गृहपृष्ठ ‘विश्व अर्थतन्त्र महामन्दीमा, ३ प्रतिशतले ऋणात्मक’
‘विश्व अर्थतन्त्र महामन्दीमा, ३ प्रतिशतले ऋणात्मक’
नेपालको वृद्धिदर २.५ प्रतिशत रहने
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नोबल कोरोना भाइरसजन्य महामारी (कोभिड–१९) का कारण सन् २०२० मा विश्व अर्थतन्त्र महामन्दीमा फँसेको बताएको छ ।
मुद्रा कोषले मंगलबार साँझ जारी गरेको ‘वर्ल्ड इकोनोमिक आउटलुक–२०२०’अनुसार यस वर्ष विश्वको अर्थतन्त्र ३ प्रतिशतले ऋणात्मक वृद्धिदरमा फँस्नेछ ।
कोरोना भाइरसको सबैभन्दा बढी प्रभाव अतिविकसित अर्थतन्त्र भएका मुलुकहरूमा सर्वाधिक परेकोले ती मुलुकहरूको आर्थिक वृद्धिदर ६.१ प्रतिशतले ऋणात्मक हुने मुद्रा कोषले जनाएको छ ।
उदाउँदा बजार र विकासशील अर्थतन्त्र भएका मुलुकहरूको आर्थिक वृद्धिदर भने १ प्रतिशतले ऋणात्मक हुनेछ ।
उदाउँदो र विकासशील एसियामध्ये चीनको वृद्धिदर १.२ प्रतिशत रहने र भारतको वृद्धिदर १.९ हुने कोषले जनाएको छ । आसयन– फाइभको वृद्धिदर भने ०.६ प्रतिशतले ऋणात्मक रहने आउटलुकमा उल्लेख छ ।
नेपालको वृद्धिदर २.५ प्रतिशत
मुद्रा कोषले यस वर्ष नेपालको आर्थिक वृद्धिदर २.५ प्रतिशत रहने जनाएको छ । यो अर्को बहुपक्षीय विकास संस्था विश्व बैंकले गरेको प्रक्षेपणकै बराबरी हो ।
मुद्रा कोषले आगामी वर्ष सन् २०२१ मा भने नेपालको वृद्धिदरमा पुनर्बहाली भइ ५ प्रतिशत कायम हुने जनाएको छ ।
उसले मुद्रास्फीति दर भने ६.७ प्रतिशतदेखि ७.५ प्रतिशतको बीचमा रहने जनाएको छ ।
कोभिड–१९को संक्रमण रोक्नका लागि अबलम्बन गरिएको घरबन्दीका कारण आपूर्ति चक्रमा परेको कारणले मूल्य स्थितिमा चाप परी मुद्रास्फीति दर गत वर्षको ४.६ प्रतिशतबाट उकालो लाग्ने अवस्था आएको हो ।
प्रकाशित समय १९:४९ बजे

















