गृहपृष्ठ पोखरेली जेठोबुढो धानको माग बढ्दै

पोखरेली जेठोबुढो धानको माग बढ्दै

dhan-newskarobar फाइल तस्बिर

 

जेठोबुढो कास्कीको रैथाने धान हो । फेवातालको सिरान पामे सबैभन्दा बढी जेठोबुढो झुल्ने फाँट हो । अर्मला, आर्वा, कुँडहरका साथै लेखनाथका विभिन्न फाँटमा पनि जेठोबुढो धान पर्याप्त फल्छ ।

मगमग बास्नाका साथै स्वादिलो जेठोबुढोको माग पोखरासहित देशका प्रमुख शहरमा हुने गरेको छ । लिबर्डका प्राविधिक अधिकृत खेमराज च्वाइँ सुवेदीका अनुसार जेठोबुढोका डल्लो, लामो, ढल्ने, गाँज ठूलो हुनेजस्ता विभिन्न प्रजाति रहेका छन् ।

धेरै गर्मी र धेरै जाडो नहुने लेखनाथका खास्टे, दिपाङ, रुपालगायत तालको किनारामा पनि जेठोबुढो धान लगाउने गरिएको छ । भरत पोखरीको सुरौदी, कुर्लिङ, चवादीलगायत ठाउँका कृषक पनि विस्तारै यसतर्फ आकर्षित हुन थालेका छन् । जेठोबुढोका लागि पर्याप्त सिँचाइ आवश्यक पर्छ । सिँचाइ अभावका कारण कृषकले चाहेर पनि धेरै ठाउँमा उक्त धान फलाउन सकेका छैनन् ।

जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार कास्कीमा हाल ४८ हजार ६ सय ३३ हेक्टरमा धानखेती गरिँदै आएकामा २६ हजार ७ सय ५७ हेक्टरमा मात्र सिँचाइ सुविधा उपलब्ध छ । विजयपुर खोला, सेती नहर र बेगनास तालबाट सिँचाइ हुँदै आएको कास्कीको खेतीयोग्य जमीन ६८ हजार ९ सय ६७ हेक्टर छ । स्वादिलो र उचित मूल्य पाउने भएकाले कृषक जेठोबुढो धानतर्फ आकर्षित बनेका आर्वाका अगुवा कृषक टेकनाथ बराल बताँछन् ।

‘जेठोबुढाको बीउको माग कास्कीमा मात्र नभएर बाहिरका जिल्लामा पनि अत्यधिक छ,’ उनले भने, ‘केही वर्षयता यसको बीउ गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, बागलुङ, पर्वत, म्याग्दीलगायत जिल्लामा पुगिसकेको छ ।’ कास्कीमा जेठोबुढो धानको बीउको बिक्री मूल्य प्रतिकिलो १ सय ९० कायम गरिए पनि माग बढी भएका कारण कृषकले प्रतिकिलो २ सय ३० सम्ममा बिक्री गर्दै आएका छन् ।

लिबर्डले पोखराका विभिन्न स्थानमा फल्ने जेठोबुढोका छ वटा प्रजातिको संकलन गरी त्यसबाट सुधारिएको पोखरेली जेठोबुढोको बीउ उन्मोचन गरेको छ । लिबर्डको सहयोगमा आर्बाको नमूना प्राङ्गारिक कृषि सहकारी संस्था, फेवा बीउ उत्पादन समूह, जनसेवा एग्रोभेटलगायत संस्थाले जेठोबुढो धानको बीउ उत्पादन गर्दै आएका छन् ।

सुधारिएको पोखरेली जेठोबुढोको बीऊ कृषकका लागि २०६७ सालमा सिफारिश गरिएको थियो भने २०६८ देखि उत्पादन शुरु भएको गण्डकी प्रदेशको भूमि व्यवस्था तथा कृषि मन्त्रालयका अधिकृत प्रकाश बस्ताकोटीले बताए । जेठोबुढोको उत्पादन क्षमता प्रतिहेक्टर तीनदेखि ३.५ मेट्रिक टन रहेको छ । जेठोबुढोको चामल प्रतिकिलो १ सय ६० रुपैयाँ पर्छ भने प्रतिपाथी ६०० रुपैयाँ पर्दछ ।

जनसंख्याका आधारमा कास्कीमा वार्षिक एक लाख एक हजार टन खाद्यान्न आवश्यक पर्छ । हाल ७६ हजार टन मात्र खाद्यान्न उत्पादन हुन्छ । पछिल्ला वर्षमा जेठोबुढो झुल्ने बिरुवा फाँट, कुँडहर फाँट, लेखनाथका फाँट प्लटिङका कारण घडेरीमा परिणत भएका छन् । जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार जिल्लामा प्रत्येक वर्ष १०० हेक्टर कृषिभूमि घटिरहेको छ । शहरी क्षेत्रको लगभग ४० प्रतिशत तथा गाउँको करिब २५ प्रतिशत जमीन बाँझिएको छ ।

प्रकाशित समय १६:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु