गृहपृष्ठ प्राकृतिक प्रकोपले ४ अर्बको क्षति
प्राकृतिक प्रकोपले ४ अर्बको क्षति
*११ महिनामा २१६ जनाको मृत्यु *बाढीपहिरोपछि आगलागी मुख्य प्रकोप *ज्यानमारा चट्याङ बच्नै गाह्रो
झन्डै एक वर्षभित्र देशभित्र विभिन्न किसिमका प्राकृतिक प्रकोपका कारण झन्डै ४ अर्ब रुपैयाँबराबरको क्षति भएको छ । गृहमन्त्रालयको विपत व्यवस्थापन पोर्टलका अनुसार वैशाख १ गतेदेखि फागुन १० गतेसम्म प्राकृतिक प्रकोपका कारण ३ अर्ब ८५ करोड ७७ लाख रुपैयाँबराबरको क्षति भएको छ ।
प्राकृतिक प्रकोपले एक वर्षको अवधिमा २१६ जनाको ज्यान गएको छ भने २ हजार ८२६ जना घाइते भएका छन् । यो वर्ष नेपालका लागि सदाबहार प्रकोपहरू बाढीपहिरोपछि आगलागी सबैभन्दा ठूलो प्रकोप साबित भएको छ ।
वैशाखदेखि फागुनसम्म २ हजार १७९ वटा आगलागीका घटनामा परी ७८ जनाको मृत्यु भएको छ भने ३१ सय परिवार प्रभावित भएका छन् । आगलागीका यी घटनाले ३ अर्ब ५७ करोड २७ लाख रुपैयाँबराबरको क्षति भएको गृहमन्त्रालयले उल्लेख गरेको छ । आगलागीका कारण तराई क्षेत्रका केही गाउँ नै उजाडिएका थिए ।
आगलागीकै कारण एकै पटक बागलुङको ढोरपाटन ३ का ४४ घर, कालिकोटाको पताला गाउँपालिकाका ३३ घर, मुगुको मुगुमकर्मारोङ गाउँपालिका १७ घर, झापाको मेचिनगर नगरपालिका– ६ का २२ घर र केचनकलन गाउँपालिकाका १० घर, बाराको मध्यमार्गी नगरपालिकामा १४ घर नष्ट भएका थिए ।
आगलागीकै कारण देशभरिमा १ हजार ३२९ घरहरू पूर्ण रूपमा र २४१ घर आंशिक रूपमा नष्ट भएका छन् भने ५४१ गाईंभैसीसहितका पशुको मृत्यु भएको छ ।
गर्मी मौसममा आगलागीका घटना बढ्ने गरेको भए पनि जाडो मौसममा आगो ताप्ने क्रममा लापरवाही हुँदा वा विद्युत् सर्ट भएर आगलागीको घटना बढ्ने गरेको छ ।
यो वर्ष मनसुन औसत सक्रिय भए पनि बाढी, पहिरो, अविरल वर्षा, असिनापानी र चट्याङले अर्को ठूलो नोक्सानी गरेको छ । यी प्रकोपहरूमा परी १९२ जनाको मृत्यु भएको गृहमन्त्रालयको तथ्यांकबाट देखिन्छ ।
खतरानाक चट्याङ
नेपालमा हुने प्राकृतिक विपद्मध्ये चट्याङका कारण भूकम्पपछि सबैभन्दा बढी मानिसको मृत्यु हुने गरेका कारण चट्याङको समस्या निकै खतरानाक रूपमा देखापरेको छ ।
सरकारले विपत व्यवस्थापन पोर्टलमा सूचना राख्ने गरेको सन् २०११ देखि हालसम्म चट्याङका कारण ८११ जनाको मृत्यु भइसकेको छ भने करिब २ हजार जना घाइते भएका छन् । यो वर्षमात्र २३६ वटा चट्याङ खसेको घटनामा परेर ५८ जनाको मृत्यु भएको छ भने ३०६ जना घाइते भएका छन् । नेपालमा चैतदेखि जेठसम्मको समय अर्थात् वर्षायामपूर्वको याम ‘प्रि–मनसुन’मा चट्याङ धेरै पर्ने गरेको मौसमविद्हरू बताउँछन् । उनीहरूका अनुसार चैत महिना लागेसँगै चट्याङको जोखिम बढ्दै जान्छ भने असार–साउनसम्म यो जोखिम कायमै रहन्छ ।
गृहमन्त्रालयको विवरणअनुसार पहाडी तथा भित्रीमधेशका जिल्लाहरूमा चट्याङबाट धेरैजसो क्षति हुने गरेको पाइएको छ ।
प्रकाशित समय १४:३८ बजे

















