गृहपृष्ठ आइपीएलमा सन्दीपको प्रशंसा
आइपीएलमा सन्दीपको प्रशंसा
काठमाडौं । दुई महिनाअघि इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट लागि नेपालका युवा स्पिनर सन्दीप लामिछानेलाई दिल्ली डेयरडेभिल्सले पहिलो बोलीमै टिममा भित्राएको थियो । २० लाख भारुमा सोचेभन्दा सहज रुपमा आवद्ध भएका सन्दीपका लागि आइपिएलमा डेब्यू भने सहज हुन सकेन । किनकी सन्दीपले ११ खेलमा मौका पाएनन् । ११ मध्ये ३ खेलमा मात्रै जित हात पारेको दिल्ली समूह चरणबाटै बाहिरिसकेको छ । समूह चरणबाट बाहिरिएको दिल्लीले १२औं खेलमा भने सन्दीपलाई मौका दियो ।
रोयल च्यालेन्जर्स बैंग्लोर विरुद्धको खेलमा शनिबार डेब्यूको मौका पाउँदा सन्दीपसामू चुनौतीको पहाड थियो । किनकी सन्दीपले आइपिएलकै सबैभन्दा राम्रा ब्याट्सम्यान आवद्ध टिमविरुद्ध बलिङ गर्दै थिए । पहिले ब्याटिङ गरेको दिल्लीले बैंग्लोरसामू १ सय ८२ रनको लक्ष्य पेश गर्यो । जहाँ सन्दीपलाई दिल्लीका कप्तान श्रेयस ऐयरले पहिलो ओभरमा बलिङ दिएर जोखिम मोले ।
सन्दीपले पहिलो ओभरमै प्रभावशाली बलिङ गर्न सफल भए । उनले पहिलो ओभरमा केवल ६ रन खर्चिदा बैंग्लोरका पार्थिव र मोइन अली खुल्न सकेनन् । पहिलो ओभरमा ’भेरियसन’मा बल फ्याँकेकाले ‘टेलिभिजन कमेन्टेटर’ले सुरुवातमै सन्दीपको प्रशंसामा शब्द खर्चिन सुरु गरेका थिए । 
तेस्रो ओभरमा तेस्रो बलमा पार्थिवले सन्दीपलाई चौका प्रहार गरेका थिए । चौथो बलमा उनले विकेट लिएपछि सन्दीपले आइपिएलमा ‘ड्रिम डेब्यू’ गर्न सफल भए । उनले आइपिएलमा पहिलो विकेट लिने क्रममा पटेललाई ६ रनमा सिकार बनाए । उनले पटेललाई एलबिडब्लूको धरापमा पारेका थिए । ३३ वर्षीय पटेल भारतीय टिमका अनुभवी खेलाडी हुन् । उनले भारतीय टिमबाट २५ टेस्ट र २८ एकदिवसीय खेल खेलेका छन् ।
विकेट लिएकै ओभरमा सन्दीपले दक्षिण अफ्रिकाका एबी डी भिलियर्स र भारतीय कप्तान विराट कोलही विरुद्ध बलिङ गरे । ४ ओभर बलिङ गर्दा १ विकेट लिएर २५ रन दिए । १० बल डट फ्याँकेका उनले २ चौका र १ छ्क्का मात्र खाए । खेलमा दिल्लीका सबैभन्दा किफायती बलर बन्ने क्रममा उनको इकोनोमी ६.२५ थियो ।
उनले भिलियर्सलाई ७ बल बलिङ गर्दा १० रन दिएका थिए । सन्दीपविरुद्ध सावधानीपूर्वक खेलेका भिलियर्सले १ छक्का मात्र प्रहार गरेका थिए । त्यसो त भिलियर्सले खेलमा सर्वाधिक रन बनाउने क्रममा नटआउट ७२ रन जोडेका थिए । जसमा ४ चौका र ६ छक्का सामेल थिए ।

भारतीय कप्तान विराट कोलहीले पनि सन्दीपविरुद्ध खुलेर ब्याटिङ गर्न सकेनन् । उनले सन्दीपका ८ बल खेल्दा ९ रन मात्र जोडे । जसमा १ चौका मात्र सामेल थियो । आइपिएलकै महँगा खेलाडी कोहलीविरुद्ध २० लाख रुपैयाँका ‘सस्ता’ खेलाडी सन्दीपले पहिलो खेलमा गरेको प्रदर्शनको भिलियर्सले समेत प्रशंसा गरे । खेलको म्यान अफ दि म्याच बनेका भिलियर्सले पोस्ट म्याच प्रिजेन्टेसनमा सन्दीपको प्रशंसा गरे । उनले भने, ‘१७ वर्षिय लामिछानेको प्रदर्शन प्रशंसनिय छ ।’
विश्वकै लोकप्रिय तथा महंगो क्रिकेट लिग आइपिएलको डेब्यू खेलमा प्रभावशाली प्रदर्शनसँगै उनले विश्व क्रिकेटको ध्यान खिँचेका छन् । सँगसँगै उनले आफ्नो क्षमता पनि प्रमाणित गरेका छन् । अब उनीसामू बाँकी खेलमा पाएको मौकालाई सदुपयोग गर्ने चुनौती भने सधैं रहिरहनेछ ।
प्रकाशित समय ०८:५२ बजे

















