गृहपृष्ठ सरकार दुई तिहाइ समर्थन जुटाउन कसरत फोरमले ३ मन्त्रालयको दाबी
सरकार दुई तिहाइ समर्थन जुटाउन कसरत फोरमले ३ मन्त्रालयको दाबी
काठमाडौं १८ फागुन । सरकारलाई दुई तिहाइ समर्थन जुटाउने कसरतमा रहेको वाम गठबनधनले संघीय समाजवादी फोरमसँग भोली सहमति गर्ने भएको छ । फोरमले उठाउँदै आएको माग पूरा गर्नका लागि आपसी सहमतिमा संविधान संसोधन गर्ने गरी सहमति हुन लागेको हो । दुवै पक्षबीच सैद्धान्तिक सहमतिको खाकामा सहमति भइसकेको र औपचारिक रुपमा हस्ताक्षर गर्न मात्रै बाँकी रहेको एमाले नेता सुवास नेम्वाङ्ले जानकारी दिनुभयो ।फोरम अध्यक्ष उपेन्द्र यादव होलीका लागि तराई गएकाले भोली उहाँ फर्किएपछि छलफल अघि बढ्ने र सहमति हुने नेम्वाङले बताउनुभयो । सैद्धान्तिक सहमति गर्न फोरम सहमत भएपनि मन्त्रालय भागवण्डामा कुरो अड्किएको बाम गठबन्धनका नेताहरुको भनाई छ । उनीहरुका अनुसार फोरमले कम्तीमा ३ मन्त्रालय दाबी गरेको छ भने गठबन्धनले दुई वटा मात्रै दिन सकिने बताएको छ ।
मन्त्रालयको संख्या घटाएर १७ मा झारिएको र गठबन्धनबीच भागवण्डा भइसकेकाले दुई भन्दा बढी मन्त्रालय दिन नसकिने गठबन्धनको तर्क छ । भोली बेलुकी सहमति भएमा पर्सि आइतबारसम्म मन्त्रीपरिषदले पूर्णता पाउने नेता नेम्वाङले बताउनुभयो । फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका ओलीले १४ गते चार मन्त्री थपेर दोस्रो पटक मन्त्रीपरिषद विस्तार गर्नुभएको थियो । फोरमलाई पनि सहभागी गराउने प्रयास गर्दा मन्त्रीपरिषद विस्तारमा ढिलाई भएको हो ।
प्रकाशित समय ०८:५६ बजे