गृहपृष्ठ राति यस्तो देखिन्छ नेपालकै पहिलो ‘नेटवर्क आर्क पुल’ (फोटोफिचर)

राति यस्तो देखिन्छ नेपालकै पहिलो ‘नेटवर्क आर्क पुल’ (फोटोफिचर)

नेपालकै पहिलो नेटवर्क आर्क पुल काठमाडौंको बिजुलीबजारस्थित धोबीखोलामा निर्माण गरिएको पुल रातिको समयमा झिलीमिली देखिन्छ । नेपालमा पहिलोपटक ‘नेटवर्क आर्क ब्रिज’ प्रविधिबाट निर्माण भएको पुल गत वर्ष नै सञ्चालनमा आएको हो ।

पछिल्लो समय विश्वभर रुचाउन थालिएको यो प्रविधिको पुल बलियो मात्रै नभएर सौन्दर्य प्रवर्द्धनको पक्षले पनि उत्कृष्ट मानिन्छ । नेपालमा पहिलोपटक भित्रिएको यो प्रविधि शहरी क्षेत्रका लागि उपयुक्त रहेको बताइन्छ । अरू पुलमा भार बहन पुलको तल्लो भागले गर्ने भए पनि यसमा भार माथिल्लो भागमा पर्छ । अरू सामान्य प्रविधि (आरसीसी) भन्दा पुल हेर्दा सुन्दर देखिने र लामो आयु हुने प्राविधिकहरु बताउँछन् । उनीहरुका अनुसार अरू पुलको औसत आयु ५० वर्ष भएकामा यसको एक सय वर्ष हुन्छ ।

माइतीघरदेखि भक्तपुर सडक विस्तारको काम केही वर्ष पहिले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहयोगमा सम्पन्न भएको थियो । जाइकाले पूरै सडक ६ लेनको निर्माण गरे पनि धोबीखोलामा पुल भने बनेको थिएन । पछि २०७१ पुसदेखि चार वर्ष लगाएर जेई कन्स्ट्रक्सनले बनाएको हो । सो पुलको चौडाइ १२ मिटर र लम्बाइ ५१.४५ मिटर छ ।

के हो नेटवर्क आर्क ब्रीज ?

‘नेटवर्क आर्क’ अहिले नेपालमा बनिरहेका पुलहरु भन्दा बिल्कुलै फरक प्रवधिको हुन्छ । यो आर्कमा नै आधारित हुने भएकाले देख्दा पनि निकै फरक खालको हुन्छ । यसलाई निर्माण गर्दा शुरुमा खोला र खोल्साको वारिपारि सडकको चौडाइ बराबरकै ‘अब्युटमेन्ट’ अर्थात् बलियो जगसहितको संचरना निर्माण गरिन्छ । यो ‘अब्युटमेन्ट’ पुलको भार थेग्ने प्रमुख संरचना हो । आर्क ब्रिजमा अहिले नेपालमा बनिरहेका पुलमा जस्तो बीच-बीचमा पिल्लर प्रयोग गरिँदैन । पिल्लर नहाले पनि ‘अब्युटमेन्ट’को आधारमा पुलको वारपार आर्क फिक्सीङ गरिन्छ । र, माथिल्लो भागमा बाङ्गो आकारका आर्क राखिन्छ ।

आर्कलाई ‘अब्युटमेन्ट’मा जोडिन्छ । आर्कमार्फत नै पुलको भारलाई बोक्ने संरचना फिक्स गरिन्छ । पुलमा गाडी गुड्दा त्यसको भार आर्क हुँदै ‘अब्युटमेन्ट’मा पर्छ । पुलको सम्पूर्ण भारलाई आर्कले नै थेग्छ । त्यसैका कारण पिल्लर नभएपनि यो प्रविधिको पुल बलियो मानिन्छ । यो पुल बनाउन अहिले प्रयोगमा रहेको प्रविधि भन्दा सजिलो छ किनभने खोलाको बीचमा पिल्लर ठड्याउनु पर्दैन, जसका कारण कम खर्चिलो पनि छ । पुलको माथिल्लो भागमा अर्धवृत्ताकार संरचना निर्माण गरिएको छ । बीचमा बलिया तार जडान भएको छ ।

तस्बिर : भूमिराज पिठातोली

प्रकाशित समय १०:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु