गृहपृष्ठ गभर्नर पदमा अर्थमन्त्रीका ज्वाइँको आँखा, राष्ट्र बैंकमाथि निरन्तर दबाब

गभर्नर पदमा अर्थमन्त्रीका ज्वाइँको आँखा, राष्ट्र बैंकमाथि निरन्तर दबाब

खरेलले बैंकर्सलार्इ अर्थ मन्त्रालय बोलाएर ‘गभर्नर शैली’मा दिए निर्देशन

बैंक तथा वित्तीय संस्थालाई सिधै अर्थ मन्त्रालयले निर्देशन दिन थालेको छ । नियामक राष्ट्र बैंकले निर्देशन दिनुपर्ने प्रावधानलाई मिच्दै अर्थ मन्त्रालय अघि बढेको हो । मन्त्रालयले राष्ट्र बैंकसँग हप्तैपिच्छे प्रगति विवरण माग्न थालेको छ ।

केही दिनअघिमात्रै अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्र बैंकसहित बिमा क्षेत्रको नियामक बिमा समिति र धितोपत्र बजारको नियामक धितोपत्र बोर्डलगायतका प्रमुखलाई मन्त्रालयमा बोलाएर रिपोर्ट पेस गर्न निर्देशन दिएका थिए ।

मन्त्रीले बोलाएपछि राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल, डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ, अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापा र रेगुलेसन विभागका कार्यकारी निर्देशक नारायण पौडेल अर्थ मन्त्रालय गएका थिए । यस्तै, बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीलगायतले पनि अर्थमन्त्रीलाई रिपोर्टिङ गरेका थिए ।

त्यतिमात्रै होइन, अर्थमन्त्रीको अनुपस्थितिमा उनका ज्वाइँ डा. रामशरण खरेलले पनि राष्ट्र बैंकको काममा हस्तक्षेप गर्न थालेका छन् । राष्ट्र बैंकमा उपनिर्देशकका रुपमा काम गरिरहेका खरेललाई अर्थमन्त्रीले सल्लाहकारका रुपमा अर्थ मन्त्रालय तानेका थिए । उनै खरेलले अहिले अर्थमन्त्री नहुँदा केन्द्रीय बैंकमात्रै होइन, बैंक तथा वित्तीय संस्थाका प्रमुखलाई समेत बोलाएर निर्देशन दिन थालेका छन् ।

बुधबारमात्रै उनले केही बैंकरलाई अर्थ मन्त्रालयमा बोलाएर वित्तीय क्षेत्रको रिपोर्टिङ गर्न लगाए । ‘सरकारले ल्याएको सहुलियत ब्याजसहितको ऋणको मार्केटिङ गर्न, यसबारे आफ्ना शाखाहरुलाई निर्देशन जारी गर्न र उत्पादनशील क्षेत्रमा लगानी बढाउन उहाँले भन्नुभएको छ,’ छलफलमा सहभागी एक बैंकरले भने ।

 

अर्थमन्त्रीले किन बढाए दबाब ?
नेपाल राष्ट्र बैंक (दोस्रो संशोधन) ऐन, २०७३ ले नेपाल राष्ट्र बैंकलाई एक स्वशासित र संगठित संस्था भनेर उल्लेख गरेको छ । ‘बैंक अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्था हुनेछ’ राष्ट्र बैंक ऐनमा भनिएको छ । यही ऐनमा फेरि ‘मुद्रा, बैंकिङ र वित्त सम्बन्धमा नेपाल सरकारले बैंकलाई निर्देशन दिन सक्ने’ व्यवस्था पनि उल्लेख छ । यही व्यवस्थामा टेकेर अर्थमन्त्री खतिवडाले राष्ट्र बैंकको अधिकारमाथि हस्तक्षेप गर्न थालेका हुन् ।

खतिवडा अर्थमन्त्री हुँदा वित्तीय क्षेत्रमा क्रियाशील धेरै व्यक्ति उत्साहित भएका थिए । केन्द्रीय बैंकको गभर्नरदेखि योजना आयोगको उपाध्यक्ष भइसकेका खतिवडा अर्थमन्त्री भएपछि राष्ट्र बैंकसँगै वित्तीय क्षेत्र थप सशक्त हुने विश्वास उनीहरुको थियो । तर, उनै खतिवडाले वित्तीय क्षेत्रका नियामकमाथि दबाब बढाउनुलाई धेरैले अस्वाभाविक रुपमा लिएका छन् । ‘उहाँ आफू विदेश जाँदा आफ्ना ज्वाइँमार्फत बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गराउन थाल्नुभएको छ,’ एक बैंकरले भने, ‘यसो हुँदा राष्ट्र बैंक कमजोर हुन्छ, अब कसको कुरा मान्ने, कसलाई के रिपोर्टिङ गर्ने भन्ने विषयमा हामी नै अलमलमा पर्छौँ ।’

कांग्रेस नेता रामशरण महत योजना आयोगको उपाध्यक्ष भएपछि अर्थमन्त्री बनेका थिए । उनले पनि योजना आयोगमा केही समय यस्तै हस्तक्षेप गरेका थिए । राष्ट्र बैंकको गभर्नर बनिसकेका खतिवडा अर्थमन्त्री बनेपछि उनले राष्ट्र बैंकलाई दुःख दिन थालेको बताउँछन्, पूर्व गभर्नर डा. दीपेन्द्रबहादुर क्षेत्री । ‘अहिले राष्ट्र बैंक र योजना आयोगले एउटै मर्म खेपिरहेका छन्,’ क्षेत्रीले भने, ‘अर्थ मन्त्रालयले राष्ट्र बैंकमाथि हस्तक्षेप बढाउँदा विचौलियाले बढी फाइदा लिन्छन्, सुधारिएको वित्तीय क्षेत्र फेरि बेथितितर्फ जान सक्छ ।’

 

रामशरण खरेलको गभर्नर बन्ने दाउ
अर्थ मन्त्रालयले खासगरी राष्ट्र बैंकलाई लक्षित गरी दबाब बढाउनुमा चुरो कुरो अर्कै छ । अर्थमन्त्रीका ज्वाइँ रामशरण खरेल राष्ट्र बैंकको गभर्नर पद ताकिरहेका विश्वसनीय स्रोतले बताएको छ । डा. नेपालको पदावधि करिब डेढ वर्ष बाँकी छँदै गभर्नर पदका लागि खरेलले लविङ सुरु गरिसकेका छन् ।

खरेललाई अर्थमन्त्रीको पनि बलियो साथ छ । उनी राष्ट्र बैंकको निर्देशकबाट अर्थमन्त्रालयमा काजमा तानिएका व्यक्ति हुन् । ‘उहाँले आफूलाई गभर्नरचाहिँ अहिलेदेखि नै सम्झन थालेजस्तो भान हुन्छ, ‘ब्रिफिङ गरेर फर्किएका एक बैंकरले भने, ‘उहाँको निर्देशन दिने शैली र हाउभाउ देख्दा मलाई यस्तो महसुस भयो ।’

अर्थमन्त्री खतिवडा प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिन्छन् । यही ‘साइनो’मा उनले आफ्ना ज्वाइँलाई गभर्नर बनाउने प्रयास गरिरहेका स्रोतको दाबी छ । आफू गभर्नर भएका बेलामा पनि खतिवडाले निर्देशक तहसम्मको अधिकारी पठाउने अभ्यासविपरीत कनिष्ठ उपनिर्देशक रहेका खरेललाई अन्तर्राष्ट्रिय मुद्रा कोषमा पठाएका थिए ।

अर्थमन्त्रीले यसअघि एकपटक गभर्नर नेपाललाई हटाउने प्रयास गरिसकेका छन् । तर, स्वशासित संस्थामा सरकार बन्नेबित्तिकै हस्तक्षेप बढाउँदा जनतामा नकारात्मक सन्देश जाने भनेर प्रधानमन्त्री ओलीले नै खतिवडालाई रोकेका थिए ।

अर्थमन्त्रीले सार्वजनिक कार्यक्रममै राष्ट्र बैंकको ब्याजदर कोरिडरको आलोचना गर्ने गरेका छन् । वित्तीय क्षेत्रमा क्रियाशील कतिपयले अर्थमन्त्रीको यो अभिव्यक्ति गभर्नर नेपाल लक्षित रहेको बुझेका छन् । पूर्वगभर्नर क्षेत्री पनि अर्थमन्त्रीले गभर्नरमाथि नै दबाब सिर्जना गरिरहेको बताउँछन् । ‘ब्यादजदर कोरिडोरले काम गरेन, खत्तम भयो भन्दै हिँड्नै पर्दैन नि,’ उनी भन्छन्, ‘यसको अर्थ सायद अहिलेका गभर्नरसा’पले पनि बुझिसक्नुभएको छ ।’ आफू गभर्नर हुँदा अर्थमन्त्रालयले कतिपय आग्रह र सुझावबाहेक कुनै पनि किसिमको निर्देशन दिने र हस्तक्षेप गर्ने काम नगरेको क्षेत्रीको अनुभव छ ।

प्रकाशित समय १९:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु