गृहपृष्ठ कतै प्रहरी बदनाम, कतै सम्मान

कतै प्रहरी बदनाम, कतै सम्मान

वैशाख ९ गते । सुनकाण्डमा तत्कालीन वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनी पक्राउ परे ।

साउन १० गते । निर्मला पन्त हत्या प्रकरणमा तत्काीलन एसपी डिल्लीराज विष्टसहितका प्रहरी अधिकारी प्रमाण नष्ट गर्ने कार्यमा संलग्न रहेको आरोपमा निलम्बनमा परे ।

साउन २० गते । बालक निशान खड्काको अपहरणकारीमाथि भएको इन्कउन्टर शंकाको घेरामा रह्यो ।

भदौ ३० गते । महानगरीय प्रहरी प्रभाग कोटेश्वर र काँडाघारीका ९ जना प्रहरी घुससहित पक्राउ परे ।

असोज २० गते । बौद्धका डीएसपी श्यामकुमार राई घुससहित पक्राउ परे । यी त ६ महिनायताका प्रतिनिधि घटनामात्र हुन् ।

अपराध तथा भ्रष्टाचारका गतिविधिमा प्रहरी अधिकारी संलग्न भएको खुलेपछि उसको भूमिकाप्रति सर्वसाधारणले शंकालु दृष्टिले हेर्न थालेका छन् । जनताको जीउधनको सुरक्षा गर्ने रक्षक नै भक्षक भएपछि उसको साख घट्दो छ ।

सन्दर्भ : प्रहरी दिवस

प्रहरीका शंकास्पद गतिविधिकै कारण सिंगो प्रहरी संगठन बदनाममात्र भएको छैन, प्रहरीको नेतृत्वकर्ताकै बर्खास्तीको माग उठेको छ । केही विद्यार्थी संगठनले महानिरीक्षक सर्वेन्द्र खनाललाई हटाउन मागसमेत गरेका छन् ।

गम्भीर प्रकृतिका अपराधका घटनाका दोषी पत्ता नलाग्नु तथा ती घटनामै प्रहरी संलग्न हुने कार्य नरोकिएपछि सर्वसाधारणले प्रहरी संगठनको विरोध गरेका छन् । सामाजिक सञ्जालमा पनि प्रहरीका क्रियाकलापको आलोचना भइरहेको छ ।

कञ्चनपुरी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा अनुसन्धान कार्य जिम्मेवारपूर्वक नगर्ने प्रहरी उपरीक्षक डिल्लीराज बिष्ट, प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी र अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट र एकेन्द्र खड्का र प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरिएको छ ।

प्रहरी अधिकारीहरु आफ्नो जिम्मेवारीबाट कतिसम्म टाढा भाग्न खोजेको छन् र उनीहरुले अपराधीलाई जोगाउन कसरी लागेकाछन् भन्ने यही एउटा घटाना हेरे पुग्छ ।

बलात्कार र हत्यामा मुछिएको प्रहरीको क्रुर अनुहारले परापूर्व कालको रक्तरञ्जित घटना स्मरण गराएको लेखक कृष्णमुरारी भण्डारी टिप्पणी गर्छन् । ‘कञ्चनपुरमा बलात्कार र हत्या तथा घरसकाण्डमा मुछिएको प्रहरीको रक्तरञ्जित क्रुर अनुहारले धर्मग्रन्थमा उल्लेख २४ सय वर्षअघिको घटनालाई स्मरण गराएको छ,’ भण्डारी भन्छन्, ‘मिथिलाका जनक वंशका अन्तिम राजा कराल जनकले एक ब्राह्मण कन्यालाई जबर्जस्ती गरेपछि उनका पिताले यस्तो पापी राजाको वंश नास होस् भनी श्राप दिएका थिए, पापी राजाविरुद्ध आन्दोलन गरेका थिए, अहिले त्यसैगरी प्रहरीका गतिविधिविरुद्ध आन्दोलन भइरहेको छ ।’

निर्मला पन्तकी आमाबाबुले पनि रक्षक नै भक्षक बनेका प्रहरीमाथि त्यस्तै श्राप दिएको देखिएको लेखक भण्डारीले तुलना गरेका छन् ।

प्रहरी आफ्नै आचरणले बदनाम बन्दै छ : पूर्वप्रहरी अधिकारी
पूर्वप्रशासक र प्रहरीका पूर्वअधिकृतहरू पनि प्रहरीको कामले नै अविश्वास बढेको बताउँछन् । आचरण खराब भएका केही प्रहरी अधिकारीले सिंगो संगठनप्रतिको हेराइ नकारात्मक बनेको पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक एआईजी देवेन्द्र सुवेदीको भनाइ छ ।

उनी भन्छन्, ‘केही प्रहरी अधिकारी आफ्नो जिम्मेवारीबाट टाढा भाग्न खोजेको जस्तो देखिन्छ । यसले समग्र्र प्रहरीकै कार्यशैलीमाथि प्रश्न उब्जिएको छ तर सिंगो संगठनलाई नै नकारात्मक रुपले हेर्न मिल्दैन ।’ तर, सर्वसाधारणको नजरमा प्रहरीका आफ्नै कामकारबाहीले साख गिरेको देखिएको उनले बताए ।

प्रहरीको साख गिर्नुमा एउटैमात्र कारण नरहेको पूर्वप्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल ठकुरीको तर्क छ । संगठनमा रहँदा १२ वर्ष पुरानो घटनाको समेत सफल अनुसन्धान गरी दोषी पत्ता लगाउन सफल ठकुरीले अहिले प्रहरीमा जिम्मेवारीबोध कम भएका आरोप लगाए । भन्छन् ‘आफ्नो जिम्मेवारी नचिन्दा अनुसन्धान गर्ने प्रहरी आफैं अनुसन्धानमा तानिन थालेका छन् ।’

फितलो चेन अफ कमान्ड तथा सरुवा बढुवा र संगठनमा राजनीतिक हस्तक्षेपले प्रहरीलाई कमजोर बनाएको उनको ठहर छ । उनी भन्छन्, ‘प्रहरीलाई स्वतन्त्र ढंगबाट काम गर्न दिनुपर्छ, माथिबाट तत्काल रिजल्ट निकाल्न दबाब दिने तथा विभिन्न किसिमका हस्तक्षेप भयो भने राम्रो रिजल्ट आउँदैन ।’

पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक मधु पुडासैनी संगठनलाई मात्रै पनि दोष दिएर उम्कन नमिल्ने बताउँछन् । प्रहरी नागरिकसँग प्रत्यक्ष जोडिएकाले सामाजिक– राजनीतिक सबै कारणले प्रहरी संगठनमा प्रभाव परेको उनको भनाइ छ । प्रहरी आमनागरिकको संस्था भएकाले बलियो बनाउनुपर्ने उनको प्रस्टोक्ति छ । पुडासैनी भन्छन्, ‘संगठनमा केही व्यक्ति गलत आचरणको हुँदैमा सबै प्रहरीको मनोबल खस्कन दिनु हुँदैन, अहिलेभन्दा मनोबल बढाउन राजनीतिक सामाजिक वातावरण सुधार्नुपर्छ ।’

साख गिरेको छैन र गिर्न दिनु हुन्न : प्रहरी अधिकारी
वरिष्ठ प्रहरी उपरिक्षक वसन्त पन्त भने प्रहरी संगठन बदनाम भएको भन्ने स्वीकार्न तयार छैनन् । संगठनभित्र केही खराब व्यक्ति हुँदैमा संगठनलाई नै बदनमा भन्न नमिल्ने उनको तर्क छ । ‘प्रहरी संगठनको मनोबल उच्च नभए, शान्ति सुरक्षा तथा अनुसन्धानको काममा प्रभाव पर्छ, त्यसैले प्ररहीलाई गालीमात्र गर्ने होइन, उसले गरेका राम्रो कामकोे पनि प्रशंसा गर्नुपर्छ ।’

प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले अहिले प्रहरीलाई मात्रै दोषी नदेखाई मूल्यांकन हुनुपर्ने बताउँछन् । वरिष्ठ प्रहरी उपरीक्षक क्षेत्री भन्छन्, ‘एकाध घटनालाई लिएर समग्र संगठनलाई विवादमा ल्याउनु हुँदैन, प्रहरीमा जसले गल्ती गर्छ, ऊ कारबाहीको भागेदार हुन्छ, यसले राम्रा प्रहरी अधिकारी धेरै छन्, प्रहरीको साख गिरेको जस्तो लाग्दैन र गिर्न दिनु हुँदैन ।’

शुद्धीकरण अभियानले सुधार्ला ?
प्रहरी संगठनमाथि आैंला उठ्न थालेपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी शुद्धीकरण अभियान थालेका छन् । प्रहरीको साख गिर्न नदिन व्यावसायिक भएर काम गर्न उनले मातहतका प्रहरी अधिकारीलाई निर्देशन दिएका छन् ।

प्रहरीले इमानदार भएर काम गरे सर्वसाधारणले प्रहरीलाई हेर्ने दृष्टिमा परिवर्तन आउने उनको भनाइ छ । प्रहरी महानिरीक्षक खनालले गलत काम गर्ने प्रहरीलाई संगठनबाट नै फाल्ने चेतावनीसमेत दिएका छन् । ‘काम गर्दै जाँदा गल्ती भए म जिम्मेवारी लिन तयार छु तर नियोजितरुपमा बदमासी गर्ने प्रहरीलाई टिपेर फाल्छु,’ केही दिनअघि एक सार्वजनिक कार्यक्रममा खनालले भनेका थिए ।

प्रहरी दिवसको कार्यक्रममा उनले गृहमन्त्री रामबहादुर थापाले अघि सारेको ८२ बुँदे गृहसुधार कार्ययोजनामा प्रहरीसँग सम्बन्धित बुँदाहरु कार्यान्वयन गर्दै प्रहरी अझ सशक्त रुपमा अघि बढ्ने बताएका छन् ।

प्रकाशित समय १३:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु