गृहपृष्ठ तिलोत्तमा नगरपालिकामा पुराना घरका लागि वडामै नक्सापास अभियान

तिलोत्तमा नगरपालिकामा पुराना घरका लागि वडामै नक्सापास अभियान

naksapass-newskarobar

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पुराना घरको नक्सापाससम्बन्धी सेवा वडा कार्यालयबाटै प्रदान गर्न थालेको छ । प्राविधिक टोली खटाएर नगरपालिकाले वडा कार्यालयमा नक्सापास अभियान सञ्चालन गरेको हो ।

वडा नम्बर १४ बाट सुरु गरिएको यो अभियान सबै वडा कार्यालयमा सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । नगरबासीको सुविधाका लागि पुराना घरको नक्सापाससम्बन्धी सेवा अभियान सञ्चालन अवधिभर वडा कार्यालयबाटैं प्रदान गरिने नगर प्रमुख बासुदेव घिमिरेले बताए ।

साविकका शंकरनगर, आनन्दवन, करहिया, मक्रहर, गंगोलिया, मधवलिया र टिकुलिगढ गाविस मिलेर बनेको तिलोत्तमा नगरपालिकामा नक्सा पासको प्रक्रियामा झन्डै पाँच हजार घर रहेको अनुमान छ । प्रक्रियामा रहेका यिनै घरहरुको नक्सापाससम्बन्धी कार्य वडा कार्यालयबाट हुने भएको हो । नगरपालिकाले २०७० सालभन्दा अघि बनेका घरहरुको नक्सापासका लागि गत चैतसम्म छुट सुविधा दिएको थियो ।

नगरपालिकाले सञ्चालन गरेको अभियानबाट विगतमा घर बनाए पनि नक्सापास नगरेका वा घर बनाएर सम्पन्न प्रमाणपत्र नलिएका तर प्रक्रियामा रहेका नगरबासी लाभान्वित हुनेछन् । नगर प्रमुख बासुदेव घिमिरेले वडा नम्बर १४ की कल्पनीदेवी थारु, शिवप्रसाद थारु र बेचुप्रसाद थारुलाई घर सम्पन्नताको प्रमाण पत्र दिएर सुरु गरेको यो अभियान वडा नम्बर १३ मा लगत्तै सञ्चालन हुनेछ ।

नगर प्रवक्ता सुरेन्द्र श्रीका अनुसार बिहीबार र शुक्रबारबाहेक अन्य दिनमा नगरपालिकाको प्राविधिक टोलीले अभियान नसकिँदासम्म सम्बन्धित वडामा नै रहेर सेवा प्रवाह गर्नेछ । १४ नम्वर वडा अध्यक्ष सोहनप्रसाद थारुले घर नक्साको काम वडाबाट हुँदा सेवाग्राहीलाई धेरै राहत मिलेको बताए । इन्जिनियर मनिष खनालले यो अभियानबाट प्रक्रियामा रहेका झन्डै ८० प्रतिशत घरको नक्सापास सम्पन्न हुने विश्वास व्यक्त गरे ।

प्रकाशित समय २०:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु