गृहपृष्ठ हरेक पाँचमध्ये एक जनासँग पासपोर्ट
हरेक पाँचमध्ये एक जनासँग पासपोर्ट
कुन देशमा कति नेपाली पासपोर्टधारी ?
२०४६ सालपछि अध्ययन, रोजगारी र व्यवसायका लागि विश्वभरि नेपाली छरिने क्रम बढेको छ । नेपालीहरूका विदेशको मोह बढ्न थालेसँगै प्रत्येक पाँच जनामध्ये एक जना नेपालीले पासपोर्ट बनाएका छन् ।
विश्वका १५८ देशमा नेपाली पुगेको संयुक्त राष्ट्र संघीय, अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम/यूएन माइग्रेसन)को ताजा अध्ययनले देखाएको छ ।
संगठनद्वारा सार्वजनिक गरिएको ‘नेपालमा आप्रवासनः कन्ट्री प्रोफाइल २०१९’ले वैदेशिक रोजगारीका क्रममा १५८ देशमा नेपाली पुगेको देखाएको हो ।
प्रतिवेदनअनुसार सशस्त्र द्वन्द्वकालभन्दा अगाडि औसत ५ हजारभन्दा कम नेपाली बिदेशिने गरेकोमा आव २०५८/५९ देखि उच्च दरमा बढ्न थालेको हो । आव ०५८/५९ मा १ लाख ४ हजार ७३९ जना नेपाली बिदेशिएकोमा त्यो बढ्दै गइ आव २०७०/७१ मा ५ लाख १९ हजार ६३८ पुगेको र त्यसपछि भने क्रमसः घट्दै जान थालेको प्रतिवेदनले देखाएको छ ।
आन्तरिक रोजगारीका अवसर कम भएको तथा नेपालीहरूको प्रतिव्यक्ति आयमा भएको क्रमसः वृद्धिसँगै रोजगारीका खोजीबाहेक अध्ययन, घुमफिर र व्यावसायिक प्रयोजनका लागि समेत नेपाली बिदेशिने क्रम बढेको हो ।
प्रतिवेदनअनुसार सन् २०१० को डिसेम्बरदेखि सन् २०१९ को जुलाई १५ सम्म नेपालीहरूले ५९ लाख ७३ हजार ३११ जनाले मेसिन रिडेबल पार्टपोर्ट (एमआरपी) बनाइसकेका छन् । यसअनुसार कुल जनसंख्याको झन्डै २० प्रतिशतले पासपोर्ट बनाइसकेको छन् ।
विश्वभरि नै हस्तलिखित पासपोर्ट नचल्ने भएपछि आर्थिक वर्ष २०६७/६८ बाट मेसिन रिडेबल पार्टपोट जारी गर्न थालिएको हो । पहिलो वर्ष १ लाख ७३ हजार ७६७ जनाले एमआरपी बनाएकोमा आव २०७०/७१ मा सर्वाधिक धेरै १३ लाख ३६ हजार ८३८ वटा पासपोर्ट बनेको राहदानी विभागको विवरण उद्धृत गर्दै प्रतिवेदनमा उल्लेख छ ।
गत आर्थिक वर्ष २०७५/७६ मा ५ लाख १५ हजार १४६ वटा पासपोर्ट बनेको विभागले उल्लेख गरेके छ । यो अघिल्लो आर्थिक वर्षभन्दा ३ प्रतिशतले घटेको हो । गत आवमा ५ लाख १३ हजार पुराना हस्तलिखितलाई एमआरपीमा परिणत गरिएको, १ हजार २३५ ‘अफिसिल पासपोर्ट’ र ७४१ कुटनीतिक पासपोर्ट जारी गरिएको थियो ।
सन् २०१९ मा कुल १३ लाख ७५ हजार ७०२ जना नेपाली बिदेशिएको अध्यागमन विभागको तथ्यांकले देखाएको छ ।
गत आर्थिक वर्ष ०७५/७६मा वैदेशिक रोजगारका लागि २ लाख ४३ हजार ८७६ जना नयाँ श्रम स्वीकृति र २ लाख ७२ हजार ६१८ जनाको पुनः श्रम स्वीकृति गरी ५ लाख १६ हजार ४४८ जना वैदेशिक रोजगारीमा गएका थिए ।
यस्तै, गत आर्थिक वर्षमा अध्ययनका लागि भनेर ६३ हजार २५९ जनाले शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिएका थिए, यो अघिल्लो वर्षभन्दा साढे ७ प्रतिशत बढी हो । आव २०७४/७५ मा ५८ हजार ७५८ जनाले एनओसी लिएका थिए ।
वैदेशिक रोजगारी र अध्ययनका लागि बिदेशिएका यो संख्या घटाउँदा गत वर्ष घुमफिर, औषधोपचार, व्यवसाय र अन्य औपचारिक भ्रमणकै लागि झन्डै ८ लाख नेपाली बिदेशिएका देखिन्छ ।
कुन देशमा कति नेपाली पासपोर्टधारी?
प्रतिवेदनअनुसार नेपालबाहिर सर्वाधिक धेरै नेपाली खाडी मुलुकमा छन् । राहदानी विभागको गत आर्थिक वर्षसम्मको प्रतिवेदनअनुसार गल्फ कोअपरेसन काउन्सिल (जीसीसी)का ६ सदस्य देशमा मात्र १० लाखभन्दा बढी नेपाली छन् ।
यीमध्ये कतारमा ४ लाख ६ हजार ९१७, साउदी अरबमा ३ लाख ३४ हजार ४५१, संयुक्त अरब इमिरेट्स (यूएई)मा २ लाख २४ हजार ९०५, कुबेतमा ७१ हजार १९३, बहराइनमा २६ हजार र ओमनमा १७ हजार ५७ जना नेपाली पासपोर्टधारी छन् ।
यसबाहेक मलेसियामा ५ लाख, अमेरिकामा २ लाख ८० हजार, बेलायतमा १ लाख, जापानमा ८७ हजार १४८, अष्ट्रेलियामा ५४ हजार ७६३, हङकङ २५ हजार ७४२ र इराकमा २५ हजार नेपाली राहदानीबाहक रहेको विभागको विवरणमा उल्लेख छ ।
युरोपेली मुलुकहरू फ्रान्स, नर्वे, फिनल्यान्ड, पोर्चुगल, स्पेनसहितका देशहरूमा मात्र होइन, बंगलादेशमा पनि ३६०० नेपाली पासपोर्टधारीहरू रहेको प्रतिवेदनले देखाएको छ ।
प्रकाशित समय १६:१९ बजे

















