गृहपृष्ठ चाडपर्व नसकिँदै भातका लागि भारत पस्नेहरुको लर्को

चाडपर्व नसकिँदै भातका लागि भारत पस्नेहरुको लर्को

कोरोनाका कारण स्वदेश भित्रिएका सुदूरपश्चिमेलीहरु निधारमा लगाएको रातो टीका नपुछिँदै भारत फर्किन थालेका छन् । कोरोना कहरका बीच नेपाल आएका नागरिकलाई यतै रोजगारी सिर्जना गर्ने बाचा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले बिर्सिएपछि चाडपर्वकै बीचमा दैनिक हजारौँ नागरिक भारत जान बाध्य भएका हुन् ।

तिहार आउन दुई सातामात्रै बाँकी रहँदा भारत जानु उनीहरुको बाध्यता नै हो । भारत जान धनगढी बसपार्कमा टिकट काट्दै गरेका कैलालीको लम्कीचुहा नगरपालिकाका भीमबहादुर कार्कीले परिवारको दैनिकी चलाउन भारत जानुपरेको बताए । उनी कोरोना त्रासका कारण तीन महिनाअघि स्वदेश फर्किएका थिए ।

भारतमा कोरोना भयावह बन्न थालेपछि कष्टपूर्ण यात्रा गरी नेपाल आएका कार्कीले आफ्नै देशमा रोजगारी गर्ने सोच नबनाएका होइनन् । तर, तीन महिनासम्म घरमा बस्दा उनले रोजगारी त कता, कसैबाट आश्वासनसम्म पनि पाएनन् । उल्टै भारतबाट कमाएर ल्याएको पैसासमेत सकियो । ‘यहाँ के गरेर खाने ? परिवार पाल्न त जानै पर्‍यो नि !’ दसैँको टीका थापेर भारत जाँदै गर्दा कैलालीको त्रिनगर नाकामा भेटिएका उनले भने, ‘घर परिवार छाडेर यसरी कोरोनाको महामारीमा भारत पस्न कसलाई रहर हुन्छ र !’

यस्तै, कञ्चनपुरका उदयबहादुर खत्री पनि भारत जान त्रिनगर नाकामा पुगेका थिए । दसैँको अन्तिम दिन टीका र जमरामै उनी भारत जाँदै थिए । उनी भारतबाट नेपाल आउन एक महिना सीमा क्षेत्रकै क्वारेन्टाइनमा बसेका थिए । एक महिनाको अलपत्र बसाइपछि बल्ल घर पुगेका खत्री चार महिनापछि फर्किंदै छन् ।

चार महिना परिवार पाल्नमा उनले कमाएको सबै रकम सकियो । नेपालमा रोजगारी पाइन्छ भन्ने आश छैन । र, फेरि भारत नै पसे । ‘घरमा ६ जनाको परिवार पाल्नुपर्छ,’ उनले भने, ‘गाउँघरमा खाएर बस्नुबाहेक अरु कुनै काम नै पाइएन, बाध्य भएर भारत गइरहेको छु ।’

कैलालीका नरे कामी पनि रोजगारीका लागी भारत जान नाकामा पुगेका थिए । उनले पनि न ऋण, न रोजगारी केही नपएकाले भारत नै जानुपरेको दुखेसो गरे । ‘हामीलाई न कोही रोजगारी दिने न कोही ऋण नै दिने,’ उनले भने, ‘जुन सरकार आए पनि हामीले भारत नगई चुलो नै बल्दैन ।’

यी केही प्रतिनिधि पात्रमात्रै हुन् । उनीहरु जस्ता हजारौँ नेपाली अहिले सुदूरपश्चिमका विभिन्न नाका प्रयोग गरी भारत गइरहेका छन् । देशमा तीन तहका सरकार भए पनि आफ्ना समस्या कसैले नबुझेको प्रतिक्रिया उनीहरुको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले कोरोनाका कारण स्वदेश भित्रिएका र बेरोजगारलाई स्वदेशमै व्यवस्थापन गर्ने गरी नीति तथा बजेटमा प्रशस्त योजना समेटेको बारम्बार बताउँदै आएकोे छ । तर, त्यो कार्यान्वयन हुन सकेन । मुख्यमन्त्री त्रिलोचन भट्टले बेरोजगारलाई रोजगार सिर्जना गर्ने, अनुदान दिने, आफैँ उद्यमी हुन चाहनेहरुका लागि ऋण तथा सहुलियतको व्यवस्था गर्नेलगायतका आश्वासन बाँड्न छाडेका छैनन् ।

भारतमा आफ्नै जीवनको ऊर्जावान समय बिताएका भट्टले मुख्यमन्त्री हुँदादेखि नै रोजगारीका लागि भारत जानुपर्ने बाध्यताको अन्त्य गर्ने घोषणा गर्दै आएका छन् । तर, उनी मुख्यमन्त्री भएको तीन वर्ष पुग्न लाग्दा भातका लागि भारत पस्नेहरु लर्को उस्तै छ ।

प्रकाशित समय ११:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु