गृहपृष्ठ त्रिपुरेश्वर–नागढुङ्गा सडक निर्माण नहुँदा स्थानीयवासी आक्रोशित

त्रिपुरेश्वर–नागढुङ्गा सडक निर्माण नहुँदा स्थानीयवासी आक्रोशित

Kalanki-Nagdhunga-sadak

काठमाडौँ, चैत २० गते । कलङ्की–नागढुङ्गा सडक निर्माण कार्यको निर्धारित ठेक्का समय सकिए पनि सडक निर्माणमा प्रगति नभएपछि स्थानीयवासी आक्रोशित भएका छन् । सो सडकखण्डका बासिन्दाले सोमबार भौतिक योजना तथा निर्माण मन्त्रालयमा गई ज्ञापनपत्र बुझाउँदै आक्रोश सुनाएका हुन् ।
मन्त्री रघुवीर महासेठले स्थानीयवासीको गुनासो सुनेर अब काममा ढिलाइको कुनै बहाना सह्य नगर्ने प्रतिबद्धता जनाउनुभयो । “यो वा त्यो बहानामा सडक निर्माण कार्य अब रोकिँदैन । मैले वैशाख ७ सम्म ठेकेदारलाई अल्टिमेटम दिएको छु । सो अवधिमा परिणाम नदेखिए कारबाही गर्छु”, मन्त्री महासेठले प्रतिबद्धता जनाउनुभयो ।
आफू मन्त्रीको जिम्मेवारीमा आएपछि सो सडकखण्ड निर्माण कार्यको अनुगमन गरेको बताउँदै मन्त्री महासेठले यसअघि जेजस्तो ढिलासुस्ती भयो, अब हामी कुनै बहानामा कसैलाई छुट दिने पक्षमा छैनौँ भन्नुभयो । “वैशाख २० भित्र भत्काउन बाँकी घरहरू भत्काउने र सोभन्दा अघि भत्केको ठाउँमा सडक कालोपत्रे गर्न निर्देशन दिएको छु”, मन्त्री महासेठले भन्नुभयो, “मन्दिरको नाममा, माथिको शक्तिको आडमा अब कसैलाई छुट दिइँदैन, मलाई रिजल्ट चाहिन्छ । ”
भत्केको घरको सरकारले नियमाअनुसार मुआब्जा र क्षतिपूर्ति प्रदान गर्ने भन्दै उहाँले त्यसको ग्यारेन्टी आपूmले लिने प्रतिबद्धता जनाउनुभयो । “जहाँ समस्या छ, त्यहीँबाट समाधानको काम सुरु गर्छु, स्थानीयवासीको कुरा सुनेर त्यसपछि नियमाअनुसार एक्सन लिन्छु”, मन्त्री महासेठले बताउनुभयो ।
सो अवसरमा काठमाडौँ–९ का सांसद कृष्णगोपाल श्रेष्ठले सडक निर्माणमा ढिलासुस्तीले लाखौँको स्वास्थ्य अवस्थामा प्रतिकूल असर परिरहेको बताउनुभयो । काठमाडौँ भित्रिने र बाहिरिने मुख्य नाका भएकाले पनि निर्माणमा ढिलाइ कुनै हालतमा सह्य नहुने उहाँले बताउनुभयो । स्थानीयवासीका तर्फबाट आफूले पनि सो कामका निम्ति दिनरात खट्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
चन्द्रागिरि–१५ का वडाअध्यक्ष उत्तमबहादुर राउतले ठेकेदारले सर्भे रिपोर्टअनुसार काम नगरी आफूखुसी गरेकाले समस्या आएको बताउनुभयो । घर भत्केको ठाउँमा समेत कामले गति लिन नसकेको गुनासो गर्दै उहाँले सडक निर्माणको ढिलासुस्तीले स्थानीयवासी सँगसँगै सो सडक भएर यात्रा गर्ने लाखौँ नागरिकले सास्ती भोगिरहेको चर्चा गर्नुभयो । ज्ञापनपत्र बुझाउँदै उहाँले आफूहरूको माग सुनुवाइ नभए दबाबको कार्यक्रम लिएर सडकमा उत्रने भन्दै मन्त्री महासेठको ध्यानाकर्षण गराउनुभयो ।
सरकारले त्रिपुरेश्वर–नागढुङ्गा सडक (१२ किमि) निर्माणका लागि २०७२ साउनमा मुख्य ठेकेदार शारदाप्रसाद अधिकारी नेतृत्वको सैलुङ कन्स्ट्रक्सनलाई ३० महिने समय तोकेर ठेक्का दिएको थियो । करिब एक अर्ब रुपैयाँको लागतमा निर्माण भइरहेको सो सडकखण्ड करिब ३० प्रतिशत सम्पन्न भएको छ ।
प्रतिनिधिसभाका सदस्य कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि टोलीले मन्त्री महासेठलाई सडक निर्माणमा लापरबाही गर्ने ठेकेदारलाई कारबाही गर्न माग गरेको छ । म्याद सकिँदासमेत ठेकेदारलाई कारबाही नहुँदा ठेकेदारको आफूखुसी देखिएको भन्दै स्थानीयवासीले काम देखाउन मन्त्री महासेठसँग आग्रह गरेका छन् ।
ज्ञापनपत्र बुझाउने सो टोलीमा सांसद वीणा श्रेष्ठ, प्रदेश ३ का सांसद केशव पोखरेल, वडा नं. १५ का वडा अध्यक्ष राउत, सदस्यहरू माधवकुमार केसी, कृपाल खड्का, स्थानीयवासी राजभाइ महर्जन, राजु महत, गोपीचन्द्र कार्की, विकास श्रेष्ठ, ललिक महर्जन, अनन्त भण्डारीलगायत करिब २५ जनाको सहभागिता थियो ।

 

प्रकाशित समय ०८:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु