गृहपृष्ठ पहिलो विमान यसरी उत्रेको थियो काठमाडौंमा

पहिलो विमान यसरी उत्रेको थियो काठमाडौंमा

First Flight_NewsKarobar

नेपालमा हवाई उडानको इतिहास लामो छ, तर यो हामीले अहिले देखेजस्तो सहज भने थिएन । सन् १९४९ अप्रिल २३ तारिखका दिन काठमाडौंको गौचरणस्थित घाँसे मैदानमा पहिलो पटक भारतबाट आएको बिचक्राफ्ट बोनान्जा विमान उत्रेको थियो ।

श्री ५ त्रिभुवनले गौचरण (हालको त्रिभुवन विमानस्थल)मा त्यो विमानका स्वागत गरेका थिए । तत्कालीन प्रधानमन्त्री मोहनशमसेर जंगबहादुर राणाका अनुरोधमा सो विमान नेपालमा उत्रेको थियो । काठमाडौंमा वर्षापछिको खाद्य र अन्य बन्दोबस्तीका सामग्रीका अभाव बढेपछि मोहनशमसेरले विमानबाट खाद्यान्न भित्र्याउन भारतीय राजदूतलाई भनेका थिए ।

तत्कालीन भारतीय राजदूत सुरजीत सिंह मजिठियालाई लेखेको पत्रमा भनिएको थियो- ‘डाकोटा अवरणका लागि अवतरण स्थल चाहिने र यो  तयार हुन कठिन हुने थाह पाएपछि वर्षापछि काठमाडौंमा धान ल्याउनका लागि साना विमान ढुवानीका विमान प्रयोग गर्न सकिन्छ कि भन्ने मैले सोचिरहेको छु । यस विषयमा तपाईले राय दिनु भएमा म आभारी हुनेछु, यदि प्रस्ताव योग्य लागेमा के तपाईं यसका लागि तयारी गर्नसक्नु हुन्छ? आवश्यक व्यवस्था, गुणास्तर, लागत र आवश्यक सूचनासहितको प्रस्ताव मकहाँ पठाइदिनु होला ।’

भारतीय राजदूत सिंह यो प्रस्तावबाट उत्साहित भए र आफ्ना भतिजा दलीप सिंहलाई नेपाल उडानका लागि ७ जुन १९४८ मा पत्र पठाए । उनले पत्रमा काठमाडौंको भूगोलका पूरै वर्णन गरेका छन् । पुनः १६ जुन १९४८ मा लेखिएको पत्रमा नक्सासहित कोरेर पशुपतिनाथ मन्दिरको छेउको खाली गौचरणमा कसरी अवतरण गर्ने भन्ने लेखेका थिए ।

पछि अर्को पत्रमा प्रधानमन्त्री मोहनशमसेरसँग भेटेर उडानका समय निश्चित भएको विस्तृत विवरण उल्लेख गर्दै मुजफ्फपुरबाट काठमाडौंसम्म आइपुग्न धेरै उचाइमा पनि उड्नु नपर्ने लेखे । राजदूत सुरजीत सिंह आफै पनि फाइटर जहाजका पाइलट रहिसकेका कारणले उनले प्राविधिक पक्षको सूचनासमेत दिन सकेका थिए ।

सय वर्षमा टेकेका भारतका पुराना फाइटर विमान चालक दलीप सिंह मजिठियाले पुराना कुरा सम्झँदै भनेका छन्- ‘मेरा काका (सुरजीत सिंह मजिठिया) राजदूत हुनुहुन्थ्यो र उहाँ मेरालागि प्रधानमन्त्रीसँग भेट्न निकै उत्सुक हुनुहुन्थ्यो ।’

काठमाडौं अवतरणका स्मरण गर्दै दलीपसिंह भन्छन्- ‘(अवतरण) अगाडि मैले राम्ररी हेरेँ, अवतरणका लागि जमिनमा केही पनि सहायता थिएन, मेरा काकाले मेरा लागि विन्डस्क्रिन लगाइदिनु भएको थियो, मसँग यतिमात्रै थियो ।’

उनका अनुसार दोस्रो प्रयासमा मात्रै विमान अवरण भएको थियो । ‘पहिलो प्रयास त्यति राम्रो भएन, किनकी अप्रिलका अन्त्यमा काठमाडौंमा बाक्लो बादल थियो, तर दोस्रो प्रयासमा काठमाडौंको वरिपरि चक्कर लगाएँ र अवतरण गरेँ ।’

मुजफ्फपुरबाट सीधै गौचरणस्थित घाँसे मैदानमा विमान सकुशल अवतरण भयो ।‘सौभाग्यवस जमिनमा कोही पनि थिएन । मेरा काका आएर मलाई उठाउनुभयो, ’ मजिठियाले भनेका छन् । (भारतीय समाचार एजेन्सीहरू र भारतीय उड्डयन पत्रिका वायुका सहयोगमा)

प्रकाशित समय १४:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु