गृहपृष्ठ हट्यो यातायात एकाधिकार, देशभर सडक परमिट खुला

हट्यो यातायात एकाधिकार, देशभर सडक परमिट खुला

काठमाडौं । यातायात व्यवस्था विभागले देशभरका यातायात व्यवस्था कार्यालयलाई जुनसुकै सडकमा अनुमति लिन आउने यातायात कम्पनीका सवारी चल्न पाउने गरी रुट इजाजत दिन निर्देशन दिएको छ । विभागले आज देशभरका सबै कार्यालयलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो ।
यो निर्देशनपछि देशभरका यातायात एकाधिकार (सिण्डिकेट) हट्ने विश्वास गरिएको छ । राजधानीकै धेरै सडकमा एउटै यातायात समितिका सवारी मात्र सञ्चालन हुँदै आएको छ । यसले यात्रु मारमा पर्ने गरेका छन् । विभागले चैत १८ गते आइतबार यातायातसम्बन्धी पुराना तीनवटा निर्देशिका कार्यविधिलाई संशोधन गर्दै छवटा नयाँ जारी गरेको थियो ।
संशोधन एवम् नयाँ जारी भएका निर्देशिका कार्यविधि बमोजिम कार्यालयलाई पत्राचार गरिएको विभागका प्रवक्ता तुलसीराम अर्यालले जानकारी दिए । विभागले नयाँ रुट परमिट लिन यातायात समितिको सिफारिश लिनुपर्ने व्यवस्था पनि हटाएकाले अब जुनसुकै कम्पनीका सवारी सबै सडकमा निर्बाध गुड्न पाउने बताए । यातायात कम्पनीलाई विभागमा पञ्जीकरण भई रुट परमिट लिन यातायात कार्यालयमा निवेदन दिन पनि विभागले आह्वान गरेको छ ।
काठमाडौंदेखि धुलीखेलसम्मको रुटबाट तोडिएको यातायात व्यवसायीको सिण्डिकेट अब देशभरी नै तोडिएको छ । काठमाडौंदेखि धुलिखेलसम्म ७ यातायात व्यवसायी संघले ३० वटा बस सञ्चालनमा ल्याएका छन् । साझा यातायात, सिटी यातायता, मेट्रो याताया र अन्नपुर्ण यातायातले सो रुटमा २० वटा बस सञ्चालनमा ल्याएका हुन् । विभागले मयुर यातायातलाई अनुमती दिएपछि व्यवसायी र विभागबीच विवाद बढेको थियो ।

प्रकाशित समय १२:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु