गृहपृष्ठ गाउँपालिकामा प्रधानाध्यापक कार्यालय सहयोगी

गाउँपालिकामा प्रधानाध्यापक कार्यालय सहयोगी


सल्यान । करीव आठ वर्ष विद्यालयमा प्रधानाध्यापक भएर काम गर्नुभएका हेमन्तबहादुर थापा अहिले गाउँपालिकामा कार्यालय सहयोगी भएका छन् । विद्यालयमा पढाउदा तलब नै नपाएपछि दार्मा गाउँपालिका–४ भल्चौरका उनी दार्मा गाउँपालिकामा कार्यालय सहयोगी भएका हुन् ।
दार्मा–४ मा रहेको वाल कल्याण प्राथमिक विद्यालयमा २०६६ सालदेखि निजी स्रोतमा पढाइरहेका थापाले दुइ वर्षदेखि तलब नपाएपछि गाउँपालिकामा कार्यालय सहयोगीमा काम गर्न थालेको बताए । विसं २०६६ मा रु एक हजार २०० तलब लिएर पढाउन शुरु गरेका उनी २०६९ सालमा प्रधानाध्यापक भएका थिए ।
‘थोरै भए पनि तलब आउँछ भनेर काम गरेँ तर दुई वर्षदेखि त्यही तलब नपाएपछि बाध्य भएर विद्यालय छोडे,’ थापाले भने । प्रधानाध्यापक नै गाउँपालिकामा गएपछि विद्यालयमा पठनपाठन अवरुद्ध भएको छ । एकतीस विद्यार्थी रहेको विद्यालयमा अब एकजना बालविकास सहयोगी कार्यकर्ताको भरमा मात्रै सञ्चालन भइरहेको छ ।
स्थायी दरबन्दी नरहको उक्त विद्यालयमा स्थानीयले दिने चन्दाको भरमा विद्यालय चल्दै आएको बालविकास सहयोगी कार्यकर्ता निरा बुढाथोकीले जानकारी दिए । ‘पहिले दुई जना शिक्षक थियौँ प्रधानाध्यापक नै विद्यालय छोडेर जानु भयो अब मलाई समस्या भएको छ,’ सहयोगी कार्यकर्ता बुढाथोकीले भने, ‘जिल्ला शिक्षा कार्यालयले पहिले पिसिएफको पैसा पनि दिन्थ्यो यो वर्ष दिएको छैन न त स्थानीयले चन्दा नै उठाउँछन् ।’

प्रकाशित समय १०:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु