गृहपृष्ठ यसरी चिनौ राम्रो हिरा

यसरी चिनौ राम्रो हिरा

काठमाडौं ।

गरगहना भन्नेबित्तिकै हाम्रो सोचमा सुनचाँदी आउँछ । धेरै महँगाको कुरा गर्दा पनि विभिन्न आकर्षक बुट्टा कुँदिएका सुनकै गहना याद आउँछ ।

पछिल्ला १० वर्षयता भने यो चलन फेरिदैं छ । बजारमा हिराका गहना नै फाट्टफुट्ट मात्र देखिदैं आएकोमा अचेल लस्करै पसल देखिन्छन् । ग्राहक पनि सुन किन्न झैं झुम्मिएका हुन्छन् ।

नेपालमा सन् २००७ बाट वैधानिक भएको हिरा कारोबार विस्तारै बढिरहेको सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले जानकारी दिए । ‘कारोबार छरपस्ट भएपछि हामीले नै वैधानिक बनाउन पहल गर्यौं,’ उनले भने, ‘वैधानिक भएपछि कारोबारमा विश्वसनीयता छ ।’

हिरा सुनभन्दा महँगो कति महँगो ?

सुनको मूल्य तौलअनुसार निश्चित तोकिने हुनाले थाहा पाउन कुनै अन्यौल हुँदैन । हिराको भने कठिन हुन्छ । हिरा हेरेर वा तौलेर मूल्य भन्न सकिँदैन । यसको मापन ‘क्यारेट’ हो । सुनकै जस्तो भने होइन । शाक्यका अनुसार सुनको ‘क्यारेट’ ले शुद्धता जनाउँछ भने हिराको क्यारेटले तौल । एक तोलामा ५८ क्यारेट हुन्छ ।

कुनै हिरा हेर्दा सानो कुनै ठूलो देखिए पनि सानोको तौल अर्थात क्यारेट बढी हुन सक्छ,’ शाक्यले भने, ‘क्यारेट धेरै भएको नै महँगो पर्छ ।’

हिरा मूल्य निर्धारणमा क्यारेट एउटा मापक भए पनि यसले मात्रै पुग्दैन । ‘यति क्यारेटको हिराको यति पैसा पर्छ भन्ने हुँदैन । अन्य कुरा पनि हेरिन्छन्,’ शाक्यले भने, ‘यी सूचक केही जटिल छन् ।’

उनका अनुसार चार वटा ‘सी’ को संयोजन अर्थात क्यारेट, कलर, क्ल्यारिटी र कटिङको आधार (तौल, रङ, पारदर्शिता र आकार) तथा फिल्टरिङ (हिराका कण छान्ने)को मात्राबाट मूल्य निर्धारण हुन्छ ।

नेपालमा चार ‘सी’ को मात्रा पत्ता लगाउने ल्याब छैन । ‘अन्य देशमा चार ‘सी’ मात्रा पत्ता लगाएर मात्र मूल्य तोकिन्छ,’ शाक्यले भने, ‘हामी कहाँ यो प्रविधि नभएकाले अनुभवका आधारमा काम गर्छौं । सरकारसँग एउटा ल्याब माग गरेका छौं, अहिलेसम्म सुनुवाई भएको छैन ।’

हिरा वास्तवमा पारदर्शी वस्तु हो । यद्यपी यसमा विभिन्न रङ देखिने शाक्यले बताए । ‘पारदर्शी भइकन पनि यसमा हलुका निलो, सेतो, कालो, पहेँलोजस्ता रङ देखिन्छ,’ शाक्यले भने, ‘पहेँलो राम्रो मानिँदैन। हलुका नीलो वा सेतो सबभन्दा राम्रो मानिन्छ ।’

निलो रङ भने करिब–करिब लोप नै भएको उनले बताए । ‘विश्वमै यो एकदमै दुर्लभ हुँदै गएको छ,’ उनले भने । समान क्यारेटको हिरामा रङको मात्राअनुसार मूल्य फरक पर्न सक्छ । शाक्यका अनुसार अन्तराष्ट्रिय बजारमा यी रङलाई ‘डि, ई, एफ, जी, एच, आई, र जे’ गरी ७ वटामा व्याख्या गरिन्छ । यसमा ‘डी’ सबैभन्दा गुणस्तरीय मानिन्छ र महँगो पर्छ ।

‘क्ल्यारिटी’ भनेको हिराको पारदर्शिता हो । आँखा अगाडि हिरा राखेर हेर्दा त्यसबाट बाहिर देखिने हुनुपर्छ । ‘यसरी हेर्दा जुन हिराबाट सफा दृश्य देखिन्छ त्यसलाई उच्च क्ल्यारिटी भनिन्छ । धमिलो देखियो भने कम हुन्छ । पारदर्शिता जति सफा छ, उति महँगो पर्छ,’ शाक्यले भने ।

मूल्य निर्धारणको अर्को आधार ‘कटिङ’ लाई अन्तराष्ट्रिय जगतमा चार प्रकारमा बाँडिएको छ– ‘गुड, भेरीगुड, आइडियल, एस्टोर आइडियल’ । यसमा सबभन्दा महँगो ‘एस्टोर आइडियल’ हो । सामान्य भाषामा बुझ्दा ५६ कोण (मुख) भएको कटिङ उच्चस्तरको मानिन्छ । बेल्जियमको कटिङ सबभन्दा राम्रो मानिने शाक्यले बताए ।

यसरी जुन हिरामा चार ‘सी’ को मात्रा अधिक छ, त्यो महँगो पर्छ । शाक्यका अनुसार यी चारै ‘सी’ अब्बल भएको एक क्यारेट हिराको मूल्य ५ लाख रुपैयाँभन्दा बढी पर्छ ।

हिरा खरिदबिक्रीका निम्ति ‘¥यापनेट’ अन्तराष्ट्रियस्तरको उपयुक्त बजार हो, जहाँ खरिद र बिक्री गर्नेहरू एकैठाउँमा जोडिन्छन् । यहाँ चार ‘सी’ तय गरेर खरिद र बिक्रीको चापअनुसार मूल्य निर्धारण हुन्छ । यही मूल्य संसारभर लागू हुने जानकारी शाक्यले दिए ।

नेपालमा भने हिरा व्यवसायमा ठगी हुने गरेको शाक्य बताउँछन् । यसको प्रमाण ‘आयात विवरण’ हो । ‘हिरा महँगो भइकन पनि वैधानिक आयात चाँदीभन्दा कम देखिन्छ,’ उनले भने ।

व्यापार निकासी तथा प्रवर्द्धन केन्द्रका अनुसार गत आर्थिक वर्षमा कुल १ करोड ६५ लाख रुपैयाँको मात्र हिरा आयात भएको छ । सो वर्षमा जम्मा ३७४ क्यारेट हिरा आयात भएको केन्द्रका तथ्याङ्क अधिकृत रविन्द्र दुवाडीले जानकारी दिए । यो सबै परिमाण भारतबाट आएको हो । तथ्यांकअनुसार सोही आर्थिक वर्षमा ८ अर्ब ६० करोडको चाँदी आयात भएको छ भने २३ अर्ब २३ करोडको सुन आयात भएको छ ।

हिरा निकै सानो परिमाणको भएकाले अवैधानिक बाटोबाट भित्रिने जानकार बताउँछन् । ‘एकदमै शुद्ध हिरा थोरै पनि काफी हुन्छ । त्यसैले लुकाइछिपाइ अवैधानिक रुपमा आयात हुन सक्छ’ हिरा व्यवसायमा समेत अनुभव संगालेका एक व्यवसायीले नाम नखुलाउने शर्तमा भने, ‘यसो भन्दैमा तस्करी नै छ भन्न सकिन्न । किनकि, अन्तराष्ट्रिय बजारभन्दा नेपालमा हिरा धेरै महँगो छैन ।’

बजारमा हिरा भन्दै ‘जिर्कोनियम’ बिक्री हुने गरेको शाक्यले बताए । ‘कतैकतै हिरा नभएर ‘जिर्कोनियम’ बेचिरहेका हुन्छन्, जुन काँच हो,’ शाक्यले भने, ‘त्यो सस्तो हुन्छ । धेरै उपभोक्ता हिरा भन्दै ठगिन सक्छन् । त्यसैले कसैले हिरा भनेर देखायो भने विश्वास गरिहाल्नु हुँदैन । जाँचबुझ नगरी किन्न पनि हुँदैन ।’

प्रकाशित समय १०:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु