गृहपृष्ठ खातामा पैसा नआएसम्म आन्दोलन रोक्दैनौँ : उखु किसान (तस्बिरहरुसहित)

खातामा पैसा नआएसम्म आन्दोलन रोक्दैनौँ : उखु किसान (तस्बिरहरुसहित)

कृषक राजेन्द्र मण्डल

उखु किसानहरु चार दिनदेखि काठमाडौँको चिसो नभनी आन्दोलनरत छन् । उखु मिलबाट पैसा नपाएपछि आन्दोलन गर्न सर्लाहीबाट आइपुगेका उनीहरुले सरकारलाई दबाब दिन विभिन्न कार्यक्रम गरिरहेका छन् ।

उखु किसानले बुधबार सरकारलाई दबाब बढाउन भन्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्‍याली गरे । ‘हामी सरकारसँग ठूला माग लिएर आएका होइनौँ, विगतदेखि नै हाम्रो माग भनेको उखुको उचित मूल्य पाउनुपर्छ भन्ने हो तर सरकारले पटक-पटक हामीलाई झुक्यायो, हाम्रा माग सरकारले पूरा गर्छु भनेर सम्झौता गरे पनि अहिलेसम्म पूरा नगरेका कारण बाध्य भएर फेरि आन्दोलन गर्नुपरेको हो,’ आन्दोलनमा सहभागी उखु किसानहरुले एक स्वरमा भनिरहेका छन् ।

सरकारले मंगलबारमात्रै किसानहरुको पैसा नदिने उखु मिलका सञ्चालकलाई तुरुन्तै कारबाहीको दायरमा ल्याउन निर्देशन दिएको छ । तर, किसानहरु सरकारको यो निर्देशनमा सन्तुष्ट भएर आन्दोलन रोक्न तयार छैनन् । उनीहरु जबसम्म आफ्नो खातामा पैसा आउँदैन तबसम्म आन्दोलन जारी राख्ने बताउँछन् ।

आन्दोलनमा सहभागी ७० वर्षीय राजेन्द्र मण्डलले सरकारको यो निर्णयमा ढुक्क हुनसक्ने अवस्था नभएको बताए । ‘यसभन्दा अगाडि पटक-पटक निर्णय र सम्झौता नभएका होइनन्, हामीले पनि सरकारलाई विश्वास गरेका थियौँ तर आजसम्म भुक्तानी पाएनौँ, अब पैसा नलिई घर फर्कंदैनौँ,’ उनले भने । चार दिनयता गौशालामा बस्दै आएका उनले सर्लाहीबाट ऋण लिएर काठमाडौँ आएको बताए । ‘उखुको पैसा नपाउँदा बालबच्चा खुवाउन, पढाउन र साहुको ऋण तिर्न सकेको छैन,’ मण्डलले भने । उनले ७४ सालदेखि उखुको ३ लाख भुक्तानी पाएका छैनन् ।

अर्का कृषक अनिलकुमार यादव पनि आन्दोलनयता चिनेका साथीभाइको कोठामा बस्दै आइरहेका छन् । उखुको पैसा भुक्तानीका लागि सरकारले मंगलबार निर्देशन दिए पनि कार्यान्वयन भइनसकेकाले आन्दोलन जारी रहने उनले बताए । ‘हामी भुक्तानी लिन आएका हौँ, जबसम्म हाम्रो भुक्तानी हुँदैन, तबसम्म आन्दोलन गरिरहन्छौँ,’ उनले भने । सरकारले एक वर्षअघि सम्झौता गरेर एक महिनाभित्र पैसा दिन्छु भने पनि हालसम्म नपाइएकाले यसपटक विश्वास गर्ने आधार नरहेको उनको भनाइ छ ।

सरकारले दिने अनुदान पनि बिचौलियाले मात्र पाउने गरेको उखु किसानको गुनासो छ । ‘बाध्यताले मिटर ब्याजमा ऋण गरेर खेती गर्नुपर्ने स्थिति छ,’ मण्डलले भने, ‘किसानको बाँच्ने आधार नै कृषि भएकाले सरकारले वास्तविक किसान चिनेर कार्यक्रम लागू गर्नुपर्छ तर नेपालमा त्यो भएको छैन ।’ चार वर्षसम्म उखुको भुक्तानी नपाउँदा लिएको ऋण चुक्ता गर्न घरजग्गा बेच्नुपर्ने स्थिति आएको उनले सुनाए ।

उखु किसानले गत वर्ष पुसमा पनि काठमाडौं आएर आन्दोलन गरेका थिए । सरकारले २०७६ साल पुस १८ गते पाँच बुँदे सहमति गरे पनि कार्यान्वयन नभएपछि उखु किसान पुनः आन्दोलित भएका हुन् ।

प्रकाशित समय १५:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु