गृहपृष्ठ महले सबै भाँडा भरिए, मह बेच्न बजारको खोजी

महले सबै भाँडा भरिए, मह बेच्न बजारको खोजी

maha-newskarobar

पथरी । मह बेच्न मोरङका मौरीपालक किसान बजारको खोजीमा रहेको छ । उत्पादन गरेको मह बिक्री नभएपछि मौरीपालक किसान आफूले उत्पादन गरेको मह बेच्ने बजारको खोजीमा रहेका छन् । उर्लाबारी र पथरी शनिश्चरे नगरपालिकाका ८८ जना किसान व्यावसायिक मौरीपालनमा लागेपछि महको उत्पादन बढेका कारण मह बेच्ने ठाउँ नहँुदा समस्या भएको हो ।

स्थानीय बजारको मागभन्दा बढी उत्पादन भएपछि किसान घरमै मह भण्डारण गरी बजार खोज्न थालेको मेलीफेरा मौरीपालन सहकारी संस्था अध्यक्ष बोधराज खतिवडाको भनाइ छ । उर्लाबारी क्षेत्रमा मात्र यो मौसममा ९० क्विन्टल मह उत्पादन भएको संस्थाका अध्यक्ष खतिवडाले सुनाए ।

किसान रमेश खड्काका अनुसार तोरी फुल्ने मौसममा भन्दा जंगली बिरुवा फुल्ने मौसममा मह बढी उत्पादन भएको छ । एक दिन अघि मह काढ्नु भएका खड्काले घरमा धान भण्डारण गरे जसरी नै मह राखेको सुनाए ।मह यति धेरै उत्पादन भयो कि किनेर ल्याएका सबै भाडा भरिएर घरका जग, अंखोरामा पनि मह राख्नुपर्ने अवस्था छ ।”

खड्काले यो वर्ष तोरी फुलेको सिजनमा चार क्विन्टल र जंगली फूलको मौसममा दुई क्विन्टल गरी छ क्विन्टल मह उत्पादन गरेको छ । हाल २५ घार मौरी पालेका उनले गत वर्ष पाँच क्विन्टल मह उत्पादन गरेका बताए ।४ क्विन्टल बिक्री भयो । एक क्विन्टल मह मौरीलाई खुवाएर सकेँ ।”

अध्यक्ष खतिवडासँग अहिले ७० घार मौरी छन् । एक पटकमा एक घारबाट १० किलोसम्म मह उत्पादन हुने खतिवडाको भनाइ छ । अर्का किसान भोला पोख्रेलको १३ घारबाट ११४ किलो, हरि विष्टको १६ घारबाट १०८ किलो र नवीन कार्कीको १० घारबाट ८० किलो मह दुईदिन अघि मात्र काढिएको हो ।

मौरीपालन विकास शाखा, गोदावरीका प्राविधिक सहायक सुवास खनालको प्रत्यक्ष निगरानीमा मह काढेका किसान डाबर र पतञ्जलीको महको प्रयोगलाई घटाउन सरकारी स्तरबाट जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।

प्राविधिक सहायक खनालका अनुसार महलाई आगोमा पकाउनु हुँदैन, तर बहुराष्ट्रिय कम्पनीको मह ८० डिग्री तापक्रममा उमालेको हुन्छ । त्यसैले, सबै फूलबाट प्राप्त मह एकै रङको हुने हुन्छ । हरेक वनस्पतिअनुसार महको पनि फरक स्वाद र रङ हुने हुनाले स्वदेशी महको प्रयोग उपयोगी हुन्छ । गोपालप्रसाद पोखरेल

प्रकाशित समय ०७:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु