गृहपृष्ठ मेनपावर नभई ‘एजेण्ट’सँग बढी आर्थिक कारोबार

मेनपावर नभई ‘एजेण्ट’सँग बढी आर्थिक कारोबार

किरण भट्टराई । सप्तरी । जिल्लाबाट वैदेशिक रोजगारीमा जाने अधिकांश कामदारले मेनपावरसँग सोझै आर्थिक कारोबार नगरी स्थानीय ‘एजेण्ट’सँग गर्ने गरेको पाइएको छ । वैदेशिक रोजगारीको क्रममा पीडित भएका र जाने तयारीमा रहेका अधिकांशले आफूले मेनपावरलाई नभई जिल्लाकै एजेण्टलाई पैसा बुझाएको बताएका छन् ।
डाक्नेश्वरी नगरपालिकाका कुशेश्वर मुखियाले मलेसियामा राम्रो काम र तलबको अवसर आएको भन्दै प्रलोभनमा पारेपछि खड्कपुर नगरपालिकाका दिलीपकुमार दासले उनलाई दुई वर्षअघि रु एक लाख ५० हजार दिए । विदेश जाने भन्दै पटकपटक काठामाडौँ पनि पुगे । स्वास्थ्य परीक्षणलगायत प्रक्रिया पूरा गरेपनि उहाँको विदेश जाने मेलो भने मिलेन । पछि एजेण्टले मलेसियाको भएन, कतार पठाइदिन्छु भन्दै उनलाई झुलाइरह्यो । पछिल्लो डेढ वर्षदेखि एजेण्ट मुखिया सम्पर्कमा आउन छोडेको दास बताउँछन् ।
उनले भने, ‘डेढ वर्षदेखि उसको फोन पनि लाग्दैन, भेट पनि भएको छैन । उसको श्रीमतीले समेत दुई वर्षदेखि श्रीमान्सँग भेट भएको छैन भन्छिन् ।’ उनीजस्तै सुन्दर दाससँग पनि उनै मुखियाले मलेसिया पठाउने भन्दै रु एक लाख ५० हजार लिएका छन् । विदेश जानका लागि काठमाडौँमा आएर स्वास्थ्य परीक्षण गर्दा दास अनुतीर्ण हुनुभयो । एक महिना औषधि खाएर अर्को पटक जाँच गर्दा उत्तीर्ण होइन्छ भन्दै एजेण्ट मुखियाले उनँलाई गाउँमा पठाए । त्यसपछि औषधि खाएर स्वास्थ्य परीक्षण गर्न खोज्दा पनि एजेण्ट मुखियासँग भेट हुन सकेको छैन । नत उनले रु डेढ लाख रकम फिर्ता पाउन सकेका छन् ।
रुपनी गाउँपालिका–६ वनपोखरीका अनिल यादव र उनका भाइ राम दयाल यादवलाई स्थानीय खेरबबानाका एजेण्ट मोहम्मद उस्मान मियाले रु एक लाख ४५ हजारका दरले रु दुई लाख ९० हजार लिएर मलेसिया पठाए । उनलाई अल्मुनियमको झ्याल ढोका बनाउने काम भनिए पनि मलेसिया पुगिसकेपछि फलाम काट्ने काममा लगाइयो । वैशाख २८ गते मलेसिया गएका उनीहरु भनेअनुसारको काम नपाएपछि जेठ २९ गते नेपाल फर्किए । फर्कदा थप रु एक लाखभन्दा बढी रकम तिर्नुप¥यो ।
आफूहरुलाई पठाउने कलंकीस्थित खोजी मेनपावरमा गएर कुरा गर्दा पैसा जसलाई दिएको हो त्यहीसँग माग्नु भन्दै उनीहरुलाई फिर्ता पठाइयो । एजेण्ट मियालाई भेट्दा अर्को ठाउँमा पठाइदिन्छु थप रु ५० हजारका दरले रकम तिर्नुपर्ने भने । उनीहरुले विदेश नजाने भन्दै पहिले जाँदा लागेको रकम फिर्ता दिन आग्रह गरे । एजेण्ट मियाले त्यसपछि उनीहरुको फोन उठाउनै छाडे । अहिले सम्पर्कमै छैनन् । सय कडा तीन ब्याज तिर्ने गरी ऋण लिएका उनीहरुले ब्याज र साँवाले चेप्दै लगेको छ । यस्तै रुपनीकै जीतेन्द्र यादवले विदेश जाने भन्दै गत वैशाखमा रु एक लाख ५० हजार उस्मान मिया र आनन्द चौधरीलाई दिए ।
पछि घरायसी कारणले उनले नजाने बताएपछि रु ४९ हजार फिर्ता पाए भने बाँकी रु एक लाख एक हजार अझै फिर्ता पाएका छैनन् । यी त भए प्रतिनिधि घटनामात्रै । जिल्लाबाट जाने प्रायः सबैले काठमाडौँ आउनु अघि नै एजेण्टलाई रकम दिने गरेका छन् । यसरी रकम दिँदा उनीहरुले कुनै कानूनी कागज गर्ने गरेका छैनन् । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ विशेष गरी मधेशी समुदायका व्यक्तिले विदेश जाँदा मेनपावरलाई भन्दा स्थानीय एजेण्टलाई बढी विश्वास मान्ने गरेको बताउँछन् । उनले भो, ‘भाषाका कारण पनि होला, उनीहरुले गाउँघरतिरकै एजेण्टलाई पत्याउँछन् । हामीले पैसा माग्दा दिँदैनन्, एजेण्टलाइनै दिन्छु भन्छन् ।’
नचिनेको मेनपावरका मान्छेभन्दा केही भइहालेमा स्थानीय एजेण्टसँग रकम उठाउन सजिलो हुन्छ भन्ने मनोविज्ञानले पनि काम गरिरहेको उनको भनाइ छ । सुरक्षित आप्रवास परियोजना (सामी)का जिल्ला संयोजक रामप्रवेश मण्डलले एजेण्ट गाउँघरकै हुने र पुरानो चिनजान हुने भएकाले विश्वासका कारण उसैलाई रकम दिने गरेको पाइएको बताए । एजेण्टले पनि शुरुदेखि नै रकम आफैँलाई दिनुपर्छ भन्दै कामदारलाई फकाउने गरेको भेटिएको मण्डल बताउँछन् । यसरी विचौलियासँग आर्थिक कारोबार गर्दा कानूनीरुपमा कामदार कमजोर बनिरहेको हुन्छ ।
कानूनीरुपमा कागज नगरेकै कारण उसले आफूले दिएको रकम फिर्ता पाउने सम्भावना न्यून रहन्छ । आफूले बुझाएको रकमको कागज गरेर मात्रै कामदारले मेनपावरलाई रकम बुझाउनुपर्ने सन्देश प्रवाहलाई सशक्तरुपमा पु¥याउन आवश्यक छ । सो व्यवहार कार्यान्वयनमा आउनसकेमा वैदेशिक रोजगारीसम्बन्धी ठगीका आधाभन्दा बढी समसया समाधान हुन सक्छन् । कामदारलाई भोलि कुनै समस्या परेमा सहजै क्षतिपूर्ति र उद्धार हुनसक्ने सरोकारवाला बताउँछन् । रासस

प्रकाशित समय ०९:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु