गृहपृष्ठ सुन तस्करी काण्डमा ६२ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता
सुन तस्करी काण्डमा ६२ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता
काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्य हत्या आरोपमा पक्राउ परेका २८ सहित ६२ जनाविरुद्ध जिल्ला अदालत मोरङमा आज बुधबार उनिहरु विरुद्ध तीन प्रकारको मुद्दा दर्ता गराउँदै छ । प्रहरीले मिसिल सरकारी वलिकको कार्यालयमा बुझाएपछि अभियोग पत्र तयार मुद्धा दर्ताको तयारी भएको हो ।
पक्राउ पर्नेहरूलाई अपहरण, कर्तव्य ज्यान र संगठित अपराधमा मुद्दा चलाउने मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बीसीले जानकारी दिए । उनले मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’सहित फरार अन्य ३४ जना विरुद्ध पनि मुद्दा दर्ता गरिने जानकारी दिए ।
सरकारी वकिलको कार्यालयले फरार रहेका मुख्य अभियुक्त उप्रेतीलाई संगठित अपराध तथा अपहरण गरी कर्तव्य ज्यान मुद्दा दायर गर्नेछ भने अन्य पक्राउ परेका २८ जनालाई छुट्टाछुटै मुद्दा दर्ता गर्नेछ ।
पक्राउ परेका बहालवाला र पूर्व गरी ६ प्रहरी अधिकारी, तीन व्यापारी, सनम शाक्य हत्यामा जोडिएका ६ प्रतिवादी र विमानस्थलमा कार्यरत १३ प्रतिवादीविरुद्ध मुद्दा दर्ता गराउन लागिएको हो ।
प्रहरीले पूर्वडीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपीद्वय प्रजित केसी, सञ्जय राउत, सई बालकृष्ण सन्जेल र जवान विष्णुबहादुर खड्कालाई संगठित अपराध सम्वन्धी मुद्दा चलाउने तयारी गरेको छ ।
त्यसैगरी प्रहरी नियन्त्रणमा रहेका विमानस्थलका कर्मचारी लालबहादुर मगर, हेमन्त गौचन, वीरेन्द्रमान श्रेष्ठ, सम्बिर तोलाङ्गे, बालकृष्ण श्रेष्ठ, दोरम खत्री, कपिलराज पुरी, गोपाल श्रेष्ठ, पुण्य लामा, राजन थापा, राजु महर्जन, अमर डंगोल, तुलाराम थारू विरुद्ध पनि संगठित अपराधमा मुद्दा दर्ता गरिने तयारी भइरहेको छ ।
व्यापारीहरु महावीर गोल्यान राजेन्द्रमान शाक्य र राप्रपा नेता भुजुङ गुरुङलाई पनि संगठित अपराधमा मुद्दा दर्ता गरिने छ ।
मोहन कार्की, एकराज मल्ल, नरेन्द्र कार्की, लाक्पा शेर्पा, माधव भन्ने मोहन घिमिरेलाई सनम हत्याका प्रतिवादी बनाइएको छ । उनीहरु विरुद्ध कर्तव्य ज्यान र संगठित अपराध सम्वन्धी मुद्दा दर्ता गर्ने तयारी भएको छ ।
सुन गायब र हत्यामा प्रहरीकै मिलेमतो रहेको आशंकामा अनुसन्धानका लागि गृह मन्त्रालयले सहसचिव ईश्वर पौडेलको नेतृत्वको छानवीन समिति गठन गरेको थियो । संगठित सुन तस्करीमा यति धेरै बहालवाला प्रहरी अधिकारीलाई प्रतिवादी बनाइएको यो पहिलो घटना हो ।
प्रकाशित समय १०:४५ बजे

















