गृहपृष्ठ मेगा र टुरिजम डेभलपमेन्ट बैकबीच संयुक्त कारोवार शुरु

मेगा र टुरिजम डेभलपमेन्ट बैकबीच संयुक्त कारोवार शुरु

काठमाडौं । मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंकको एकीकृत कारोबार सुरु भएको छ । आइतबार काठमाडौंमा आयोजित मर्जर कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले मेगा बैंकको प्रगतिका लागि शुभकामना दिए ।
कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले टुरिजम बैंकका सबै ३६ वटा शाखा, एक्सटेन्सन काउन्टर, एटीएमलगायत सबै सञ्जाललाई मेगामा गाभेर आइतबारबाट संयुक्त कारोबार सुरु गरेको जानकारी दिए ।
मर्जरपछि मेगा परिवारमा उत्साह थपिएको अध्यक्ष शाहले बताए ।
उनका अनुसार, टुरिजम बैंकको १ कित्ता सेयर हुने सेयरधनीलाई गाभिएपछि मेगा बैंकको शून्य दशमलव ९५ कित्ता सेयर प्रदान गर्नेगरी सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) निर्धारण भएको छ । मेगा बैंकको यो दोस्रो मर्जर हो । यसअघि मेगासँग बुटवलमा केन्द्रीय कार्यालय रहेको पश्चिमाञ्चल डेभलपमेन्ट बैंक गाभिएको थियो ।
टुरिजमसँगको मर्जरपछि मेगा बैंक चुक्ता पुँजीका आधारमा देशकै तेस्रो ठूलो वाणिज्य बैंकको रूपमा स्थापित भएको बैंकका अध्यक्ष शाहले बताए । उनले भने, ‘यसले मेगा बैंकको नेटवर्कमा मात्र वृद्धि नभई व्यावसायिक अवसरमा पनि वृद्धि गरेको छ ।’
मेगा बैंकका शाखा कार्यालय अब ३२ वटा जिल्लाबाट विस्तारित भएर देशका ४९ वटा जिल्लामा पुगेको छ । हामी सातवटै प्रदेशमा मेगा बैंकको प्रदेश हेडक्वार्टर स्थापना गर्नेगरी अघि बढिरहेको बैंकले जनाएको छ । विज्ञहरूसँगको परामर्श र छलफलबाट पाँचवर्षे रणनीतिक योजना तय गरेको पनि बैंकले जनाएको छ ।
संयुक्त मर्जर समितिका संयोजक एवं मेगा बैंक सञ्चालक समितिका सदस्य गोपाल खनालले मर्जरपछि पुँजी, सामथ्र्य, नेटवर्क र व्यावसायिक प्रतिस्पर्धाका आधारमा मेगा बैंक देशकै उत्कृष्ट बैंक बन्ने बताए । मेगालाई अरू बैंकभन्दा पृथक् बैंक बनाउन आफूहरू लागिपरेको भन्दै उनले सातवटै प्रदेशमा बैंकको नेटवर्क विस्तार गर्न सफल भएको बताए ।
मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले टुरिजमका ३६ वटा शाखा थपिएपछि मेगा बैंकका शाखा कार्यालय ९१ वटा पुगेको बताइन् ।
सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार गर्ने नेपाल सरकारको नीतिबमोजिम यसै आर्थिक वर्षमा थप १७ वटा शाखा खोल्ने कार्य भइरहेकोमा यसै महिनामा आठवटा शाखा सञ्चालनमा आइसकेका छन् । बाँकी शाखा पनि यसै आर्थिक वर्षभित्र खोलिनेगरी कार्य अघि बढिरहेको बैंकले जनाएको छ ।
यसका साथै अन्य दुई स्थानमा पनि शाखा खोल्ने तयारीमा बैंक रहेको छ । यो सबै गरेर बैंकको शाखा सञ्जाल बृहत् भई १०२ कायम हुने पनि अध्यक्ष शाहले बताए । मेगामा अब बैंकिङमा प्रत्यक्ष संलग्न कर्मचारीको संख्या ८८६ पुगेको छ । बैंकको वित्तीय आवश्यकतालाई परिपूर्ति गर्न बैंकका हरेक कर्मचारी सदैव तत्पर रहने पनि बैंकका सीईओ खुञ्जेलीले बताइन् ।
मर्जरअघि मेगा बैंकको चुक्ता पुँजी ७ अर्ब ३७ करोड र टुरिजम डेभलपमेन्ट बैंकको २ अर्ब १ करोड रहेको थियो । तर, सेयर आदानप्रदान अनुपात समायोजनपछि थप भएको १ अर्ब ९१ करोडको चुक्ता पुँजीसहित मर्जरपछि मेगाको चुक्ता पुँजी ९ अर्ब २९ करोड कायम भएको छ । १० करोड रुपैयाँ पुँजीगत जगेडामा थप भएको छ ।
यसैगरी, मर्जरपछि बैंकको निक्षेप ५७ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ भने कर्जा ५५ अर्ब ७० करोड रुपैयाँ कायम भएको छ । अब मेगा बैंक वाणिज्य बैंकहरूमध्ये निक्षेपमा २४औं र कर्जामा २२औं स्थानमा रहेको छ ।
मेगाले देशभर ९१ वटा शाखा, ७४ वटा एटीएम सञ्जाल र १ हजार ८ सयभन्दा बढी मेगा रेमिट एजेन्ट छन् । मेगाका ५८ वटा शाखारहित केन्द्र सञ्चालनमा रहेका छन् भने थप ६१ वटा केन्द्र स्थापना गर्ने प्रक्रियामा रहेको छ । यसैगरी, मर्जरपछि एक्सटेन्सन काउन्टरको संख्या आठ पुगेको छ भने थप १२ वटा एक्सटेन्सन काउन्टर खोल्ने प्रक्रिया अघि बढाइएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित समय ०७:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु