गृहपृष्ठ फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। डिजेल र पेट्रोलमा प्रतिलिटर दुई/दुई रुपैयाँ मूल्य बढाएको आयल निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिनुभयो। अब पेट्रोलको मूल्य लिटरका एक सय पाँच रुपैयाँ र डिजेलको मूल्य ८५ रुपैयाँ पुगेको छ।
इन्डियन आयल कर्पोरेसन(आइओसी)बाट मूल्य बढेर आएपछि वृद्धि गरेको निगमले जनाएको छ। समायोजन गरेको मूल्य सोमबार राति १२ बजेबाट कार्यान्वनयमा आउने निगमले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएकाले मूल्य समायोजन गरेको निगमले जनाएको छ। मट्टीतेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको छ।
मूल्य समायोजन गरेपछि निगमको पाक्षिक नाफा २० करोड रुपैयाँ रहेको छ। यसअघि गत फागुन २० गते निगमले पेट्रोलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको थियो। निगमलाई अहिले पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ १० पैसा नाफा, डिजेलमा प्रति लिटर ९६ पैसा घाटा र ग्यासमा प्रति सिलिन्डर ६२ रुपैयाँ घाटा रहेको छ। मूल्य समायोजन गर्दा पेट्रोल भारतमा भन्दा २३ रुपैयाँ ६४ पैसा र डिजेल २७ रुपैयाँ ५८ पैसा नेपालमा सस्तो रहेको निगमका प्रवक्ता गोइतले बताउनुभयो ।
प्रकाशित समय ०८:११ बजे