गृहपृष्ठ जनकपुरका २५ सय घरधुरी खानेपानीबाट वञ्चित

जनकपुरका २५ सय घरधुरी खानेपानीबाट वञ्चित

खानेपानी संस्थानको आफ्नै विलौना

प्रदेश २ को राजधानी जनकपुरधाममा खानेपानीको हाहाकार भएको छ । जनकपुरधामस्थित खानेपानी संस्थानले वितरण गर्दै आएको सेवाबाट आधाभन्दा बढी घरधुरी वञ्चित छन् । खानेपानी संस्थान कार्यालय जनकपुरको तथ्यांकअनुसार ५ हजारभन्दा बढी घरधुरीमा धारा जडान गरिएको छ तर २ हजार ५ सय घरधुरीमा भने वर्षौंदेखि पानी आउँदैन ।

जनकपुरधाम उपमहानगरपालिकाको १ देखि १४ वडामा खानेपानी संस्थानले पाइपलाइन जोडेर घर–घरमा पानी वितरण गदै आएको थियो । तर, जनकपुरमा एसियाली विकास बैंकको सहयोगमा एकीकृत सहरी विकास परियोजनाअन्तर्गत ढल निकास र सडक विस्तारको काम सुरु भएपछि पाइपलाइन बिग्रिएर हाल २ हजार घरधुरीमा मात्रै पानी वितरण भइरहेको खानेपानी संस्थान जनकपुरले जनाएको छ ।

उपमहानगरको वडा नम्बर ५ देखि १० वडासम्म साँझ र बिहान पानी वितरण गरिँदै आएको छ । तर, पटक–पटक सडक निर्माणका क्रममा पाइप चुडिँदा महिनौंसम्म धारामा पानी नआउने समस्यामा ती वडाका बासिन्दा छन् । जनकपुरधाम उपमहानगरपालिका–१०, देवीचौकमा सडक विस्तारका क्रममा पाइप चुडिँएपछि ९, १० र ११ वडामा १५ दिनयता खानेपानी संस्थानले धारामा पानी पठाएको छैन ।

वर्षौंदेखि सेवाग्राहीको धारामा पानी नआए पनि खानेपानी संस्थानले भने नियमित न्यूनतम महसुल तिराउने गरेको छ । जसका कारण जनकपुरबासी दोहोरो मर्कामा परेका छन् । ‘हामीले सडक विस्तारका क्रममा पाइप चुडिँदा घर–घरमा पानी पठाउन सकिरहेका छैनौ, वर्षौंदेखि पानी नपाए पनि सेवाग्राही महशुल तिर्न बाध्य छन्,’ संस्थानका जनकपुर प्रमुख विनोद मिश्रा भन्छन्, ‘पानी नपाउने सेवाग्राहीलाई महशुल छुट गर्न केन्द्रीय कार्यालयमा आग्रह गरेका छौं, तर तीन महिनादेखि तालाबन्दी भएका कारण आधिकारिक जवाफ पाउन नसक्दा अन्योलमा छौं ।’ केन्द्रीय कार्यालयबाट आधिकारिक जवाफ नआएसम्म न्यूनतम महशुल लिन आफूहरु बाध्य भएको उनले बताए ।

खानेपानी संस्थान र सडक ठेकेदारबीच समन्वय अभाव
जनकपुरधाममा ढल निकास र सडक विस्तारका क्रममा खानेपानी संस्थानले ओछ्याएको पाइपलाइन बिग्रिएमा वा टुटफुट भएमा सम्बन्धित निर्माणकर्ता कम्पनीले नै मर्मत गर्नुपर्ने सम्झौता छ । तर, सडक ठेकेदारले सम्झौताअनुसार पाइप मर्मत नगर्दा जनकपुरबासी समस्यामा छन् ।

जेसिभीले सडक खन्दा खानेपानीको पाइपलाइनमा टुटफुट भए पनि निर्माण कम्पनी रमण कन्स्ट्रक्सनले बनाइदिने गरेको छैन । देवीचौकमा ६ इन्चको पाइप चुँडिएर खानेपानी अवरुद्ध भएको १५ दिन बितिसक्दा पनि बनाउन चासो नदिँदा त्यहाँका बासिन्दा मर्कामा परेका छन् । खानेपानी संस्थान कार्यालय जनकपुरका प्रमुख मिश्रा सम्झौताअनुसार रमण कन्स्ट्रक्सनले नै खानेपानी पाइप बनाइदिनुपर्ने हुन्छ । ‘पाइप मर्मत गरिदिए कम्तीमा ती वडाका बासिन्दाले पानी पाउने थिए,’ उनले भने । सम्झौतामा उल्लेख भएअनुसार कन्स्ट्रक्सन कम्पनीले पाइपलाइन मर्मतको रकम जुटाइदिन पत्रकारलगायत सबै सरोकारवालाले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

निर्माण कम्पनीका ओभरसियर अशोक यादवले भने सामान अभावमा पाइप जोड्न नसकिएको बताए । ‘हामी एक सातादेखि पानीको पाइप जोड्न प्रयास गरिरहेका छौं,’ न्युज कारोबारसँग उनले भने, ‘तर सामान अभावमा सकिरहेका छैनौं ।’ खानेपानी संस्थानका स्टोरकिपर पुरनसिंह चौधरीलाई समान मगाएर पाइप मर्मत गरी बिल पेस गर्न आग्रह गर्दा पनि काम नगरेको उनले बताए । ‘म तत्कालै पेश्की लिएर खानेपानीलाई नगद नै दिएर सामान किन्न लगाउँछु,’ यादवले भने ।

janakpur-newskarobar
फाइल तस्बिर

दुवैतर्फबाट लापर्बाही
जनकपुरधाममा वर्षौंदेखि सडक खन्ने काम भइरहेको छ । निर्माण कम्पनीले सम्झौताअनुसार खानेपानीको पाइप निर्माण गरिदिनुपर्नेछ । तर, निर्माण कम्पनीसँग सामान्य टुटफुट र क्षति भइहाले आवश्यक सामान छैन । एकातिर समन्वय अभावमा काम हुन सकेको छैन भने अर्कातिर लापर्बाहीका कारण पनि समस्या थपिएको छैन ।

नगरभित्र खानेपानी संस्थानले ६ इन्च र ८ इन्चको पाइपबाट पानी वितरण गर्दै आएको छ । तर, ती पाइप चुँडिएका बेला जोड्नका लागि आवश्यक सामान्य सामान पनि स्टोर गरिएको छैन । त्यसमाथि निर्माण कम्पनीले सडक खन्ने क्रममा संवेदनशीलता नअपनाउँदा सयौं पाइप चुँडिएका छन् । जसको पीडा भने जनकपुरबासीले भोग्नुपरिरहेको छ ।

२५० फिट गहिरा ट्युब वेल सुके
जनकपुरमा विगतमा ६५ फिट गहिरो ट्युब वेलबाट पानी आउँथ्यो । तर, अहिले २५० फिट गहिरो ट्युब वेल पनि सुकेका छन् । मंगलवार जनकपुरधामस्थित खानेपानी संस्थानको कार्यालयमा भेटिएका जानकीचोकका रामचन्द्रप्रसाद साहले पानी नपाए पनि नियमित महशुल तिर्नुपरेको बताए । ‘१७ सय रुपैयाँ एड्भान्स राखे पनि एक वर्षदेखि धारामा खानेपानी आएको छैन,’ उनले भने, ‘विगतमा ६५ फिटको कलमा पनि पानी आउँथ्यो र भरथेग हुन्थ्यो, अहिले अढाइ सय फिटको कलमा पनि पानी नआउँदा बिजोग भएको छ ।’

खानेपानी संस्थानमा बुझ्दा सडक विस्तारका कारण पानी बन्द भएको जवाफ आउने गरेको उनले दुखेसो गरे । ‘सडक पिच गर्न ठिक्क पारिएको छ तर अहिलेसम्म उखालिएको पाइप गाडेको छैन, किन हो ?’ साहले प्रश्न गरे, ‘कसरी आउला धारामा पानी ?’ खानेपानी संस्थानले पानी सधैं नपठाउने हो भने ४०० फिटको कल गाड्नुपर्यो भनेर सोध्न आएको उनले बताए ।

खानेपानी संस्थानको आफ्नै विलौना
खानेपानी संस्थानका आफ्नै विलौना छन् । एकातिर पानी नपाउँदा स्थानीयले प्रेसर दिन्छन् भने अर्कातिर पानी वितरण गर्न नपाउँदा मासिक साढे ४ लाख हाराहारी घाटा भइरहेको छ । त्यस्तै, संस्थानले शाखा पाइपबाट पनि पानी पठाउनुपर्ने हुन्छ तर निर्माण कम्पनीले कहेी ठाउँमा मापदण्डविपरीत मनपरी पाइप जोडिदिएकाले प्रेसर नपुगेर सेवाग्राहीको धारामा पानी जान नसक्ने प्रमुख मिश्रा बताउँछन् । ‘निर्माण कम्पनीले प्राविधिकको सल्लाहबिनै पाइप जडान गरेकाले झन् समस्या हुने देखिएको छ,’ उनी भन्छन्, ‘जनकपुरधाम उपमहानगरपालिकाले कालोपत्रे भत्काउन दिँदैन, त्यस्ता अवस्थामा कसरी काम गर्न सकिन्छ ?’

आफूले धारा नबिग्रिएका घरमा नियमित पानी पठाउने गरेको, वर्षौंदेखि सेवाग्राहीका घर नपुगेका मिटर रिडरलाई घर–घरमा मिटर रिडिङ गर्न पठाएको र कार्यालयसमेत नियमित सञ्चालन गर्न लगाएको उनले बताए । ‘सञ्चालक समितिको अध्यक्ष चयनको विवादले केन्द्रीय कार्यालयमा मंसिरदेखि कर्मचारी युनियनले गरेको तालाबन्दीका कारण तीन महिनादेखि तलबसमेत खान पाएका छैनौं,’ उनले भने, ‘कार्यालयका धेरै कामकाज प्रभावित भएका छन् ।’ मिश्रा कात्तिकदेखि जनकपुर कार्यालयको हाकिम भएर आएका हुन् ।

प्रकाशित समय ११:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु