गृहपृष्ठ राजपा नेताले भेटे राष्ट्रपति, अध्यादेश जारी गर्न माग
राजपा नेताले भेटे राष्ट्रपति, अध्यादेश जारी गर्न माग

काठमाडौँ — मधेस केन्द्रित राष्ट्रिय जनता पार्टीका नेताहरुले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई सामूहिक रूपमा भेटी राष्ट्रिय सभा सदस्यसम्बन्धी अध्यादेश जारी गर्न माग गरेका छन् ।
राजपाका ५ जना नेतालाई भण्डारीले शितल निवासमा बोलाई अध्यादेश र अन्य समसामयिक विषयमा छलफल गरेकी हुन् ।
भेटमा राजपा अध्यक्ष मण्डलमा रहेका महन्थ ठाकुर, राजेन्द्र महत्तो, राजकिशोर यादव, शरदसिंह भण्डारी र अनिल झा सहभागी थिए ।
उनीहरुले संवैधानिक अधिकार प्रयोग गर्दा राष्ट्रपति विवादमा पर्न नहुने भन्दै अध्यादेश रोक्न नमिल्ने तर्क गरेका थिए । ‘राष्ट्रियसभा सम्बन्धी अध्यादेश रोकिंदा अहिलेको संक्रमणकाल अन्त्य गर्न ढिलाई हुने तर्क हामी सबैको रह्यो’, भेटमा सहभागी नेता यादवले कान्तिपुरसँग भने ।
नेताहरुले राजनीतिक स्थायीत्वका लागि सबै जिम्मेवार हुनुपर्ने, जनताको म्याण्डेटबाट बाहिर जान नहुने भन्दै नयाँ सरकार गठन प्रक्रियाका लागि कानुनको अभाव रहेको धारणा राखेको जानकारी उनले दिए ।
राष्ट्रपति भण्डारीले भने मधेस केन्द्रित नेताहरु चुनावमा सहभागी भई विजयी बनेकोमा हर्षित हुदै बधाई प्रकट गरेकी थिइन ।
‘साथै वर्तमान राजनीतिक गतिरोध अन्तका लागि दलहरुले धैर्यता र जिम्मेवारीपन बढाउन राष्ट्रपतिज्यूले आग्रह गर्नुभयो’, भेटबारे जानकारी दिंदै राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले भने ।
प्रकाशित समय १५:२२ बजे