गृहपृष्ठ ओली सरकारका मन्त्री : कसैले आश जगाए, कसैले निराशा, कोही भने झण्डा हल्लाउनमै सीमित

ओली सरकारका मन्त्री : कसैले आश जगाए, कसैले निराशा, कोही भने झण्डा हल्लाउनमै सीमित

kpoli-newskarobar

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई कतिपयले ६ दशक यताकै सबैभन्दा शक्तिशाली सरकारका रूपमा अर्थ्याउने गर्छन् । वर्षदिन अघि गठन भएको ओली नेतृत्वको मन्त्रिपरिषद्मा २ उपप्रधानमन्त्री, १९ मन्त्री र ३ राज्यमन्त्री छन् । २५ सदस्यीय मन्त्रीमण्डल मैदानमा उत्रिए पनि अधिकांशले कुशल प्रदर्शन गर्न सकिरहेका छैनन् ।

तर, शक्तिशाली भनिएकै सरकारले अपेक्षा अनुरुप काम गर्न नसकेको भन्दै नागरिकस्तरमा असन्तुष्टि बढ्न थालेको छ । सीमित मन्त्रीले मात्र सम्झनलायक काम गरेका छन् । अधिकांश मन्त्रीले कामचलाउ र कर्मकाण्डी ढंगले काम गर्दै झण्डा मात्रै हल्लाएको भन्दै आलोचना भइरहेको छ ।

केही मन्त्रीको कामले सरकार लोकप्रिय भइरहेको छ भने केही मन्त्रीका कामले सरकारको अलोकप्रियता बढेको छ । काम नगर्ने मन्त्रीका कारण चुनावी वाचा मात्र होइन, वर्षौंदेखि नेपालीले चाहेको विकास र समृद्धिको चाहनालाई पूरा गर्न नसकेको भन्दै आलोचना भएको छ । २०५१ सालको ९ महिने नेकपा एमालेको अल्पमत सरकारसँग तुलना गर्दै कतिपयले अहिलेको सरकारलाई लाकेप्रिय वा अलोकप्रिय’ भन्दै आ आफ्नै ढंगले विश्लेषण गरेका छन् ।

 

गोकर्ण विष्ट

२५ सदस्यीय मन्त्रिपरिषद् मध्ये बितेको एक वर्षमा सरकारप्रति आशा जगाउनेमा श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टको मुख्य भूमिका देखिएको छ । सरकारको काम देखिने गरी गर्नेमा विष्ट अग्रस्थानमा देखिएका छन् । वैदेशिक रोजगारीमा जाने कामदारमाथि हुने ठगी नियन्त्रण जनजताले प्रत्यक्ष महसुश गरेका काम हो ।

श्रम स्वीकृतिमा हुने चलखेल धेरै हदसम्म नियन्त्रण, मलेसिया जाने कामदारको शुल्क फ्री हुने गरी मलेसियासँग श्रम सम्झौता उनको अर्को मुख्य काम हो । मलेसियामा कामदार जाने प्रक्रिया सुचारु गर्न भने अझै केही समय लाग्ने जनाइएको छ । अन्य केही मुलुकसँग श्रम सम्झौताको तयारी गरिरहेका छन् । सामाजिक सुरक्षा योजना, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम कार्यान्वयनमा ल्याएर उनले ओली मन्त्रीपरिषदको सबैभन्दा लोकप्रिय मनत्रीको छबी बनाउन सफल भएका छन् ।

 

वर्षामान पुन

ओली सरकारको बर्ष दिन पुग्नै लाग्दा नेपालको पानी जनताको लगानी कार्यक्रमको शुभारम्भ भएको छ । ऊर्जा जलस्रोत सिँचाइ मन्त्रालयको महत्वकांक्षी काम हो । यससँगै वर्षमान पुनले नेपाल भारत ऊर्जा बैंकिङसम्बन्धी सम्झौता गरेका कारण चर्चामा छन् ।

भारतसँग भएको सम्झौताका कारण नेपालले वर्षायाममा आफूलाई धेरै भएको बिजुली बेच्न पाउने छ भने सुख्खा मौसममा भारतबाट विद्युत् खरिद गर्न सक्नेछ ।

मन्त्री पुनले वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रेमिट्यान्सबाट एउटा जलविद्युत् आयोजना निर्माण गर्ने योजना अगाडि सारेका छन् । मन्त्री पुनकै पालामा भारतले आफ्नो लगानी बाहेकको पनि विद्युत् खरिद गर्नेगरी कानून संशोधन गरेको छ । तर नेपालको लगानीमै बन्ने भनिएको बूढीगण्डकी जलाशययुक्त आयोजना चीनको विवादित कम्पनी गेजुवालाई दिने निर्णयका कारण ओली सरकार आलोचित छ ।

 

मातृका यादव

यसअघि मन्त्री हुँदाको तुलनामा यसपटक केही आलोचना खेप्दै आएका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव बिचौलियाविरुद्ध खरो रूपमा उत्रिएका छन् । पेट्रोलियम डिलर्स एसोसिएसनले इन्धन ढुवानीमा सरकारलाई घुँडा टेकाउन खोजेपछि सेनाका ड्राइभर लिएर ट्याङ्कर कब्जा गरी तेल ल्याउन उनी अमलेखगञ्ज पुगेका थिए ।

त्यसअघि बजार अनुगमन नगरेको भन्दै आलोचना खेपेका उनले त्यसबाट चर्चामा आए । त्यससंग ऊखु किसानको पैसा नतिर्ने चिनी मिलका सञ्चालकलाई जेल हाल्ने चेतावनी दिए । जसबाट चिनीमिल सञ्चालकहरू किसानलाई मूल्य तिर्न राजी भए ।

 

गोकुल बाँस्कोटा

सरकारको प्रवक्ताको रूपमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा जति विवादित बनेका छन्, उत्तिनै काम गरिरहेका देखिएको छ । प्रधानमन्त्री र सरकारको बचाउको जिम्मेवारी पाएका बाँस्कोटा आफ्नो भूमिकामा प्रखर उत्रिएका छन् ।

सरकारको ९० प्रतिशत लगानी रहेको नेपाल टेलिकमलाई फोरजी सेवा सञ्चालन गर्न गरेको पहल र श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक कार्यन्वयन गरिछाड्ने अठोटलाई पनि सरहानीय रूपमा लिन सकिन्छ ।

 

प्रदीप ज्ञवाली

छिमेकी दुई देशसँग सन्तुलित सम्बन्ध कायम राख्न तथा अन्तर्राष्ट्रिय समुदायसँग सन्तुलन कायम राख्न परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले राम्रो भूमिका खेलेको भन्दै प्रशंसा हुने गरेको छ । ज्ञवालीको पालामै नेपाल अमेरिका परराष्ट्रमन्त्रीस्तरीय संयन्त्रको बैठक सम्पन्न भयो ।

तर पछिल्लो समय भेनेजुएला प्रकरणमा परराष्ट्र मन्त्रालयको विज्ञप्तिका कारण नेपाल र अमेरिकाबीच सम्बन्धमा चिसोपना आएको भन्दै आलोचना भएको छ ।

 

लालबाबु पण्डित

ओली सरकारमा राम्रो काम गरेका मन्त्रीको सूचीमा लालबाबु पण्डितको नाम पनि अग्रस्थानमा आउँछ । मन्त्रीमण्डल पुनर्गठनपछि सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका लालबाबुले ‘स्थायी सरकार’ भनिने कर्मचारी समायोजनको काम अन्तिम चरणमा पुर्याएका छन् ।

संघीयताको कार्यान्वयनको मुख्य जिम्मेवारी पाएको यो सरकारमा कर्मचारी समायोजनको जटिल विषय हो । त्यसलाई मन्त्री पण्डितले पार लगाए । करीब ८० हजार कर्मचारीले समायोजनाका लागि फारम भसिकेका छन् । फारम नभर्नेको पनि समायोजन हुने अवस्था बनेको छ ।

 

डा. युवराज खतिवडा

वर्षदिनअघि प्रधानमन्त्री ओलीले युवराज खतिवडालाई अर्थमन्त्रीको जिम्मेवारी दिँदा आम जनताले प्रशंसा गरेका थिए । नेपाल राष्ट्र बैंकको गभर्नर रहेको समयमा अर्थतन्त्रलाई सही दिशा दिएका र योजना आयोगको उपाध्यक्षको रूपमा कुशल जिम्मेवारी बहन गरेका कारण उनी अर्थमन्त्री बन्दा सबको वाहवाही पाएका थिए ।

तर, खतिवडाको बजेटले राजनीतिक लय लिन नसकपछि आलोचना भयो । वित्तीय सुशासनका कुरा गरे पनि खतिवडा अर्थमन्त्री बनेपछि अर्थतन्त्रका परिसूचकहरू ओरालो लागेका छन् । शेयर बजार निरन्तर ओरालो लागेको छ ।

 

रामबहादुर थापा ‘बादल’

सरकारको गृह प्रशासनको जिम्मेवारी पाएका रामबहादुर थापाले शुरूमा केही दिनमा आशालाग्दा काम गरेका थिए । संगठित रूपमा भइरहेको सुन तस्करीको जालो तोड्नका लागि र कामचोर ठेकेदारमाथी कारवाहीको प्रयास प्रशंसनिय थिए ।

३३ किलो सुन तस्करीमा संलग्नलाई कारबाही गर्न भन्दै समिति बनाए । तर, पछिल्लो समय उनी एकपछि अर्को विवादमा तानिँदै आएका छन् । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा संलग्न दोषी पत्ता लगाउन नसक्दा भने गृहमन्त्री थापाको सबैभन्दा बढी आलोचना भइरहेको छ । शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै सरकारको चौतर्फी आलोचना भइरहेको छ ।

 

ईश्वर पोखरेल

जनतासँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय नभए पनि रक्षा मन्त्रालयको नेतृत्व सम्हालेका ईश्वर पोखरेलले नेपाली सेनाले गरिरहेका कामको अनुगमन गरिरहेका छन् । सेनाले निर्माणको जिम्मा पाएको काठमाडौं तराई द्रूतमार्गको कामलाई गति दिन मन्त्री पोखरेलले काम गरिरहेका छन् । यसमा प्रशंसा पाएका छन् । सेनामा हुने बढुवामा चलखेलको आरोप विगतमा सुनिए पनि त्यो विवादमा पोखरेल परेका छैनन् ।

 

रवीन्द्र अधिकारी

युवा नेता रवीन्द्र अधिकारी मन्त्री बनेपछि लामो समयदेखि सञ्चालनमा नआएका केही विमानस्थलमा उडान सुरू गराएपछि चर्चामा आए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २२ घण्टा सञ्चालनमा ल्याएर एयर ट्राफिक जाम हटाउन सफल भएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा साना ट्वीनअटर र कार्गो विमानले ठूला बोइङ विमानलाई होल्ड गर्ने गरेको भन्दै काभ्रेमा विमानस्थल निर्माणका लागि उनले पहलकदमी लिए ।

तर पछिल्लो पटक वाइडबडी विमान खरिदमा अनियमितता प्रकरणमा मुछिएपछि उनी ओली सरकारका सबै भन्दा बढी विवादित मन्त्री बनेका छन् । बाइडबडी विमान खरिदमा भएको अनियमिततामा संसदीय समितिमा झुठा विवरण दिएकाले उनी झनै विवादित बनेका छन् ।

 

उपेन्द्र यादव

जनताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालयको जिम्मेवारी लिए पनि उपेन्द्र यादवले जनताको मन जित्ने काम गरेका छैनन् । उनी मन्त्रालयमा काम गर्ने, स्वास्थ मन्त्रालय मातहतका काम सुधार गर्न छाडेर विदेश शयर गर्ने मन्त्रीको उपमा पाएका छन् । डाक्टरहरूले अहिले पनि स्वास्थ्य मन्त्रालयमा चरणबद्ध आन्दोलन गरे पनि मन्त्री यादवले समाधान गर्न सेकेका छैनन् ।

 

रघुवीर महासेठ

राजधानी काठमाडौं उपत्यकालगायत अधिकांश ठाउँमा सडक, पुल लगायतका पूर्वाधार अलपत्र परेपछि ओली सरकारमा सबेभन्दा बढी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रविन्द्र अधिकारी आलोचति छन् । काठमाडौं उपत्यका लगायतका क्षेत्रमा निर्माणका काम अलपत्र बन्दा ठेकेदारमाथीको कारवाही रोकिदिएपछि उनीको कार्यशैलीमा प्रशन उठेको छ । गृहमन्त्री यातायात क्षेत्रको सिन्डिकेट अन्त्यका लागि लाग्दा पनि मन्त्री महासेठले भने सिन्डिकेटको पक्षपोषण गरपछि उनी अलोकप्रिय र आलोचति बनेका हुन् ।

 

बिना मगर

खानेपानीमन्त्री बिना मगरले जनताको मन जित्ने एउटै काम गर्न सकेकी छैनन् । दशैंअगाडि नै मेलाम्चीको पानी काठमाडौं ल्याउने आश्वासन दिए पनि सो आयोजना अन्यौलमा छ । ठेकेदार कम्पनी भाग्नुमा खानेपानी मन्त्री मगर र मन्त्रालयका सचिवको दोष रहेको भन्दै आलोचना समेत भइरहेको छ । सगरमाथाको पानी विश्वबजारमा बिक्री गरेर डलर कमाउने भनी लोकप्रिय भाषणको समेत आलोचना भएको छ ।

 

पद्मा अर्याल

पद्मा अर्यालले ओली सरकारमा केही राम्रो काम गरिरहेकी छिन् । उनले मालपोत कार्यालयमा सुधारको पहल गरेकी छिन् । मालपोतमा हुने बेथिति रोक्न उनले केही दिन पहिले सेवाग्राहीको भेषमा छड्के अनुगमन समेत गरेकी थिइन् । सरकारले बजेटमार्फत् जग्गाको कित्ताकाटमा रोक लगाएकोमा कित्ताकाट फुकुवा गर्ने निर्णयका कारण भने मन्त्री अर्याल आलोचनामा तानिएकी छिन् ।

 

मोहम्मद इस्तियाक राई

ओली सरकारमा देखिने काम नगरेका मन्त्रीको सूचीमा पहिलो नम्बरमा छन् संघीय समाजवादी फोरमको कोटामा शहरी विकास मन्त्रीको जिम्मेवारी सम्हालेका इस्तियाक राई । झण्डा हल्लाउने र भत्ता पचाउने बाहेक कुनै उल्लेख्य काम गर्न नसकेका भन्दै आलोचित छन् ।

काठमाडौंको बाहिरी चक्रपथ निर्माणको काम अगाडि बढ्न नसक्नुमा मन्त्री राईको कमजोरी मुख्य कारण भएको आलोचकहरूको टिप्पणी छ । बजेटमा रहेको स्मार्ट सिटी निर्माणको काम अगाडि बढाउने भने पनि त्यो काम अगाडि बढ्न सकेको छैन ।

प्रकाशित समय १७:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु