गृहपृष्ठ सैन्य अभ्यासमा नजाने नेपालको निर्णयले भारतमा हंगामा
सैन्य अभ्यासमा नजाने नेपालको निर्णयले भारतमा हंगामा
भारतीय मिडिया भन्छन्- स्वार्थमा ठेस पुग्यो
बिमस्टेक सदस्य राष्ट्रका सेनाबीच भारतमा तय भएको संयुक्त सैन्य अभ्यासमा नजाने नेपालको निर्णयले भारतलाई झड्का दिएको छ । अन्तिम समयमा नेपालले रद्द गरेको निर्णयलाई भारतीय मिडियाले प्राथमिकतासाथ प्रकाशन गर्दै ‘भारतलाई ठूलो झड्का लागेको’ टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षा मन्त्रालयमार्फत सैन्य अभ्यासमा सहभागी नहुन निर्देशन दिएपछि भारतीय मिडियामा यो विषयले सनसनी मच्चिएको छ । ‘सार्कलार्ई निष्क्रिय पार्दै बिमस्टेक सदस्य राष्ट्रलाई आफूअनुकूल राख्न खोज्ने भारतको चाहनामा ठेस पुगेको’ भारतीय मिडियाको टिप्पणी छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास ‘बिमस्टेक’ सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त सैन्य अभ्यासको प्रस्ताव राखेका थिए ।
भारतकै मुख्य चाहनामा सोमबारबाट हुने भनिएको सो अभ्यासमा नेपाल सहभागी नभएपछि यसको चर्चा चुलिएको हो । नेपालको निर्णयलाई भारतीय मूलधारका मिडियाले प्राथमिकताका साथ प्रकाशन तथा प्रसारण गर्दै भारतलाई झड्का दिइएको टिप्पणी गरेका छन् । पहिले सहमति जनाएर पछि नजानु कमजोर कूटनीति भनेर केहीले टिप्पणी गरेका छन् भने केहीले ढिलै भए पनि नेपालले गरेको निर्णय सही भएको धारणा दिएका छन् ।
भारतीय मूलधारको अनलाइन पत्रिका खबर एनडीटीभीले शीर्षकमै नेपालले भारतलाई झट्का दिएको उल्लेख गरेको छ । एनडीटीभीमा ‘पड़ोसी नेपाल ने दिया भारत को झट्का, ऐन मौके पर सैन्य अभ्यास में शामिल होने से इनकार’ अर्थात् ‘छिमेकी नेपालले भारतलाई दियो झट्का, अन्तिम समयमा आएर सैन्य अभ्यासमा सहभागी नहुने निर्णय’ शीर्षकमा समाचार प्रकाशित छ ।
नेपालले आन्तरिक राजनीतिक विवादका कारण सैन्य अभ्यासमा सहभागी नहुने निर्णय गरेको एनडीटीभीले आफ्नो समाचारमा जनाएको छ । समाचारमा लेखिएको छ ‘एक राजनीतिक विवाद के बाद नेपाली सेना ने भारत में होने जा रहे बिम्सटेक के पहले सैन्य अभ्यास में हिस्सा नहीं लेने का फैसला किया है ।’
यस्तै भारतको चर्चित खबर ‘फस्र्ट पोस्ट’ले राजनीतिक विवादका कारण नेपालले सैन्य अभ्यास रद्द गरेको उल्लेख गरेको छ । ‘संयुक्त सैन्य अभ्यासमा सहभागी हुने विषयमा नेपालमा बढेको राजनीतिक विवाद नै यसको प्रमुख कारण हो,’ फस्र्ट पोस्टमा उल्लेख छ ।
त्यस्तै ‘द इकोनोमिक टाइम्स’ले पनि नेपालले कूटनीतिमा भारतलाई नटेरेको आशयको खबर प्रकाशित गरेको छ । यद्यपि, उसले सत्तारुढ दलबीच नै विवाद भएकाले सैन्य अभ्यासमा नआएको बताएको छ । द इकोनोमिक टाइम्सले ‘सत्तारुढ दल नेकपाका सांसद नै संयुक्त सैन्य अभ्यासको विपक्षमा उभिएको र विपक्षी पनि सरकारको आलोचनामा उत्रिएपछि नेपाल सरकारपछि हटेको’ समाचारमा जनाएको छ ।
त्यस्तै ‘द इन्डियन एक्सप्रेस’ले प्रधानमन्त्री ओलीको मौखिक निर्देशनमा सैन्य अभ्यास रोकिएको भनेर लेखेको छ । राजनीतिक वृत्तमा भारतले भनेको नेपालले मान्ने चर्चा भइरहँदा ‘नेपालले भारतलाई अस्वीकार गर्न सक्ने सामथ्र्य राखेको’ इन्डियन एक्सप्रेसको आशय छ । सैन्य अभ्यासमा सहभागी नहुने खबरलाई प्राथमिकताका साथ प्रकाशन गर्दै ‘द इन्डियन एक्सप्रेस’ले लेखेको छ– बिमस्टेकको एउटा उद्देश्य आतंकवाद र अन्तरदेशीय अपराध नियन्त्रण गर्नु पनि हो । तर, बिमस्टेकको यही उद्देश्य र प्राथमिकतालाई आधार बनाउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जोड दिएको संयुक्त अभ्यासलाई नेपालले ठाडै अस्वीकार गरेको छ ।
सोमबारदेखि भारतको महाराष्ट्रको पुणेमा हुने भनिएको संयुक्त सैन्य अभ्यासमा बिमस्टेक सदस्य राष्ट्रका ३०–३० जना सैन्य अधिकारी उपस्थित हुने कार्यक्रम थियो । सैन्य अभ्यासमा नेपाल सहभागी नहुने भएपछि भारतमा अहिले नेपालले बिमस्टेकलाई नै अस्वीकार गरेको भन्दै खैलाबैला सुरु भएको हो ।
भदौ १४ र १५ गते काठमाडौंमा भएको बिमस्टेकको चौथो शिखर सम्मेलनको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त सैन्य अभ्यासको प्रस्ताव गरेका थिए । बिमस्टेक सदस्य राष्ट्रका प्रमुखमध्ये सबैभन्दा शक्तिशाली मानिएका मोदीको प्रस्ताव कसैले अस्वीकार गर्न सकेनन् । फलस्वरुप, पुणेमा सेप्टेम्बर १० अर्थात् सोमबारदेखि संयुक्त सैन्य अभ्यासको मिति तोकियो । तर, भारतले सार्कलाई ओझेलमा पारेर बिमस्टेकलाई महत्व दिन खोजेको बताइरहँदा यो निर्णयले राम्रो सन्देश नजाने भन्दै टिप्पणी भयो ।
भारतको चाहनामा हुन लागेको सैन्य अभ्यास चीन वा पाकिस्तानविरुद्ध हो कि भन्दै आशंका उब्जिएको थियो । नेपालमा भने सत्तारुढ दलका नेता नै खुलेरै विरोधमा उत्रिएपछि निर्णयबाट पछि हटेको हो । नेपालले सहभागी नहुने निर्णय गरेपछि थाइल्यान्ड र भुटान पनि संयुक्त सैन्य अभ्यासमा नजाने चर्चा सुरु भएको छ । थाइल्यान्डमात्रै सैन्य अभ्यासबाट बाहिरियो भने पनि भारतले नेपालकै कारण ठूलो क्षति व्यहोर्नुपर्ने देखिन्छ ।
प्रकाशित समय १९:१५ बजे

















