गृहपृष्ठ दस्तावेज लेखन कार्यमा जुट्दै माओवादी–एमाले

दस्तावेज लेखन कार्यमा जुट्दै माओवादी–एमाले

काठमाडौं, १३ फागुन । पार्टी एकताको तयारीमा रहेका एमाले–माओवादी केन्द्रले भोलिदेखि सैद्धान्तिक प्रतिवेदन कार्य सुरु गर्ने भएका छन्।  माधव नेपाल संयोजकत्वको बैचारिक दस्तावेज निर्माण सम्बन्धी आजको बैठकले भोलिसम्म दुबै पार्टीका सबै दस्तावेज संकलन गरेर दस्तावेज लेखन कार्य सुरु गर्ने निर्णय गरेको हो।
माओवादी केन्द्रको पेरिसडाँडास्थित कार्यालयमा बसेको बैठकले संयुक्त दस्तावेज लेखनका लागि ४ सदस्यीय उपसमितिको निर्माण समेत गरेको छ। उपसमितिमा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र देव गुरुङ सदस्य छन् भने एमालेबाट भीम रावल र प्रदीप ज्ञवाली सदस्य तोकिएको कार्यदलका सदस्य एमाले नेता प्रदीप ज्ञवालीले बताए।
बैठकले दुबै पार्टीका सबै दस्तावेज भोलिसम्म संकलन गरेर अध्ययन गरी प्रतिवेदन लेखन कार्य सुरु गर्ने निर्णय गर्दै संकलन गर्नुपर्ने दस्तावेजहरुको सूची समेत तयार पारेको छ। माओवादी नेता शक्ति बस्नेतका अनुसार, संकलन गर्नुपर्ने एमालेका दस्तावेजहरुमा जनताको बहुदलीय जनवाद ९जबज० उल्लेख भएको पाँचौं महाधिवेशनको प्रतिवेदन लगायत त्यसयताका महाधिवेशनका प्रतिवेदन छन्।
यसैगरी माओवादी केन्द्रले माओवाद, एक्काइसौं शताब्दीको जनवाद, हेटौंडा महाधिवेशनका प्रतिवेदन लगायतका दस्तावेज संकलन गर्नेछ। ‘प्रतिवेदन संकलनपछि उपसमितिमा रहनु भएका नेताहरुले प्रतिवेदन लेखन कार्य थाल्नुहुनेछ’ नेता बस्नेतले भने, ‘२५ फागुनको समससीमा भएकाले त्यसै अवधिभित्र प्रतिवेदन तयार गरिसक्ने निर्णय भएको छ।’ कार्यदलको अर्को बैठक १७ फागुनमा हुने भएको छ।

प्रकाशित समय ११:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु