गृहपृष्ठ यसपालिको तिहारमा देउसी-भैलो खेल्न नपाइने
यसपालिको तिहारमा देउसी-भैलो खेल्न नपाइने
फाइल तस्बिर
नेपालीहरूको दोस्रो प्रमुख, अनि सांस्कृतिक पर्वका रूपमा मनाइँदै आइएको तिहार यस पटक कोरोनाको कहरमा परेको छ । न आँगनमा ‘भन मेरा भाइ हो’ भन्दै देउसे-भैली आउने छन्, न पहिलाको जस्तै रंगीचंगी रमाइलो हुनेछ ।
तिहार भन्नेवित्तीकै झिलिमिली बत्ती, देउरी-भैलोजस्ता सांस्कृतिक पक्ष जोडिएर आउँछ, तर यस पटक विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारी नेपालमा समेत अनियन्त्रित गतिमा फैलिन थालेपछि यसपालिको तिहार देउसी-भैलोबिनाको तिहार हुने भएको छ ।
देशका ७७ मध्ये करिब १६ वटा जिल्ला प्रशासन कार्यालयहरूले सूचना नै जारी गरेर देउसी-भैलोजस्ता भेला भएर गरिने सांस्कृतिक कार्यक्रमहरूसहित सामूहिक रूपमा भेला भएर गरिने पूजापाठसहितका क्रियाकलापमा रोक लगाएका छन् ।
प्रहरी प्रधान कार्यालयले हालै मातहत प्रहरी कार्यालयहरूलाई देउसी-भैलोसहित सामूहिक रूपमा भेला भएर गरिने शुभकामना आदानप्रदानलगायतका कार्यक्रम नगर्न/नगराउन निर्देशन दिइसकेको छ ।
सोमबार साँझसम्म ताप्लेजुङ, धनकुटा, सुनसरी, उदयपुर, रौतहट, तनहुँ, गोरखा, नुवाकोट, धादिङ, कास्की,बागलुङ, रुकुमपूर्व, जुम्ला, मुगु, सुर्खेत, रुपन्देहीलगायतका जिल्ला प्रशासन कार्यालयहरूले सार्वजनिक सूचना नै जारी गरेर देउसी-भैलोमा रोक लगाएका हुन् ।
यस्तै, कर्णाली प्रदेशको विपद् व्यवस्थापन केन्द्रले प्रदेशभरि नै देउसी-भैलोमा रोक लगाउने निर्णय गरेकाले त्यो प्रदेशका बाँकी जिल्लाले पनि सूचना जारी गर्ने तयारी गरेका छन् भने ताप्लेजुङ, झापासहितका केही जिल्लाका केही स्थानीय तहले संक्रमणको स्तर हेरेर आफ्नो क्षेत्रमा देउसी-भैलोसहितका गतिविधिमा रोक लगाएका छन् ।
जिल्ला प्रशासन कार्यालयहरूले बढ्दो कोरोना संक्रमणविस्तरका कारण देउसी-भैलोमात्रमा रोक नलगाइ सामूहिक रुपमा भेला भएर नदी, ताल-तलाउ, पोखरीमा गरिने छठ पूजा र कात्तिक शुक्ल पूर्णिमा स्नानजस्ता गतिविधिमा समेत रोक लगाएका छन् ।
प्रायः सबै जिल्ला प्रशासनको सूचनामा भीडभाडमा संक्रमण फैलने भन्दै सामूहिक रूपमा भेला भएर गरिने पूजापाठसहितका गतिविधिमा रोक लगाइएको उल्लेख छ । यसअघिका गृहमन्त्रालयका सूचनाकै अनुशरण गर्दै पटका पड्काउन, अतिसवाजी गर्न, जुवातास खेल्न, डाइस/लंगुरबुर्जा/झन्डी बुर्जा खेल्न यस वर्ष पनि रोक लगाइएको छ ।
धादिङ जिल्ला प्रशासनले भने एक कदम अगाडि बढेर एकाघर परिवारमा बसिरहेका सदस्यबाहेक नाताकुटुम्ब, छरछिमेकीसमेत भेला-जम्मा हुन नपाइने बताएको छ । धादिङ प्रशासनको सूचनाअनुसार एकाघरमा परिवारभन्दा पर रहेका दिदीबहिनी पनि टिकाटालोका लागि माइत जान पाउने छैनन् ।
मुस्ताङ जिल्ला प्रशासन कार्यालयले भने अलिकता उदार भएर बिहानदेखि साँझ ७ बजेसम्म स्वास्थ्य सावधानी अपनाएर देउसी-भैलो खेल्न पाइने बताएको छ ।

प्रकाशित समय १८:३६ बजे

















