गृहपृष्ठ किन गर्दैछन् ओलीले मोदीको नक्कल ?

किन गर्दैछन् ओलीले मोदीको नक्कल ?

kp oli_newskarobar फाइल तस्बिर

दक्षिण एसियामा महत्वपूर्ण प्रभाव राख्ने भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री बनेपछि आफूलाई बलियो शासकको रुपमा प्रस्तुत गर्न सफल भएका छन् । रणनीतिक हिसाबमा विगतका शासकभन्दा फरक र चातुर्य मोदीले प्रधानमन्त्री बनेको पाँच वर्ष नबित्दै भारतको समृद्धिमा देखिने गरी योगदान गर्न सफल भएका छन् ।

सन् २०१४ मा प्रधानमन्त्री बनेलगत्तै उनले विभिन्न शक्तिशाली निकाय आफूमातहत तानेका थिए । सुरक्षा, प्रशासन र ठूला महत्वाकांक्षी योजना आफूमातहत ल्याएर विकास निर्माणलाई तीव्र बनाउन उनी सफल रहे । नेपालमा पनि सोही सिको गर्दै केपी शर्मा ओलीले प्रधानमन्त्री भएलगत्तै विभिन्न निकाय आफूमातहत तानेका छन् । त्यति मात्र होइन, विकासका काम तीव्र बनाउन वार रुम बनाउनेदेखि ठूला आयोजना आफैं मातहत राखेका छन् । जसलाई धेरैले भारतीय प्रधानमन्त्री मोदीको नक्कलका रुपमा व्याख्या गरेका छन् ।

आफैंमा शक्ति केन्द्रीकृत
ओलीले मोदीपथ पछ्याउँदै आफूलाई अझै बलियो बनाउँदै गइरहेका छन् । भारतमा मोदी सन् २०१४ मा प्रधानमन्त्री भएपछि विभिन्न निकाय आफूमातहत ल्याएर थप शक्तिशाली बनाएका थिए । गुप्तचर निकायलगायतलाई उनले आफूमातहत ल्याएका थिए । त्यही सिको गर्दै ओलीले प्रधानमन्त्री भएलगत्तै गृह, अर्थ र कानुन मन्त्रालयमातहतका केही महत्वपूर्ण कार्यालय प्रधानमन्त्रीको कार्यालयमातहतमा ल्याएका छन् ।

महान्यायाधिवक्ताको कार्यालय, ७७ जिल्लाकै न्यायाधिवक्ताको कार्यालय, सम्पत्ति शुद्धीकरण विभाग, राजस्व अनुसन्धान विभाग र राष्ट्रिय अनुसन्धान विभाग ओलीले आफ्नो मातहतमा ल्याएका छन् । महान्यायाधिवक्ता र न्यायाधिवक्ताको कार्यालय कानुन मन्त्रालयको मातहतमा थियो । सम्पत्ति शुद्धीकरण विभाग र राजस्व अनुसन्धान विभाग अर्थमन्त्रालय र राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालयमातहत थिए ।

ठूला मन्त्रालय आफूमातहत
भारतमा प्रधानमन्त्री मोदीले ठूला आयोजनको निर्माण तीव्र गतिमा सम्पन्न गर्न ती आयोजना आफूमातहत ल्याएका थिए । प्रधानमन्त्री भएलगत्तै उनले आफूमातहत ल्याएपछि त्यसको नतिजामा उल्लख्य सुधार आयो । र, मोदी प्रधानमन्त्री भएको साढे चार वर्षभित्रै धेरै महत्वाकांक्षी आयोजना निर्माण सम्पन्न पनि भएका छन् ।

त्यही पदचाप पछ्याउँदै नेपालमा ओलीले पनि ठूला आयोजनालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहत ल्याउने अन्तिम तयारी गरेका छन् । अब २५ अर्बभन्दा बढी लागतका आयोजना प्रधानमन्त्रीले सिधै हेर्नेछन् । ‘भारतमा पनि यस्तै अभ्यास रहेछ, नेपालमा पनि आयोजनको निर्माण छिटो सक्न, प्रधानमन्त्री र उहाँको कार्यालयलाई ठूला आयोजना रेखदेखकर्ताको रुपमा व्याख्या गरिएको छ,’ प्रधानमन्त्रीका विदेश मामिला विज्ञ डा. राजन भट्टराई भन्छन्, ‘नेपालमा पनि निर्माणाधीन परियोजनाको काम तीव्र बनाउन यसो गरेका हौं ।’

प्रधानमन्त्री कार्यालयले सिक्टा सिँचाइ आयोजना, बबई सिँचाइ आयोजना, रानीजमरा कुलरिया सिँचाइ आयोजना, माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, बूढीगण्डकी जलविद्युत् आयोजना, पश्चिम सेती जलविद्युत् आयोजना, भैरहवा क्षेत्रीय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलजस्ता आयोजना आफूमातहत ल्याउने तयारी गरिरहेको छ ।

प्रोपोगान्डामा माहिर
मोदीले सन् २०१० मा सरदार बल्लभभाइ पटेलको शालिक १८२ मिटर अग्लो बनाए । संंसारको सबैभन्दा अग्लो शालिक भनिएको पटेलको सो मूर्तिलाई ‘द स्ट्याचु अफ युनिटी’ अर्थात् ‘एकताको प्रतीक’ भनियो । मोदीले सन् २०१० मा शिलान्यास गरेको सो मूर्तिको अनावरण भाजपा अनुकूल रचिएको खर्चिलो राजनीतिक तमासा हो । ठूला तमासा रचेर जनता भुलाउन माहिर नेता हुन्, मोदी । पटेलको मूर्ति त्यही भुलभुलैया राजनीतिको पछिल्लो कडी हो, ओलीले पनि सामाजिक सुरक्षा कोषको प्रचार त्यसैगरी गरेका छन् ।

नेपालमा पनि ओलीले सत्तामा उक्लिएदेखि खर्चिला तामझामसहित तमासा रचिरहेको टिप्पणीकारहरुको तर्क छ । मोदीलाई पछ्याउँदै सानातिना कार्यक्रमलाई ठूलो तमासा बनाउने उपक्रमले सीमा नाघ्न थालेको टिप्पणीकार उज्ज्वल प्रसाईं बताउँछन् । गरिब किसानका हजारौं दुःखलाई नजरअन्दाज गर्दै गुजरात सरकारले फलामे मूर्तिमा २,३८९ करोड भारु लगानी गरेको थियो । अहिले प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा त्यहाँका गरिब किसान आन्दोलित छन् । त्यसैगरी नेपालमा सामाजिक सुरक्षा कोष स्थापना गर्नु र त्यसको चुस्त वित्तीय व्यवस्थापन गरेर मजदुरको हित गर्नु असल काम भए पनि भड्किलो प्रचार शैलीलाई जनताले धिक्कारेको प्रसाईंको तर्क छ । ‘सामान्य खबरलाई भड्किलो प्रोपोगान्डा बनाइयो । एउटा कार्यक्रमलाई युग बदल्ने अभियान भन्नु अनि सो कार्यक्रमबाट हजारौं मजदुरलाई मुक्त गर्ने मसिहा हुँ भनेर चोकमा आफ्नै फोटो टाँग्नु अशोभनीय भयो, भारतमा मोदीले गरेको प्रचार जस्तै भयो,’ उनले भने ।

प्रधानमन्त्री कार्यालयमा वार रुम
ठूला तथा राष्ट्रिय गौरवका आयोजनाको अनलाइन अनुगमन गर्दै काम छिटो गर्न निर्देशन दिनका लागि प्रधानमन्त्री कार्यालयले ‘वार रुम’ बनाउने प्रक्रिया सुरु गरेको छ । यो पनि भारतका प्रधानमन्त्री मोदीको नक्कल नै हो । प्रधामन्त्री ओलीले आयोजनाको अनुगमन र प्रदेशमा मुख्यमन्त्रीसँग भिडियो संवाद गर्नका लागि विशेष कक्ष (वार रुम) बनाउन लागेका हुन् । भारतमा मोदीले चार वर्षअघि वार रुम बनाएपछि त्यहाँका धेरै आयोजनाको काम तीव्र गतिमा सम्पन्न भएका छन् । नेपालमा पनि विकास निर्माणकै आयोजनालाई ध्यान दिएर यस्तो ‘वार रुम’ तयार गर्न लागिएको हो ।

सामान्यतः युद्धका बेला सेनाले प्रयोग गर्ने रुमलाई ‘वार रुम’ भन्ने गरिन्छ । युद्धस्तरमा काम अघि बढाउन प्रयोग गरिने भएकाले ‘वार रुम’को राजनीतिक प्रयोग भएको हो । प्रधानमन्त्री कार्यालयकै कुनै एक कोठामा जडान गरिएका यन्त्रमार्फत प्रधानमन्त्री ओलीले सिधै राष्ट्रिय गौरवका ११ आयोजनाको अनलाइन अनुगमन गर्नेछन् । साथै, ठूला लगानीका परियोजनाको कामसमेत अवलोकन गर्न सक्ने र ‘वार रुम’बाटै निर्देशन दिन सक्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए ।

प्रकाशित समय ०६:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु