गृहपृष्ठ पूँजी नपुर्याउनेलाई सहुलियत दिँदै राष्ट्र बैंक

पूँजी नपुर्याउनेलाई सहुलियत दिँदै राष्ट्र बैंक

काठमाडौं। समयभित्र चुक्ता पूँजी नपुर्याउने बैंक तथा वित्तीय संस्थाका लागि नेपाल राष्ट्र बैंकले ‘स्किम’ दिने भएको छ।  तोकिएको समयभित्र चुक्ता पूँजी नपुर्याउनेलाई कारवाही गर्ने चेतावनी दिएको राष्ट्र बैंकले उनीहरुलाई फाइदा पुग्ने गरि स्किम ल्याउन लागेको हो। ‘निर्देशन जारी गर्ने अन्तिम तयारीमा छौं। जसले पूँजी पुर्याएको छैन उनीहरुले अन्य बाटोबाट पूँजी पुर्याउन सहजीकरण गर्न लागिएको हो’ राष्ट्र बैंक नियमन विभागका एक अधिकारीले भने, ‘भोलीका दिनमा चुक्ता पूँजीमा देखाउन सकिने पैसालाई आजैदेखि चुक्ता पूँजीमा गणना गर्न मिल्ने गरि सहजीकरण गर्न लागिएको हो।’

राष्ट्र बैंकले २०७२ सालको मौद्रिक नीतिमार्फत बैंकहरुलाई चुक्ता पूँजी २ अर्बबाट ८ अर्ब पुर्याउन निर्देशन दिएको थियो। राष्ट्रिय स्तरको विकास बैंकलाई ६४ करोडबाट साढे दुई अर्ब र फाइनान्स कम्पनीलाई २० करोडबाट ८० करोड पुर्याउन निर्देशन दिएको थियो।
यो निर्देशन अनुसार धेरैजसो बैंकले हकप्रद र बोनस शेयरबाट चुक्ता पूँजी ८ अर्ब रुपैयाँ पुर्याए। विकास बैंक र फाइनान्स कम्पनीहरु मर्जरमै गएर पनि तोकिएको चुक्ता पूँजी पुर्याउन सक्षम भए।
२०७४ असार मसान्तभित्र तोकिएको पूँजी पुर्याउनु पर्ने निर्देशन थियो। तर २०७४ असार मसान्तभित्र नसक्नेलाई राष्ट्र बैंकले मर्जर वा हकप्रदको प्रकृया शुरु गरिसकेकालाई थप ६ महिना समय दिने नीति लियो। यसो हुँदा पूँजी पुर्याउने समय पुस मसान्तसम्म सर्यो। कतिपय संस्थाले साधारणसभाबाट बाँडिने बोनस शेयरबाट चुक्ता पूँजी पुर्याउने भएकाले समय दिन माग गरे। त्यसो हुँदा राष्ट्र बैंकले चैत मसान्तसम्म पर्खिने नीति लियो।
तर यस अवधिमा पनि चुक्ता पूँजी पुग्ने छाँटकाँट नदेखिएपछि ‘संस्थापकबाट हकप्रदका लागि जम्मा हुन थालेको रकम’ तथा अर्को बर्ष चुक्ता पूँजीमा देखाउन सकिने अरु कोषको रकमलाई पनि अहिलेलाई चुक्ता पूँजी सरह मान्ने नीति ल्याउन लागेको हो।
‘तरलता संकटले ऋण लगानी ठप्प भएका बेला कारवाही गर्ने अवस्था छैन’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘त्यही भएर खुकुलो हुनुको विकल्प छैन।’ उनका अनुसार चालु आर्थिक बर्षभित्र सबैले तोकिएको चुक्ता पूँजी पुर्याउन सकुन् भन्ने उद्देश्यले नै नीति ल्याउन लागिएको हो।
अहिले आधा दर्जन बाणिज्य बैंक र एक दर्जनजति विकास बैंकको चुक्ता पूँजी राष्ट्र बैंकले तोकेजति छैन। कतिपयले चुक्ता पूँजी पुर्याउनका लागि हकप्रद वितरण गर्ने प्रकृयासमेत थालेका छैनन् भने मर्जरको नीति अनुसार पनि अगाडि बढेका छैनन्।

प्रकाशित समय ०८:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु