गृहपृष्ठ नौ घण्टापछि ग्यास उद्योगको आगो नियन्त्रणमा

नौ घण्टापछि ग्यास उद्योगको आगो नियन्त्रणमा

वीरगञ्ज महानगरपालिका २२ रघुनाथपुरको पटेलनगरस्थित सुपर ग्यास उद्योगमा बुधबार बिहान आगलागी हुँदा घाइते भएकाहरुको काठमाडौँको वीर अस्पतालस्थित ट्रम्मा सेन्टरमा उपचार गरिँदै । तस्बिर : रोशन सापकोटा, रासस

पर्सा, ५ पुस (रासस) : सुपर ग्यास प्रालि उद्योगमा लागेको आगो नौ घण्टापछि नियन्त्रणमा आएको छ ।  

वीरगञ्ज उपमहानगरपालिकाको वडा नं २३ सुगौली विर्तामा रहेको सुपर ग्यासमा आज बिहान ६ बजेदेखि लागेको आगो अपराह्न २ बजे मात्रै नियन्त्रणमा लिन सकिएको होे ।

स्थानीय बासिन्दा, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपालको विभिन्न जिल्ला तथा सीमावर्ती भारतीय सहर रक्सौलबाट आएका बारुणयन्त्रको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले जानकारी दिए ।

उहाँले फायर एक्स्टिंग्युजरको सहयोगमा स्थानीय बासिन्दाले उद्योगभित्र रहेका ग्यास बुलेटको आगो निभाएपछि बाँकी स्थानमा लागेको आगोलाई अमलेखगञ्ज तथा रक्सौलबाट आएका रसायनयुक्त बारुणयन्त्रको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको बताए ।

उहाँका अनुसार ग्यास उद्योग नजिकैको खेतबाट दुई व्यक्तिको शव फेला परेकोे छ र मृतकको परिचय खुल्न सकेको छैन ।

वीरगञ्ज महानगरपालिकाको बारुणयन्त्रका दुई जना कर्मचारी सम्पर्कविहीन भए पनि मृतक उनीहरु नै भएको भन्ने यकिनका साथ भन्न नसकिने उनले बताए ।

आगलागीबाट उद्योगमा भएको क्षतिको विवरण तत्काल यकिन गर्न नसकिएको स्थानीय प्रशासनले जनाएको छ ।

उद्योगका लागि भारतबाट आयात गरिएको खाना पकाउने एलपिजी ग्यास अनलोड गर्ने क्रममा ग्यास चुहिएको र सोही ग्यासलाई नियन्त्रण गर्न घटनास्थल पुगेको बारुणयन्त्रको इञ्जिनबाट आगो सल्की आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको स्थानीय प्रशासनले जनाएको छ ।

आगो निभाउन पुगेको बारुणयन्त्रका अग्नि नियन्त्रक मधुसूदन मिश्र र यादवप्रसाद अधिकारी सम्पर्कविहीन रहेका छन् भने उक्त घटनामा परी बारुणयन्त्रका चालक अरुणकुमार महतो र अग्नि नियन्त्रक संजीव नेपाल गम्भीर घाइते भएका छन् ।

घाइते दुवै जनालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको र उनीहरुको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

आज बिहान ४:३० बजेको समयमा उद्योगका कर्मचारीले भारतबाट ल्याइएको खाना पकाउने ग्यासलाई उद्योगको मूल भण्डारण गर्ने ट्यांकीमा अनलोड गर्ने क्रममा ग्यास चुहिएको अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित समय १७:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु