गृहपृष्ठ यसकारण भारतसँग नहुने भयो नयाँ सम्झौता

यसकारण भारतसँग नहुने भयो नयाँ सम्झौता

काठमाडौँ — परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा नयाँ सम्झौता नहुने बताएका छन् । भ्रमण पुराना सम्झौतालाई नै अगाडि बढाउने विषयमा केन्द्रित हुने र संयुक्त विज्ञप्ति नै सकेसम्म छोटो बनाइने उनको भनाइ छ ।

भारतका तर्फबाट घोषणा भएमा भने आवश्यकता र सहयोगको प्रकृति हेरेर स्वीकार गर्न सकिने उनको भनाइ छ । कतिपय विषय प्रबुद्ध व्यक्ति समूह (ईपीजी) मा पनि छलफल भइरहेको र त्यो सकारात्मक चरणमा रहेको मन्त्री ज्ञवालीले बताए । सीमा तथा जलविद्युत् परियोजनाबारे पनि भ्रमणमा छलफल हुने उनले बताए । सुस्ता र कालापानीको विवाद नसल्टेसम्म सरकारले हस्ताक्षर नगर्ने उल्लेख गर्दै ज्ञवालीले भने, ‘सीमाका विषयमा हामी सचेत हुनैपर्छ । अन्य सहकार्य पनि विनविनमा हुनेछ ।’

खासगरी भारतले दिने र नेपालले लिने भन्ने परिभाषा नै त्याग्नुपर्ने उनको धारणा छ । ‘नेपालमा जति भारतीय छन्, त्यति नै वा थोरै मात्र बढी नेपाली भारतमा होलान् । भारतमा जति रकम नेपालबाट जान्छ, त्यति रकम भारतबाट नेपाल भित्रँदैन,’ उनले भने, ‘यसैले हामी दिने र लिनेभन्दा पनि एकअर्कामा इन्टरलिंक भएका मुलुक हौं ।’

दुई देशबीच रहेका विवाद सम्बोधन गर्दै विकासमा सहकार्य गरिने उनले बताए । उनले संविधानअघि र संविधानपछिको नेपाललाई ख्याल गरेर सम्बन्ध अघि बढाउनुपर्नेमा जोड दिए । भारतसँग सुध्रिँदो सम्बन्ध थप राम्रो हुनेमा विश्वास व्यक्त गर्दै ज्ञवालीले भने, ‘हामीलाई भारत जति चाहिन्छ, भारतलाई पनि हामी उति नै आवश्यक छ । यो सन्देश दिएर हामीले सम्बन्धको व्याख्या र सोच नै परिवर्तन गर्न आवश्यक छ ।’ यतिबेला प्रधानमन्त्रीको भारत भ्रमण हुन लागेको र केही समयपछि अर्को छिमेकको पनि भ्रमण हुने उल्लेख गर्दै मन्त्री ज्ञवालीले भने, ‘उताबाट पनि नेपालतर्फ भ्रमण गराउनेछौं । एकोहोरो भ्रमणमा मात्र हामी निर्भर हुँदैनाैं ।’

भारत तथा चीनसँग रोकिएका परियोजना र सहकार्यलाई ती देशसँगैका छलफलबाट अघि बढाइनेसमेत उनले बताए ।‘हामी कूटनीतिक सम्बन्धलाई ४ भागमा विभाजन गरेर काम गर्नेछाैं । पहिलो दुई छिमेकीसँंगको सम्बन्ध, दोस्रो दाता मुलुक, तेस्रो दुईपक्षीय तथा बहुपक्षीय अन्तर्राष्ट्रिय मञ्च र चौथो नेपालीहरू रोजगारीमा गएका मुलुकहरू (पश्चिम एसियालगायत) लाई सम्बोधन गर्ने गरी काम गर्नेछौं ।’ छिमेकसँग असल सम्बन्ध राखेरै मुलुक अघि बढाउने नीति सरकारको रहेको उल्लेख गर्दै उनले भने, ‘भारत जाँदा चीन र चीन पुग्दा भारतको कुरा होइन । दुवैसित नेपालको कुरा गरेर हामी अघि बढ्नेछौं । हामी उनीहरूको प्रतिस्पर्धामा पर्ने होइन ।’ छिमेकीहरूलाई नेपालको नीतिमा विश्वस्त पार्ने र यहाँको भूमि उनीहरूविरुद्ध वा एकअर्कामा उपयोग हुन नदिने उनले बताए ।

प्रकाशित समय ०९:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु