गृहपृष्ठ कोभिड- १९ का कारण धितोपत्रको दोस्रो बजारमा अवसर र चुनौती दुवै

कोभिड- १९ का कारण धितोपत्रको दोस्रो बजारमा अवसर र चुनौती दुवै

स्टक ब्रोकर एशोसिएशन अफ नेपालका नवनियुक्त पदाधिकारीहरुको प्रतिनिधिमण्डलले बोर्ड अध्यक्ष भिष्मराज ढुंगानासँग भेट गरेको छ । प्रतिनिधिमण्डलको नेतृत्व स्टक ब्रोकर एशोसिएशन अफ नेपालका नवनियुक्त अध्यक्ष सन्तोष मैनालीले गरेका थिए ।

बोर्ड अध्यक्ष ढुंगानाले एशोसिएशनका नवनियुक्त पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । उक्त भेटमा नवनियुक्त अध्यक्ष मैनालीले कोभिड- १९ का कारण धितोपत्रको दोस्रो बजारमा अवसर र चुनौती दुवै आएको उल्लेख गर्दै यसबीचमा अनलाइनमार्फत कारोवार गर्ने लगानीकर्ताको संख्यामा उल्लेख वृद्धि भएको बताए । अनलाइन कारोबार बढेसँगै दोस्रो बजारको दायरा बढिरहेकोमा जोखिम व्यवस्थापन गर्दै लगानीकर्तालाई नयाँ उपकरणमार्फत लगानीको थप अवसर प्रदान गरी बजार विस्तार गर्ने चुनौती कायमै रहेको उनको भनाइ थियो । धितोपत्रको दोस्रो बजार प्रविधिमैत्री हुँदै गर्दा ट्रेड म्यानेजमेन्ट सिस्टम र यसमा निहीत जोखिम व्यवस्थापनका लागि छुट्टै संरचना र नीति ल्याई धितोपत्रको दोस्रो बजार कारोवारलाई व्यवस्थित बनाउनुपर्ने उनले विचार व्यक्त गरे ।

भेटमा स्टक ब्रोकर एशोसियशन अफ नेपालका नवनियुक्त उपाध्यक्ष धर्मराज सापकोटालगायत अन्य पदाधिकारीले धितोपत्रको दोस्रो बजार सेवालाई थप संस्थागत बनाउदै लैजान आवश्यक रहेकाले त्यसमा एशोसिएशनले विशेष भूमिका खेल्ने बताउँदै नियमन निकायको रुपमा बोर्डले दिने निर्देशनको अक्षरशः पालना गर्दै जाने र बजार विकासका लागि बोर्डबाट अभिभावकको भूमिका अपेक्षा गरेको बताए ।

अध्यक्ष ढुंगानाले धितोपत्र बजारको प्रतिष्ठा बढाउनुपर्ने र त्यसका लागि एशोसिएशनले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताउँदै ट्रेड म्यानेजमेन्ट सिस्टमलाई थप प्रभावकारी बनाई बैंक इन्टिग्रेशनको कार्य चाडै सम्पन्न गरी यसलाई लगानीकर्ताहरुले आफ्नो चाहना अनुरुपका धितोपत्र बजारका विभिन्न उपकरणमा लगानी गर्न सकिने गरी अन्तर्राष्ट्रिय स्तरको लगानीकर्तामैत्री बजार बनाउनुपर्ने बताए ।

त्यस्तै, मार्जिन कारोवारलाई विस्तार गरी धितोपत्रको तरलता प्रदान गर्ने औजारको रुपमा विकास गर्ने, ऋणपत्रको दोस्रो बजार विस्तार गर्ने, ब्रोकरको शाखा कार्यालयमार्फत दोस्रो बजारको पहुँच विस्तार गर्ने, आधिकारिक प्रतिनिधिका लागि पाठ्यक्रम विकास गरी ऐनअनुसार सो व्यवस्था प्रचलनमा ल्याउन कार्यविधि बनाउने, ब्रोकर कमिशनसम्बन्धी अध्ययन भइसकेकोमा सरोकारवाला पक्षसँग छलफल गरी अन्तिम रुप दिने लगायतका कार्य आगामी दिनमा सम्पन्न गर्नुपर्ने बताए ।

प्रकाशित समय १८:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु