गृहपृष्ठ अघि बढ्यो कोशी करिडोरको काम

अघि बढ्यो कोशी करिडोरको काम

काठमाडौं– पूर्वीपहाडलाई तराई र काठमाडौसँग जोड्ने दु्रत सडक मार्ग कोशी करिडोरको काम अघि बढेको छ । पुष्पलाल मध्यपहाडी लोकमार्ग छोट्याउने गरी अघि सारिएको योजनाको सातवटा प्याकेजकै ठेक्का स्वीकृत भएको हो ।
सुनसरीको चतारादेखि पाँचथरको गणेश चोकसम्म दुई लेनको सडक बनाउने कोशी करिडोर सडक विस्तार योजना–२ को पाँच प्याकेजको काम सुरु हुन लागेको छ भने दुई प्याकेज ठेक्का सम्झौता हुने चरणमा छन् । पाँच प्याकेजको ठेक्का सम्झौता भई मोबिलाइजेसन भइसकेको आयोजनाका इन्जिनियर नारायण पौडेलले जानकारी दिए । उनका अनुसार दुई प्याकेजको ठेक्का स्वीकृत भइसकेकाले चाँडै सम्झौता हुनेछ । ६ अर्ब १३ करोड रुपैयाँको ठेक्का स्वीकृत भएको उहाँको भनाइ छ ।
चार अर्ब ९२ करोड रुपैयाँमा ठेक्का लागेको पाँच प्याकेजमा काम हुन थालेको इन्जिनियर पौडेलले जानकारी दिए । हालै दुई प्याकेजका लागि एक अर्ब ४४ करोड रुपैयाँको ठेक्का स्वीकृत भएको छ । सम्झौता भएको ३० महिनाभित्र ठेकेदार कम्पनीले काम सक्नुपर्नेछ । प्रस्तावित तमोर जलाशययुक्त आयोजना बन्ने भयो भने पनि नडुब्ने गरी उचाइमा सडक बनाइनेछ ।
पाँचथरको गणेश चोकमा मध्यपहाडी लोकमार्गलाई यो सडकले भेट्नेछ । यो सडकलाई पूर्वीपहाडका पाँचथर, ताप्लेजुङ, तेह्रथुम र धनकुटाका विभिन्न गाउँबाट तराई र राजधानी जान छिटो बाटोको रुपमा लिइन्छ । सरकारले यो सडकलाई काठमाडौंसम्म जोड्ने वैकल्पिक राजमार्गका रुपमा विकास गर्न खोजेको जनाएको छ ।

प्रकाशित समय १९:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु