गृहपृष्ठ नेपाल भारतको दसौं ठूलो बजार

नेपाल भारतको दसौं ठूलो बजार

नेपाल भारतको दसौं प्रमुख निर्यात बजार हो । भारतको व्यापार पोर्टल (इन्डियन ट्रेड पोर्टल)का अनुसार भारतका प्रमुख २५ ठूला निर्यात बजारमध्ये नेपाल दसौं स्थानमा छ ।

नेपालले कुल भारतीय निर्यातको करिब २.५ प्रतिशत हिस्सा ओगटेको छ । भारतका मुख्य क्षेत्रीय निर्यात बजारहरूमध्ये दक्षिण एसिया र बिमस्टेकमै पनि नेपालले महत्वपूर्ण हिस्सा ओगटेको छ । भारतले दक्षिण एसियामा गर्ने कुल निर्यातको नेपालले झन्डै ३३ प्रतिशत हिस्सा ओगटेको छ भने बिम्स्टेक क्षेत्रमा हुने निर्यातको पनि २८.५ प्रतिशत हिस्सा ओगटेको छ ।

विश्वभरिमा भारतका लागि अमेरिका, संयुक्त अरब इमिरेट्स, चीन र उसको स्वशासित क्षेत्र तिब्बत, सिंगापुर, नेदरल्यान्ड्स, जर्मनी र बंगलादेश प्रमुख निर्यात बजार हुन् ।

क्षेत्रीय बजारमा बंगलादेश भारतको सबैभन्दा ठूलो बजार हो भने नेपाल दोस्रो ठूलो बजार हो । सन् २०१९/२० मा भारतले दक्षिण एसियाली सहयोग संगठन (सार्क) क्षेत्रमा कुल २५ अर्ब ७ करोड १८ लाख अमेरिकी डलरको र बिमस्टेक क्षेत्रमा कुल २१ अर्ब ८८ करोड अमेरिकी डलरको सामान बेचेकोमा नेपालले मात्रै ७ अर्ब १४ करोड ३१ लाख ५० हजार डलरको सामान किनिदिएको छ ।

बंगलादेशले सन् २०१८/१९ मा ९ अर्ब २१ करोड अमेरिकी डलरबराबरको भारतीय उत्पादन किनिदिएकोमा सन् २०१९/२० मा यो व्यापार ११.१६ प्रतिशतले घटेर ८ अर्ब १८ करोड १५ लाख डलरमा झरेको भारतीय वाणिज्य विभागको विवरणले देखाएको छ ।

यसैगरी, नेपालले सन् २०१८/१९ मा भारतबाट ७ अर्ब ७६ करोड ६२ लाख अमेरिकी डलरबराबरको सामान किनिदिएकोमा सन् २०१९/२० व्यापार ८ प्रतिशतले घटेर ७ अर्ब १४ करोड ३१ लाख अमेरिकी डलरमा झरेको छ ।

नेपाल–भारतको व्यापार एक पक्षीय रहँदै आएको छ । नेपाललाई वार्षिक औसत ७ अर्ब अमेरिकी डलरभन्दा बढीको सामान बेच्ने भारतले नेपालबाट भने ७०-७१ करोड अमेरिकी डलरबराबरको पनि सामान किन्दैन । सन् २०१८/१९ मा भारतले नेपालबाट ५० करोड ८१ लाख अमेरिकी डलरबराबरको वस्तु आयात गरेकोमा सन् २०१९/२० मा ७१ करोड १० लाख अमेरिकी डलरको आयात गरेको छ । यो पाम आयल र भटमासको तेल (सोयाबिन आयल)ले बढाएको निर्यात हो ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७६/७७ (सन् २०१९/२०) मा नेपालबाट भएको कुल ८८ अर्ब रुपैयाँको निर्यातमध्ये पाम आयलले मात्र २२ प्रतिशत हिस्सा ओगटेको छ भने सोयाबिन आयलले ११ प्रतिशत हिस्सा ओगटेका छन् । यी दुवै उत्पादन आव २०७५/७६ पछिमात्रै निर्यातको वस्तुको रुपमा उदाएका हुन् । यिनको मुख्य बजार भारत नै हो ।

नेपालबाट भारततर्फ मुख्यतः अलैंची, अदुवा, चियाजस्ता कृषिजन्य वस्तु बढी निर्यात हुने गरेकोमा भारतले बेलाबेलामा गैर-भन्सारजन्य अवरोध सिर्जना गरेर नेपाली उत्पादनलाई दुःख दिने गरेको छ ।

प्रकाशित समय १६:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु