गृहपृष्ठ मालपोत र नापीको मिलेमतोमा रोक्का भएको जग्गा बिक्री
मालपोत र नापीको मिलेमतोमा रोक्का भएको जग्गा बिक्री
वीरगन्ज । नापी कार्यालय पर्सा र मालपोत कार्यालय पर्साका जिम्मेवार कर्मचारीको मिलेमतोमा रोक्का भएको जग्गा किनबेच भएको छ । वीरगन्ज महानगरपालिले रोक्का गरिरहेकै अवस्थाको नगरको मुटुमा रहेको झण्डै साढे ३ करोड मूल्य पर्ने १ कठ्ठा जमिन सम्बन्धित पक्षले थाहै नपाई दोस्रो पक्ष हुँदै तेस्रोले पनि चौथोलाई बिक्री गरेको रहस्य बाहिर आएको छ ।
साविकको वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १३, हालको वीरगन्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरको तत्कालिन पशुपति आदर्शनगर निर्माण समितिले नगर विकासका लागि प्लटिङ्ग गरी सोही समयदेखि वीरगन्ज उपमहानगरपालिका हुँदै हालको महानगरपालिकाको स्वामित्वमा रहेको कि.नं ८१७ को १ कठ्ठा जग्गा स्वयम् महानगरपालिकाले समेत थाहा नपाई किर्ते प्रमाण पूर्जा निर्माण गरी बिक्री गर्दै अहिले नजमा वेगमको नाममा लगत खडा भएको मालपोत कार्यालय पर्साको तथ्याँकले देखाएको छ ।
नजमा तेस्रो पक्ष हुन् । उनले पनि गत चैत २० मा चौथो पक्षलाई बिक्री गर्न लागेको अवस्थामा वीरगन्ज महानगरपालिका पक्षले थाहा पाएको थियो । साविक उपमहानगरपालिका वडा नम्बर १३ हालको महानगरपालिका वडा नम्बर १० को नगर विकासको प्लटिङ्गको ८१७ कि. नम्बरको १ कठ्ठा जग्गा ०६१ साल पूर्व पनि नापी कार्यालय पर्सा र मालपोत कार्यालय पर्साकै कर्मचारीकै कारण नागरिकता प्रमाण पत्र नम्बर १६०३०५०४३ भएको साविक वीरगन्ज उमनपा ७ हालको वीरगंज मनपा ६ बस्ने नथुमल अग्रवालको नाति श्रीराम अग्रवालको छोरा अरुण कुमार अग्रवालका नाममा दर्ता कायम गरिएको देखिन्छ ।
सो जग्गा हाल साविक गराई दिने कर्मचारी मध्ये नापी कार्यालय पर्साका कर्मचारी मध्ये घनश्याम शुक्लाले वीरगन्ज महानगरपालिका वडा नम्बर १७ मा आफ्नो साथीको बुहारीका नाममा १० धुर जग्गा नै किनेर राखेको नापी कार्यालय पर्साका अर्का कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा राजधानीलाई बताए । नापी र मालपोतका कर्मचारी मात्र नभएर वीरगन्ज महानगरपालिकाका कर्मचारीलाई समेत मिलाउँदा अग्रवालले एक करोड जति खर्च गरेको स्रोतले बतायो ।
सोही पैसाका बलमा अग्रवालले आफ्नो नाममा पूनः दोस्रो पटक हाल साविक गराउन सफल सो जग्गा गत फागुन २९ मा नेपाली कांग्रेसका तत्कालिन नगर सभापति साबुद्दिन कि श्रीमति नजमाको नाममा श्रेस्ता कायम भएको फेला परेको मालपोत कार्यालय पर्साका प्रमुख गमबहादुर विकले राजधानीसँग भने ।
यो सब हुनुमा नापी कार्यालयले हाल सावि गर्दा जग्गा रोक्का छ कि छैन भनी नबुझी कार्वाही अगाडी बढाउदा यस्तो भएको तथा आफ्ना कार्यालयका कर्मचारीको मिलेमतोमा भएको मालपोत कार्यालयका प्रमुख विकले बताए । यस्तो नहोस भन्नको लागि वीरगन्ज महानगरपालिकाले गत १३ चैतमा महानगरपालिकाको नामका जग्गा निगरानी राख्न मालपोत कार्यालयलाई पत्र पठाएको थियो ।
प्रकाशित समय ०७:३० बजे

















