गृहपृष्ठ रहेनन् पूर्वस्वास्थ्य राज्यमन्त्री आलम
रहेनन् पूर्वस्वास्थ्य राज्यमन्त्री आलम

हृदयघातका कारण पूर्वस्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमको निधन भएको छ । बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय रोग अस्पतालमा उपचारको क्रममा शुक्रबार साँझ आलमको निधन भएको हो ।
गृह जिल्ला रौतहट रहेका बेला आलमलाई हृदयघात भएको थियो । अकास्मात छातीमा गाह्रो भएपछि उनलाई तत्काल हेलीकोप्टरमार्फत बिहीबार राजधानी ल्याइएको थियो । ५३ वर्षीय आलमलाई यसअघि पनि हृदयघातको लक्षण देखिएको थियो ।
अस्पतालले मृत घोषणा गर्नु केही समय पहिले प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगी आलमलाई भेटेका थिए । आलमलाई बचाउन सबै उपाय अपनाउन प्रधानमन्त्री ओलीले चिकित्सकलाई निर्देशन दिएका थिए ।
नेकपाका नेतासमेत रहेका आलमको पार्थिव शरीरलाई शनिबार विहान १० बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखिने नेकपाले जनाएको छ । त्यसपछि मुस्लीम धार्मिक विधि अनुसार आलमको अन्त्येष्टी गरिने छ ।
२०७२ कात्तिकदेखि २०७३ साउनसम्म आलम स्वास्थ्य राज्यमन्त्री बनेका थिए । तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट उनी मन्त्री बनेका थिए । गत मंसिरमा भएको संघीय संसदको निर्वाचनमा पार्टीको मुल धार नेपाली कांग्रेसमा गाभिए पछि आलम नेकपामा प्रवेश गरेका थिए । उनी रौतहट क्षेत्र नम्बर २ बाट वाम गठबन्धनबाट चुनाव लडेपनि पराजित भए ।
प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले शोक वक्तव्य जारी गरेका छन् । मोहम्मद.मुस्ताक आलमको निधनप्रति दुःख व्यक्त गर्दै पार्टीले मुस्लिम समुदायबाट उदाएको एउटा असल नेता गुमाउनु परेको ओलीलृ बताएका छन् ।
प्रकाशित समय ०८:१२ बजे