गृहपृष्ठ दार्चुलाका गाउँमा अझै पुगेन बैंक

दार्चुलाका गाउँमा अझै पुगेन बैंक

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा अझै पनि बैक पुग्न सकेको छैन । गाउ पालिकका २ का हरिशचन्द्रसिह कार्कीले गाउँमै बैंक खुल्छ भनेर सुनेको एक वर्ष भए पनि बैक नआएको बताए ।
स्थानीय सरकार गठन भएपछि सिंहदरबारको अधिकारसँगै गाउँमै बैंक पुग्छ भनिए पनि त्यो कार्य हुन सकेको छैन । ‘सिंहदरबारमा हुने सबै काम गाउँमै हुने भनेर भनिए पनि अहिलेसम्म सिंहदरबार गाउँ पुग्यो न गाउँमा बैंक नै पुग्यो ।’ एक स्थानीयले भने ।
स्थानीय तहको निर्वाचन भएको एकवर्ष पूरा हुनै लाग्दा पनि दार्चुलाका गाउँपालिकामा अझै पनि बैक पुगेका छैनन् । गाउँपालिकामा बैंकिङ सेवा सुरु नभएपछि ती गाउँपालिकाका बासिन्दा वित्तीय कारोबार गर्न सदरमुकाम आउन बाध्य छन् ।
दार्चुलाको अपिहिमाल, मार्मा, लेकम, व्यास, नौगाड र दुहँु गाउँपालिकामा अझै पनि बैंकिङ सेवा सुरु हुन सकेको छैन् । मुलुकको पुर्नसंरचनापछि स्थानीय तहमा बैंक तथा वित्तीय संस्था विस्तार गर्नुपर्ने सरकारको नीतिअनुसार बैंकको शाखा विस्तार हुनुपर्ने भएपनि अझै गाउँपालिकामा सेवा सुरु हुन नसकेको हो ।
सडक पहुँच, इन्टरनेट लगायत सुरक्षाको व्यवस्था हुन नसकेका कारण बैंकिङ सेवा सुरु हुन सकेका छैनन् । गाउँपालिकामा बैंकिङ सेवा सुरु नहुँदा दुई दिन लगाएर खलंगा चेक साट्न आउनुपर्ने बाध्यता रहेको अपिहिमाल गाउँपालिका ४ का स्थानीय योगेन्द्रसिह धामीले बताए ।
गाउँपालिकामा बैंक नपुग्दा योजनाका उपभोक्तासमितिलाई खलंगाबाटै रकम भुक्तानी गर्नुपरेको नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले बताए । बैंक गाउँमा आउँछौ भनेर भनेका छन्, धामीले भने, तर अहिलेसम्म बैंक स्थापना नहुँदा सेवाग्राही खलंगा बोलाउनुपरेको छ । नौगाड गाउँपालिकाका स्थानीय खलंगा वाणिज्य बैंकमा आएर चेक साट्न बाध्यछन् ।
स्थानिय तहमा हुने विकास निमार्णका योजनाहरु लगायतका सम्पुर्ण कारोबार गर्न सेवाग्राहीहरुले जिल्ला सदरमुकाम खलंगा धाउँनुपर्ने बाध्यताको अन्त्य नहुँदा समय र पैसाको हिसाबमा खर्चिलो हुने गरेको सर्वसाधारणको गुनासो छ ।
स्थानिय तहमा सरकारी कारोबार गर्ने बैंक नहुँदा कर्मचारी र जनप्रतिनिधिलाईसमेत सदरमुकाम खलंगामा आउनुपर्ने बाध्यता टरेको छैन् । स्थानीय तहभित्र काम गर्ने सबै क्षेत्रका कर्मचारी, शिक्षकको तलबसमेत गाउँपालिकामै गएको छ । स्थानिय तहमा बैकं नहँुदा तलब, भत्ता, सामाजिक सुरक्षाभत्ता लगायतका रकम निकासा गर्न पुनः खलंगामै आउनुपर्ने बाध्यता रहेको नौगाड गाउँपालिका अध्यक्ष धामी बताउँछन् ।
गाउँपालिकामा बैंक नहुदा जनतालाई सिंहदरबारको अधिकारको अनुभूति दिलाउन नसकिएको अपिहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताए । गाउँपालिकामा अहिले व्यापारको समय शुरु हुँदा पनि बैंक नहुँदा व्यापारीले जडिबुडी खरिदको लागि जोखिम मोलेरै रकम लिनु परेको अध्यक्ष मन्याल बताउँछन् ।
सरकारले बैंकलाई स्थानीय तहमा शाखा खोल्न निर्देशन दिएको भएपनि कार्यान्वयन भएको छैन् । बैंक नहुँदा स्थानीय तहको सबै आर्थिक कारोबार खलंगामा गर्नुपर्ने बाध्यता रहेको लेकम गाउँपालिका अध्यक्ष प्रमानन्द जोशीले बताए । प्रदेश नम्बर ७ का ५३ वटा स्थानीय तह अझै बैंकबिहीन अवस्थामा रहेका छन् । ८८ वटा स्थानीय तह रहेको यो प्रदेशमा जम्मा ३५ वटा स्थानीय तहमामात्रै बैंकहरु रहेको नेपाल राष्ट्र बैंक धनगढीले जनाएको छ । भौगोलिक कठिनाई, वित्तीय साक्षरताको अभाव लगायतका कारणले सबै स्थानीय तहमा बैंकहरु पुग्न नसकिरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित समय ०७:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु