गृहपृष्ठ तात्दैछ हिमाल, सुक्दैछन् हिमताल
तात्दैछ हिमाल, सुक्दैछन् हिमताल
सिन्धु र ब्रह्मपुत्र नदी युद्धको कारक बन्न सक्ने
नेपालसहित हिन्दु-कुश हिमाली पर्वत श्रृंखलामा बढ्दो तापक्रमले गर्दा हिमालमा हिउँ पग्लने क्रम बढेर गएको तथा हिमतालहरू धमाधम पग्लन थालेको एक अध्ययनले देखाएको छ । हिमाल पग्लने यही क्रम जारी रहे सन् २१०० सम्ममा हिमाली क्षेत्रका ३६ प्रतिशत हिमतालहरू गायब नै हुने इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड)ले जारी गरेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यी हिमतालहरू नेपाल, भारत, पाकिस्तान, चीन, भुटानसहितका मुलुकहरूमा बग्ने नदीहरूका लागि पानीको मुख्य स्रोत हो । हिमालय क्षेत्र आर्कटिक र एन्टार्कटिका क्षेत्रभन्दा बाहिर विश्वमै सर्वाधिक हिउँका स्रोत हो।
यदि विश्वव्यापी तापमान १.५ डिग्री सेल्सियसले बढे हिमाली क्षेत्रमा २.१ डिग्री सेल्सियसले तापक्रम बढ्ने र यसले हिमतालहरू पग्लने क्रम व्यापक बढाउने अध्ययनमा उल्लेख गरिएको छ । यदि विश्वव्यापी कार्बन उत्सर्जन अझ बढेमा हिमाली क्षेत्र ५ डिग्री सेल्सियससम्म तात्ने चेतावनी अध्ययनले दिएको छ ।
बाढी र सुक्खा
हिमालका हिमतालहरू करिब ७ करोड वर्ष पहिला बनेको अध्ययनमा उल्लेख गरिएको छ, यी हिमताल बदलिँदो तापक्रमप्रति निकै संवेदनशील छन् । सन् १९७० पछि हिमतालहरू संकुचित हुने र पग्लने क्रम बढेको हो । हिमालमा पहिलाभन्दा कम हिउँ पर्न थालेपछि हिमतालहरूमा त्यसको असर पनि देखिएको छ । हिमतालहरूको क्षेत्र खुम्चनेमात्र होइन, नयाँ नयाँ हिमताल बन्ने जोखिम बढेको छ । हिमतालको आकार बढेपछि यिनीहरू विस्फोट हुने जोखिम पनि बढाएको छ । केही वर्षअघि नेपालको च्छोरोल्पा हिमाल करिबकरिब विस्फोटका अवस्थामै पुगिसकेको थियो ।
स्याटेलाइट डेटाहरूको अध्ययनअनुसार सन् १९९० मा यस्ता हिमतालको संख्या ३ हजार ३५० रहेकोमा एक दशकमै बढेर ४ हजार २६० पुगेको छ ।
इसिमोडका अध्ययनअनुसार हिमालय क्षेत्रबाट पग्लेका हिमतालहरूले सन् २०५० देखि ६० सम्म नदीका जलसतह बढाउने छ भने २०६० को दशकदेखि नदीको बहाव कम हुँदै तल्लो तटीय क्षेत्रमा पानीको अभाव देखिन सुरू हुनेछ ।
अध्ययनकर्ताहरूले नदीके प्रवाह अथवा जलस्तरमा हुने कुनै पनि तल-माथिले यस क्षेत्रमा राजनीतिक संकट ल्याउन सक्ने चेतवानी दिएका छन् । भारत र पाकिस्तानबीच सिन्धु नदी र त्यसका सहायक नदीहरूको पानी बाँडफाँटमा देखिएको सम्झौतासम्बन्धी समस्यादेखि चीनले हालै ब्रह्मपुत्र नदीको धार नै परिवर्तन गराएको विषयलगायतका कारणले यस क्षेत्रमा युद्धकै संकट निम्तन सक्ने अध्ययनकर्ताहरूको भनाइ छ ।
६५० पृष्ठ लामो यो अध्ययनमा हिन्दु-कुश क्षेत्रका हिमाल, हिमताल र पर्वतीय संकटको मात्र तहगत विश्लेषण गरिएको छैन, यसमा पर्वतीय क्षेत्रदेखि तल्लो तटीय क्षेत्रमा उत्पन्न जलवायुजन्य संकट, वायु प्रदूषण र तिनका प्रतिकूल प्रभावको समेत व्याख्या गरिएको छ । करिब पाँच वर्ष लगाएर तयार पारिएको यो अनुसन्धान प्रतिवेदन तयारीमा ३५० भन्दा बढी शोधकर्ताहरू र विज्ञ, १८५ संगठन, २१० लेखक, २० सम्पादक र १२५ बाह्य समीक्षकले योगदान दिएको इसिमोडले जानकारी दिएको छ ।
प्रकाशित समय १७:३३ बजे

















