाउँदा औसतमा ४ दशमलव ६० प्रतिशत रकम शुल्क तिर्नुपर्छ । मलेसियाबाट ६१० रिंगेट नेपाल पठाउनु पर्दा ३ दशमलव ३६ प्रतिशत रकम शुल्क तिर्नुपर्ने विश्व बैंकको अध्ययनले देखाएको छ ।

मलेसियाबाट नेपाल पैसा पठाउन तपाईंका लागि वेस्र्टर्न युनियन सबैभन्दा सस्तो पर्ने देखिएको छ । यसले ६१० रिंगेट पठाउँदा औसत १ दशमलव ७० देखि ८० प्रतिशत अर्थात १० देखि ११ रिंगेट लिन्छ ।

सबैभन्दा महँगो मनीग्राम छ, उसले कुल लागतका ४ दशमलव २१ प्रतिशत अर्थात ६१० रिंगेट पठाउनु भयो भने २५ रिंगेट ६८ सेन्ट लिन्छ ।

भारतबाट नेपाल रेमिट्यान्स पठाउन भने सबैभन्दा सस्तो छ, त्यहाँबाट नेपाल पैसा पठाउँदा औसतमा २ प्रतिशतमात्रै शुल्क लाग्ने गरेको विश्व बैंकले जनाएको छ ।

प्रकाशित समय १६:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु