गृहपृष्ठ रत्नपार्क, बेरोजगार पार्क र रत्नपार्क (फोटो फिचरसहित)

रत्नपार्क, बेरोजगार पार्क र रत्नपार्क (फोटो फिचरसहित)

Ratnapark newskarobar (10)

रत्नपार्क– रानी रत्नराज्य लक्ष्मीदेवी शाहको नाममा स्थापना गरिएको राणाकालीन पार्क हो । स्थापनादेखि वर्षौंसम्म राजधानीको वक्षस्थलमा रहेको रत्नपार्क केही वर्षअघिसम्म ‘बेरोजगार पार्क’का रुपमा रह्यो । रत्नपार्क बेरोजगार युवायुवतीका लागि बदाम खाएर दिन बिताउने स्थल बन्यो ।

रत्नपार्कमा दिनभर एकातिर ‘मुकुन्दे’को निःशुल्क भाषण सुन्नेको लर्को लाग्थ्यो भने अर्कोतिर यौन बार्गेनिङ चल्थ्यो । अलपत्र पार्कको फोहोरले काठमाडौं महानगरपालिकामात्र नभएर राजधानी सहर काठमाडौंलाई गिज्याइरहेको हुन्थ्यो ।

तर, अहिले रत्नपार्कले ‘बेरोजगार पार्क’को पहिचान भुलाइदिएको छ । मानिसहरु रत्नपार्क अवलोकन भ्रमणका लागि जान थालेका छन् । रत्नपार्क पुग्नेहरु ‘गरे हुने र’छ त !’ भन्न थालेका छन् । काठमाडौं महानगरपालिकाले नै रत्नपार्कलाई यति व्यवस्थित गरेको हो भन्दा धेरैलाई पत्याउन गाह्रो पर्न सक्छ । किनकि, महानगरका गतिविधिप्रति आमनागरिक सन्तुष्ट छैनन् ।

Ratnapark newskarobar (10)

अहिले कस्तो छ, रत्नपार्क ?
महानगरपालिकाकै नेतृत्वमा रत्नपार्क व्यवस्थित र मर्यादित हुँदै गएको सत्य हो । अहिले पार्क प्रवेश गर्न शुल्क तिर्नुपर्छ । र, शुल्क तिर्न लायक बनेको छ रत्नपार्क । रत्नपार्क बोटबिरुवाले सजिएको छ, फूलहरुले रंगिएको छ अनि पोखरीहरुको गहनाले सिंगारिएको छ ।

उत्तरतर्फको उराठलाग्दो रानीपोखरी र दक्षिणतर्फको अस्थायी पुरानो बसपार्कको कोलाहल रत्नपार्कले भुलाइदिन्छ । त्यसैले पहिले निःशुल्क प्रवेश गर्नेहरु पनि अहिले २५ रुपैयाँ शुल्क तिर्न कुनै असहज मान्दैनन् । रत्नपार्क पारिवारिक भ्रमणस्थल बन्दै गएको छ ।

पार्कभित्र जान साधारण टिकट दर २५ रुपैयाँ छ भने विद्यार्थीले १५ रुपैयाँ तिर्नुपर्छ । एसिया क्षेत्रका विदेशी पर्यटक ५० रुपैयाँ र अन्य विदेशी नागरिक ७५ रुपैयाँ तिरेर रत्नपार्क अवलोकन भ्रमण गर्छन् । रत्नपार्क सबै वर्गको मानिस आउने, बस्ने र आराम गर्ने थलोको रुपमा विकास हुँदै गएको छ ।

रत्नपार्कमा अवलोकनबाहेक बच्चाहरुका लागि रमाइलो गर्ने सामग्री पनि छन् । निःशुल्क वाइफाइको व्यवस्था गरिएको छ । छाडा र अश्लील गतिविधिको क्रिडास्थल रत्नपार्कको परिचय नै फेरिएको छ । पार्कका रुखहरु सफा छन् । गमलामा फूल सजाइएको छ । चौर सफा बनाइएको छ । काठमाडौं महानगरपालिकाले यो पार्क व्यवस्थापन गर्न १६ जना कर्मचारी खटाएको छ । अर्थात्, कुनैबेलाको ‘बेरोजगार पार्क’मा यतिबेला १६ जनाले रोजगारी पाएका छन् ।

Ratnapark newskarobar (10)

आम्दानी स्रोत
पहिले रत्नपार्क पार्कमा सीमित थियो । तर अहिले १६ जनालाई रोजगारी दिने कार्यालयमा रुपान्तरण भएको छ । दैनिक नौ सयदेखि हजार जनाले पार्कको अवलोकन गर्ने पार्क व्यवस्थापन प्रमुख हरिशरण केसीले जानकारी दिए । ‘रत्नपार्कलाई थप व्यवस्थित र आकर्षक बनाउँदै लैजाने योजना छ,’ न्युज कारोबारसँग उनले भने ।

केसीका अनुसार गत आर्थिक वर्षमा रत्नपार्कले एक करोड २७ लाख रुपैयाँ आम्दानी गरेको थियो । रत्नपार्कमा २०७२ साल असार १५ गतेबाट सशुल्क प्रवेशको व्यवस्था मिलाइएको हो ।

(तस्बिर ः सुनिल प्रधान)

प्रकाशित समय १६:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु