गृहपृष्ठ सेवामा रमाउने महेन्द्र
सेवामा रमाउने महेन्द्र
दुल्लु नगरपालिका ४ दैलेखमा २०५२ साल चैत १ गते जन्मिएका महेन्द्र थापा पेसाले स्वास्थ्यकर्मी हुन् । एनएपि प्लस एन संस्थाको सहयोगमा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा तीन वर्षदेखि निरन्तर क्षयरोग कार्यक्रमको फास्ट मुभिलाइजरको रुपमा काम गर्दै आएका उनी सानैदेखि डाक्टर बन्ने सपना देख्थे । डाक्टरले लगाउने सेतो एप्रुन उनको सपना थियो । त्यही सपना पूरा गर्न उनले सुरुमा एचए पढे । विस्तारै उनलाई समाज सेवाको नशा चढेपछि डाक्टरको सपना भुलेर सेवामै समर्पित भएका छन् ।
मानव सेवा आश्रम कर्णाली प्रदेशको अभिभावकत्वसमेत ग्रहण गरेका उनीे अस्पतालमा अन्य सेवा लिन आउने बिरामीलाई समेत सेवा गर्छन् । थापाले कर्णाली अस्पताल सुर्खेतमा कपडा बैंक कार्यक्रम सञ्चालन गरी कपडा नहुनेहरुलाई वितरणको काम पनि गरे । ‘कसैको पुरानो कपडा कसैका लागि नयाँ पनि हुनसक्छ,’ उनी भन्छन्, ‘कपडा बैंकमा संकलन भएका पुराना कपडा धोएर आइरन गरी कपडा नहुनेहरुलाई वितरण गरिन्छ ।’ यो कार्यक्रम अहिले पनि निरन्तर अगाडि बढेको छ ।
कर्णाली प्रदेश अस्पतालमा ब्लड बैंकलाई समेत व्यवस्थित गराउने काममा थापा निरन्तर लागेका छन् । कर्णाली प्रदेशका केही नागरिकको ब्लड ग्रुप पहिचान गरी नाम र फोन नम्बर राख्न सकियो भने तत्काल ब्लड आवश्यक परेको समयमा पाउन सकिन्छ भनेर यो अभियान सुरु गर्न लागेको उनले बताए ।
यसबाहेक कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण कर्णाली प्रदेशको दैलेखमा अत्यधिक फैलिएको समयमा उनले सक्रिय भएर सेवा गरे । कोरोनाको रेडजोन मानिएको दैलेखको महाबै गाउँपालिकामा कोपिला भ्याली सेवा समाजको समन्वयमा उनले निःशुल्क गएर आइसोलेसन, ड्युटी लगाएत मनोपरामर्शदाताको रुपमा सेवा दिए । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकामा क्लिन ग्रिन अभियानअन्तर्गत वृक्षारोपण तथा नगरलाई प्लास्टिकरहित बनाउन सररफाइ अभियानमा पनि उनी जोडिए ।
कर्णालीका अधिकांश नागरिकले प्राथमिक स्वास्थ्य सेवासमेत नपाएको अवस्थामा हरेक स्थानीय तहमा एउटासम्म विशेषज्ञ डाक्टरसहितका सेवा नागरिकले पाउनुपर्ने उनी बताउँछन् । ‘म विशेषज्ञ सेवा दिन सक्दिन,’ उनी थप्छन्, ‘तर विशेषज्ञ डाक्टरको सहयोगी भएर थुप्रै सेवा गर्न सक्छु ।’
कर्णाली प्रदेश अस्पतालमा विभिन्न जिल्लाबाट आउने कतिपय बिरामीलाई ल्याब, ओपिडि, आकस्मिक कक्ष कता हो भन्नेसम्म जानकारी हुँदैन । यो अवस्थामा उहाँहरुलाई कक्षसम्म पु‑याई छिटोछरितो सेवा दिन सकियो भने पनि धेरै सेवा हुन्छ । एउटा स्वास्थ्यकर्मी एउटा सीमित कोठामा बसेर त्यहाँसम्म आइपुग्ने बिरामीलाई सेवा दिएरमात्रै नहुने उनको तर्क छ ।
कर्णाली प्रेदश अस्पतालमा बिरामीहरु हप्तौं लगाएर उचारमा बस्न बाध्य भएको भन्दै थापाले सेवालाई छिटोछरितो गर्न सके नागरिकमैत्री सेवा हुने उनी बताउँछन् । महेन्द्रले प्रत्येक महिना आफ्नो तलबबाट एक हजार रुपैयाँ बचत गरी वर्षमा १२ हजार रुपैयाँ गरिब विद्यार्थीलाई छात्रवृत्ति सहयोग गर्ने गरेका छन् ।
मानव सेवा आश्रमकी एक बालिकालाई उनले अभिभावकत्व ग्रहण गरी कोपिला भ्याली सेवा समाजमा समन्वय गरी राखेका छन् । हरेक वर्ष उनले आफ्नो जन्मदिनको अवसरमा उनको समेत जन्मदिन मनाउने गर्छन् । उनी सहरी क्षेत्रमा भन्दा दुर्गममा गएर सेवा गर्न रुचाउने स्वास्थ्यकर्मी हुन् ।
कर्णाली प्रदेश अस्पताल कालागाउँमा सेवारत हुँदा पनि उनी बेला–बेलामा ग्रामीण क्षेत्रमा स्वयंसेवकको रुपमा जाने गर्छन् । भविष्यमा उनलाई ग्रामीण क्षेत्रमा नै स्वास्थ्य क्षेत्रमा सेवा गर्न सपना छ । मानव जीवनको सबैभन्दा महत्वपूर्ण कुरा स्वास्थ्य भएकाले हरेक नागरिक स्वस्थ भए राज्यलाई नै फाइदा हुने उनको सोच छ । राज्यले देशमा सबैभन्दा बढी स्वास्थ्य क्षेत्रमा लगानी गर्नसके अर्थतन्त्रसमेत बलियो हुने २४ वर्षे ठिटो महेन्द्र बताउँछन् ।
प्रकाशित समय १२:४४ बजे

















