गृहपृष्ठ ट्याम्पु चालक महिला भन्छन्- ट्राफिकले सिधै बिहेको प्रस्ताव राख्छन्

ट्याम्पु चालक महिला भन्छन्- ट्राफिकले सिधै बिहेको प्रस्ताव राख्छन्

tampodriver-newskarobar

बुधबार सवारीसाधनको आवातजावतले अनामनगर, घट्टेकुलो सडकमा चाप थियो । यात्रुहरू गन्तव्य पुग्न सवारीसाधन कुर्दै थिए । उदयपुरकी ट्याम्पु चालक जानुका राई भने कराउँदै थिइन्, ‘सुन्धारा जाने भए आउनुस्, सिट खाली छ ।’

साघुँरो सडक भएका कारण जाम थियो । बानेश्वर कात्यानी चोकबाट सुनधारातिर यात्रु लिएर आउँदै थिइन उनी । भन्दै थिइन्, ‘आज त के सारो जाम भयो नि !’ चालक जानुकाले चलाएको ट्याम्पुका एक अधबैंसे यात्रु भने ठट्टा गर्दै थिए, ‘जाम नभए त यात्रुसँग बोल्ने फुर्सद कहाँ हुन्छ र !’

ती यात्रुमात्रै होइन, जानुकालाई बोल्न बाध्य पार्ने धेरै यात्रु भेटिन्छन् । ‘थरी–थरीका यात्रुसँग भेट हुन्छ,’ उनले भनिन्, ‘कतिपयले त फोन नम्बर मागेर दिक्क लगाउँछन् ।’ नम्बर मागेर दिक्क लगाउँदा भने भिजिटिङ कार्ड बनाएर बाँडौं जस्तो लाग्छ उनलाई । ‘बाटो नबिग्रिएको ठाउँमा त यात्रुसँग कुरा गर्दा रमाइलै लाग्छ,’ उनी भन्छिन्, ‘सडक खाल्डा भएको बेला भने एकोहोरो जिस्काउने यात्रुदेखि रिस उठ्छ ।’

उनीमात्रै होइन, कपनकी रमिला मगर पनि यात्रुको हैरानी खेप्न बाध्य छिन् । ‘कोही यात्रुले त जिस्काएर साह्रो हैरान बनाउँछन्,’ शंखमूल–जोरपाटी रुटमा ट्याम्पु चलाउने रमिलाले भनिन्, ‘मान्छेहरुले फोन नम्बर मागेर वाक्क बनाउँछन् ।’

श्रीमानले अर्कै बिहे गरेसँगै पारपाचुके गरेपछि जीविकोपार्जनका लागि ट्याम्पु चलाउन थालेकी उनलाई यात्रुले जिस्क्याएको कत्ति मन पर्दैन । १० वर्षदेखि उनी ट्याम्पु चलाउँदै आएकी छन् ।

सरकारले ट्याम्पु हटाउने योजना ल्याएको छ । उनलाई भने सरकारको यो योजनाले सताउन थालेको छ । ट्राफिकले पनि दुःख दिइरहन्छ । त्यो बेलामा पनि उनलाई चिन्ता लाग्छ ।

गौशाला चोकमा पनि अरू ठाउँमा जस्तै भीडले छिरिसक्नु थिएन । मुखमा मास्क लाएकी सिन्धुपाल्चोककी २२ वर्षीया शान्ति बिक सडकमा हिँडिरहेका यात्रुका पाइला नियाल्दै थिइन् ।

उनले पनि केटाहरूले मोबाइल नम्बर मागेर धुरुक्क रुवाएको बताइन् । ‘नम्बर पनि कति माग्छन् । नम्बर मागेर दुःख दिनेलाई सिधै ‘ब्ल्याक लिस्ट’मा राख्छु ।’ उनले भनिन् । केटाहरूले जस्तै ट्राफिकले पनि हैरान खेलाएको गुनासो प्रधानले गरिन् । ‘ट्राफिक प्रहरी पनि मौका पाउनेबित्तिकै नम्बर माग्छन् । नम्बर नदिए निहुँ खोज्छन् । किन यसो गरेको होला ? गाडी नै चलाउन छोडुँ जस्तो लाग्छ । जान्दा–जान्दै बिग्रेर हिँड्ने कुरा पनि भएन । तर सबै ट्राफिक र यात्रु नराम्रो हुँदैन,’ उनले भनिन् ।

झापाकी मन्दिरा राउतले कतिपय ट्राफिक प्रहरीले ट्याम्पु चालकलाई सिधै बिहेको प्रस्ताव नै राख्ने गरेको बताइन् । ‘ट्राफिकहरू सिधै ‘बिहे गर्ने हो’ भनेर सोध्छन् । ट्याम्पु चलाएको १२ वर्ष भयो । कति ट्राफिक प्रहरीले ट्याम्पु चालकलाई बिहे नै गरेका छन् । म यस्ती बूढीलाई त छोड्दैन भने भर्खरकीलार्ई ट्राफिक प्रहरीले के बाँकी राख्थ्यो र !’ उनले सुस्केरा हालिन्, ‘सोचेजस्तो सजिलो नहुने रहेछ । के गर्नु बसी–बसी खान पाए किन गरिन्थ्यो र दुःख ।’

विगतको जस्तो अवस्था भने अहिले छैन । सुरक्षाका दृष्टिले विगतभन्दा निकै सुरक्षित महसुस गर्छन् ट्याम्पो चालक महिला । ‘धेरै पर किन जाने, आजभन्दा चार वर्षअघि गुन्डाहरुको बिगबिगी थियो, कति पैसा नै दिँदैन थिए भने कतिले त उल्टै धम्क्याएर पैसा माग्थे,’ सिन्धुपाल्चोक घर भई हाल कपन–सुन्धारा ट्याम्पु चलाउँदै आएकी कान्छिमाया तामाङ भन्छिन्, ‘घाम डुब्न लाग्यो कि हामीलाई घर जानै हतारो हुन्थ्यो । अहिले भने त्यस्तो छैन ।’

आफू ५१ वर्ष भइसकेकाले फोन नम्बर माग्नेको संख्या कम रहेको उनी सुनाउँछिन् । ‘म बूढीको नम्बर लिएर के गर्नु ?’ उनले हाँस्दै भनिन्, ‘तरुनीहरुको नम्बर तरुणहरुले मागे पनि त्यो त सामान्य नै हो नि !’

प्रकाशित समय १६:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु