गृहपृष्ठ मेडिसिटीमा पनि एक्मो उपचार सेवा

मेडिसिटीमा पनि एक्मो उपचार सेवा

ललितपुरको मेडिसिटी अस्पतालले एक्मो प्रविधिबाट उपचार सेवा सुरु गरेको छ । अस्पतालले पत्रकार सम्मेलन गरी एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिनेसन (एक्मो) प्रविधिबाट उपचार सुरु गरिएको जानकारी दिएको हो । विशेष उपचारका बिरामीको मुटु र फोक्सोको काममा अस्थायी सहयोग गर्न एक्मो उपचार पद्धतिको प्रयोग गरिन्छ ।
एक्मो प्रविधिबाट उपचारका लागि उच्चगुणस्तरीय उपकरण र दक्ष चिकित्सकको प्रबन्ध मिलाइएको महाप्रबन्धक विजय रिमालले जानकारी दिए । ‘एक्मो उपचार पद्धति हामीले सफलतापूर्वक सुरु गरेका छौं,’ उनले भने ‘अब उपचारका लागि धेरै खर्च गरेर विदेश नै जानुपर्छ भन्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्न खोज्दैछौं ।’ अन्तर्राष्ट्रियस्तरको उपचार सेवा मेडिसिटीले उपलब्ध गराउने महाप्रबन्धक रिमालले दाबी गरे ।
मेडिसिटीका मेडिकल सुपरिटेन्डेन्ट राज रानाले एक्मो प्रविधिले बाहिरी पम्पहरु र ओक्सिजनेटरको सहायताले रगतबाट कार्बनडाइअक्साइड हटाई अक्सिजनको मात्रा बढाएर रक्तसञ्चार सही बनाउन मद्दत गर्ने बताए । ‘यो उपकरण मुटु, फोक्सो वा दुवै अंगलाई सहयोग पुर्याउन सक्षम छ,’ उनले भने ।
नेपाल मेडिसिटीका विशेषज्ञ चिकित्सकहरुको पहलमा एलुमिनियम फोस्पाइड विषादियुक्त बिरामीको जीवन बचाउन विश्वव्यापी रुपमा प्रयोगमा आइसकेको महत्वपूर्ण उच्चस्तरीय उपचार सेवा एक्मो प्रविधि सुरु भएको हो । शरीरमा एलुमिनियम फोस्पाइड विषादिको मात्रा रहेका बिरामीको मृत्युदर लगभग ९६ प्रतिशत हुनेमा एक्मोको सहायताले उपचार गर्दा मृत्युदर ३६ प्रतिशतमा घटाउन सकिने चिकित्सकहरुको दाबी छ ।
सामान्यतः असम्भव जस्तै मानिने जटिल न्युमोनिया, स्वाइन फ्लु र बर्ड फ्लुका साथै पानीमा डुबेकाहरुको आकस्मिक उपचारमा धेरै ठूला राष्ट्रहरुले एक्मो उपचार पद्धतिमार्फत बिरामीको सफल उपचार गर्ने गरेका छन् । मानव शरीरका अंग प्रत्यारोपण गर्ने क्रममा मुटु, फोक्सो वा दुवैलाई चाहिने अक्सिजनयुक्त रक्तसञ्चारमा एक्मोले अस्थायी सहयोग प्रदान गर्छ ।
नेपालमा प्रारम्भिक चरणमै रहेको यो उपचार पद्धतिलाई नेपाल मेडिसिटीले सशक्त ढंगले उपयोग गर्ने भएको छ । एक्मो प्रविधिबाट उपचार गराउँदा ३ देखि ४ लाखसम्म खर्च लाग्ने अस्पतालले जनाएको छ ।

प्रकाशित समय १७:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु