गृहपृष्ठ विकासकेन्द्रित बजेट ल्याउन सांसदहरुको सुझाव

विकासकेन्द्रित बजेट ल्याउन सांसदहरुको सुझाव

काठमाडौं । सभासद्हरूले विकासकेन्द्रित बजेट ल्याउन अर्थमन्त्री डा. युवराज खतिवडालाई सुझाव दिएका छन् । आमजनताको विकास र चाहनाप्रतिको आशालाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने आवश्यकता उनीहरूले औंल्याएका हुन् ।
पूर्वबजेट छलफलका क्रममा प्रतिनिधिसभाको आइतबारको सभासद्हरूले मुलुकको विकास र परिवर्तनको प्रस्ट खाका तयार गर्न अर्थमन्त्रीको ध्यानाबर्षण गराए । आव २०७५÷७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफलमा धारणा राख्ने अधिकांश सांसदले व्यावहारिक रुपमा कार्यान्वयन हुनेगरी आर्थिक समृद्धिको कार्ययोजनालाई प्रस्तुत गर्न जोड दिए ।
छलफलकाक्रममा सत्तापक्षका सांसदले अर्थमन्त्री डा. खतिवडाले प्रस्तुत गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतालाई समर्थन जनाए । प्रतिपक्षी दलका सांसदले भने वर्तमान सरकारले दिशाहीन र नेपाली जनताले खासै नयाँपन पाउनेखालको प्रस्ताव नआएको गुनासो गरे ।
पूर्व उर्ज एवं गृहमन्त्री समेत रहेका माओवादी केन्द्रका जनार्दन शर्माले बजेट कार्यान्वयनमा ढिलासुस्ती गर्ने प्रवृत्तिको निरुत्साहन गर्नुपर्ने बताए । उनले नेताले भाषण मात्रै गर्ने, किसानले खेती नगर्ने, कर्मचारीले काम नगर्ने प्रवृत्तिविरुद्ध जागृति अभियान नै चलाउनुपर्ने खाँचो औंल्याए ।
पूर्वअर्थमन्त्रीसमेत रहेका एमालेका विष्णुप्रसाद पौडेलले नेपाली जनताको आत्मबल बढाउने र आर्थिक समृद्धिको आधार तयार पार्नेखालको बजेट ल्याउन सरकारलाई सुझाव दिए । उनले भने, ‘आर्थिक समृद्धिको नाराको व्यावहारिक कार्यान्वयन गर्नेखालको बजेट जरुरी छ । संसद्मा प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा प्रभावकारी र व्यावहारिक विषय समेटिएकाले त्यसलाई मूर्त रुप दिने बजेट जरुरी छ ।’ एमालेकै भानुभक्त ढकालले समाजवादी अर्थव्यवस्थाको आधार तयार पार्नेखालको बजेट ल्याउनुपर्ने बताए ।
सोहीक्रममा नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विगतका सरकारलाई आरोप लगाउने सरकारले हचुवाका भरमा बजेटका सिद्धान्त प्रस्तुत गरेको दोषारोपण गरे । कांग्रेसका प्रदीप गिरीले रोजगार र सामाजिक सुरक्षाको विषयलाई प्राथमिकतामा राखेर बजेट ल्याउन सुझाव दिए ।
छलपलमा भाग लिने अन्य सभाषद्हरूले समृद्धिका लागि आत्मबल तयार पार्ने तवरले बजेट आउनुपर्नेमा जोड दिँदै सांसदले वर्तमान सरकारप्रति जनताको असाधारण विश्वास रहेको विषयलाई सम्बोधन गर्नुपर्ने धारणा राखे । उनीहरूले पर्यटन, कृषि, ऊर्जा, जडीबुटी र जंगल जस्ता क्षेत्रका शिेष लगानीका कायृक्रम सहित वास्तविकतामा आधारित बजेट ल्याउन आवश्यक रहेको बताए ।

प्रकाशित समय ०८:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु